२४ असार , सिन्धुपाल्चोक । गएको एक दशकदेखि मानिसले आफ्नो जन्मदिनलाई विशेषरुपमा मनाउन थालेका छन् । अझ सामाजिक सञ्जाल प्रयाेगकर्ताले जन्मदिनलाई पर्व जत्तिकै उत्सव गर्छन् । फेसबुकमा रहेका मानिसले आफ्नो जन्मदिनलाई विश्वव्यापी बनाइरहेका छन् ।
यसरी जन्मदिन मनाउँदा कसैकसैले सामाजिक सेवाकाे काम गरेर सन्तुष्टि लिएको देखिन्छ । यस्ताे प्रचलन राजनीतिक नेता, उद्योगी व्यापारीले मात्रै हाेइन आमसर्वसाधारणले पनि सिक्दै गएका छन् । जसले समाजमा केही गर्नैपर्छ भन्ने भावना पनि विकास भएको छ । याे धेरै राम्रो पक्ष हाे ।
यस्तै उदाहरण प्रस्तुत गरेका छन् , बाह्रबिसे नगरपालिका वडा नं ८ निवासी रामहरि बस्नेतले । माओवादीकाे भ्रातृसंगठन अखिल क्रान्तिकारीकाे पूर्वकेन्द्रीय सदस्यसमे रहेका बस्नेतले आफ्नाे एक वर्षीय छाेरी पारसी बस्नेतकाे जन्मदिनलाई नयाँ ढंगले मनाएका छन् ।
बाह्रबिसे नगरपालिका ९ स्थित रहेकाे बहिरा संघका बालबालिकालाई कपडा र खाना खुवाएर उनले छाेरीकाे जन्मदिन मनाए । मध्येभाेटिकाेसीमा साधारण काम गर्ने बस्नेतले कार्यालयसँग समन्वय गरेर कापीकलम , खेलकुद सामग्री , चार बाक्सा चाउचाउ र चार बाक्सा फ्रुटी ती बालबालिकालाई दिएका हुन् । बहिरा संघमा हाल ३४ बालबालिका छन् ।
प्रधानाध्यापक मैना कार्कीले समाज विकासमा यस्ता कामले याेगदान पुर्याउने बताइन् ।
“सबै बहिरा बालबालिकालाई एकएक जाेर कपडा र खाना खुवाएर छाेरीकाे जन्मदिन मनाएकाे हाे,” बस्नेतले भने, “अनावश्यक रुपमा खर्च गर्ने प्रवृत्ति छाेडेर असहाय र कमजाेर अवस्थामा रहेकालाई सहयोग गर्दा राम्रो सन्देश जाने भएकोले यस्ताे गर्न मन लाग्याे । ”
बस्नेतले बहिरा संघकाे विद्यालय अगाडि सरस्वतीकाे मन्दिर पनि निर्माण गरिदिएका छन् ।
उनले वत्तिकाे लागि साेलार पनि दिने बताएका छन् । बहिरा बालबालिका अध्ययन गर्ने साे विद्यालयमा आठ जना शिक्षक कार्यरत छन् । बालबालिकालाई खानाबस्नकाे व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्