२०८१ श्रावण १२
                           

वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

चैत्र २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको दाबी गर्दै पूर्व मन्त्री र पूर्व सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।अख्तियारले पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले वाइड बडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाही तत्कालीन पर्यटन मन्त्री रहेका बेला वाइड बडी जहाज किन्ने निर्णय भएको थियो । अख्तियारले पूर्वसचिव शिशिर ढुङ्गाना, वर्तमान सहसचिव बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई प्रतिवादी बनाएको छ ।

यस्तै, निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठविरुद्ध पनि निगमका निर्देशकहरू उपेन्द्र पौडेल, उमेश पौडेल र श्रवण रिजाल, निगमका तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल र वर्तमान उपनिर्देशक बृहत्तमान तुलाधार विरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ ।

यस्तै, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला यो प्रकरणबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइड बडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्