२९ श्रावण , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित भोताङ शिरमा रहेको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चिनिएको समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाईंमा रहेको पाँचपोखरीमा यो वर्षको मेला सुरु भइसकेको छ । हरेक वर्ष एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म लाग्ने मेलाको चहलपहल बढिसकेको छ । एकादशीका दिन पाँचपोखरी पुग्नेहरुले आफ्नो यात्रा सकेर फर्किने क्रममा छन् भने जनै पूर्णिमा लक्षित गरेर जानेहरु पाँचपोखरी पुग्न हतारिदै छन् ।
पाँचपोखरी मेला भर्नका लागि देशका विभिन्न स्थानबाट पर्यटकहरु आउँछन् । काठमाण्डौंबाट मेलम्ची भई थाङपालधाप, भोताङबाट जाने एउटा रुट छ । बर्खाको समयमा थाङपालधापसम्म बसको यात्रा गर्न सकिन्छ । त्यसपछि सुरु हुन्छ पैदल पद मार्ग । पाँचपोखरी रहेकै साविकको गाविस भोताङको बजारसम्म बाटो सहज छ । त्यहाँसम्म पुग्दा होटलहरु पाइन्छ । प्रायः पर्यटकहरु यहाँनेर पहिलो बास बस्छन् । दोस्रो दिनदेखि सुरु हुने ठाडो उकालो र जंगलै जंगलको यात्रा केही कष्ट्रकर रहे पनि त्यहाँको सौन्दर्यले दुःख बिर्साउँछ । यो रुटमा आमा याङग्री, ड्रागन गुफा, हवेली, नागी डाँडा, रैथानेश्वरी हेर्न लायक स्थान हुन् । भोताङ बजारबाट उकालो लागेपछि बीचमा पाइने चौंरी गोठबाहेक बासको विकल्प अरु छैन ।
प्रायः तीर्थालुहरु समुद्र सतहबाट तीन हजार दुई सयको उचाईमा रहेको अवस्थित टपखर्कमा बास बस्ने गर्छन् । यात्राको तेस्रो दिन पाँचपोखरी पुग्न सकिन्छ ।जिल्लाकै सबैभन्दा ठूला मेला लाग्ने पाँचपोखरीमा तीर्थालु बढाउन र मेलालाई सभ्य रुपले सम्पन्न गर्न स्थानीयसमेत लागिपरेका छन् । यात्रा सहज गराउन यो रुटमा अहिले स्थानीयहरु खटेका छन् । सामान्य व्यक्तिलाई उचाईंमा पुगेपछि लेक लाग्ने हुँदा तीर्थालुको उद्धार तथा प्राथमिक उपचार र सहयोगका लागि स्थानीय खटिएका हुन् । पदयात्रीहरुलाई यात्राका क्रममा कुनै अफ्ट्यारो परेमा स्थानीयले सहयोग गर्नेछन् ।
मेलम्चीपछि पाँचपोखरी पुग्ने अर्काे रुट सदरमुकाम चौताराबाट हो । चौताराबाट रमणीय स्थान ओखरेनी, खस्रेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हँुदै जान सकिन्छ । दुई हजार २ सय मिटरको उचाईं रहेको खस्रे, मैदानपछि घरहरु भेटिदैंन । यो रुटबाट जाने तीर्थालुहरु प्रायः च्योच्यो डाँडामा बास बस्न पुग्छन् । च्योच्यो डाँडा जुगल हिमाल सामुन्ने पर्छ ।
मेलम्ची र चौताराबाट अहिले आकर्षक झाँकीसहित झाँक्रीहरु जाने क्रम छ । पाँचपोखरी मेलाको प्रमुख आकर्षक मध्ये झाँक्री नृत्य पनि हो । ‘पाँचपोखरीमा मागेको कुरा पुग्छ, त्यसैले हरेक वर्ष झाँकीसहित जानेगरेका छौं,’ पाँचपोखरी जाँदै गरेका एक झाँक्रीले भने, ‘पूजा गर्दै, नृत्य गर्दै कठिन बाटोहरुलाई सहज हुने गरी पाँचपोखरी पुगेर पूजा गर्ने गरेको सुनाए ।
झाँक्रीहरुलाई नाच्दै आफ्नो सस्कृति जोगाउनका लागि झाँकी प्रस्तुत गर्दै पाँचपोखरी पुग्न सातादिन सम्म लाग्छ । पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँचवटा पोखरी परिक्रमा गरेमा पापमोचन हुनुका साथै मनले चिताएको पूरा हुने जनविश्वास छ ।
पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाहरूले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकप्रिय हुन पुगेको रहेछ ।
अहिले मेला नजिकिएको छ ।
प्रतिक्रिया दिनुहोस्