१३ श्रावण – चौतारा साँगाचोक गढी नगरपालिकाले सहिद स्मृति आवासीय बालग्राम स्थापना गरी आइतबार उद्घाटन गरिएको छ । नगरपालिकाकोे वडा नं ७ स्थित मेलचौर दरबार डाँडामा रहेको बालग्राम उपमेयर सिता थापाले उद्घाटन गरेकी हुन् । सो बालग्राममा विपन्न बालबालिकाहरुलाई निशुल्क खाना बस्न र विद्यालयमा अध्ययन गर्ने ब्यवस्था छ ।
उपमेयर थापाले भौतिक पूर्वाधार विकासलाई भन्दा यस्ता कुरालाई प्राथामिकता दिएको बताउदै सहिदहरुको सम्झनामा सहिद स्मृति आवासीय बालग्राम नाम राखिएको बताइन् । उनले भनिन् यो नगरपालिकाको सपना हो, जसको कोहि पनि केहि पनि छैन उनिहरुको सहारा हौ हामी । बालग्रामको भवन निमार्णका लागि प्रदेश सरकारले ७० लाख रुपैयाँ अनुदान दिइएको समेत जानकारी दिइन् ।
नगरपालिकाले आमा बुबा वा दुवै नभएका, आर्थिक अवस्था कमजोर भई पढ्न नपाएका , लोपोन्मुख, सीमान्तकृत समुदायका , शहीद तथा बेपत्ता परिवारका, विद्यालय मर्जका कारण विस्थापित वा अन्य लक्षित वर्गका बालबालिकालाई कक्षा १२ सम्म निशुल्क शिक्षा सहित खाना बस्न आवासीय (होस्टल) बालग्रामको अवधारणा ल्याएको हो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष राम प्रसाद गौतमले मापदण्ड अनुसार २४ जना बालबालिका छनौट भएको र १७ जना सम्पर्कमा आएका बताए । उनिहरुको हेरचाहका लागि बालग्राममा ३ जना कर्मचारी छन्् । उनले यहाँ बसेर अध्ययन गर्ने बालबालिकाले उत्कृष्ट नतिजा ल्याउने विश्वास ब्यक्त गरे ।
बालग्राममा रहेका बालबालिकाहरुलाईे श्री ज्ञान मन्दिर मावि मेलचौरमा औपचारिक शिक्षा दिने विद्यालयका प्रधानध्यापक पुण्य गजुरेलले बताए । उनिहरुलाई आईबारदेखि नै बालग्राममा राखेर विद्यालय भर्ना गराइएको छ ।
नगरपालिकाले बालबालिकाहरुलाई शैक्षिक सामग्री समेत वितरण गरेको छ । साथै चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले उनिहरुको स्वास्थ्य परिक्षण गरेका थिए । बालबालिकाको क्षेत्रमा तारिफ योग्य काम नगरपालिकाले गरेको अभिभावकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्