२०८२ असार ३
                           

चौसाँगढी नगरपालिकाले गरे अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

जेठ १३, सिन्धुपाल्चोक । जिल्लामा पहिलो पटक औपचारिक रुपमा चौतारा साँगाचोकगढी नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ । बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीको प्रमुख आथिथ्यतामा चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य र निशुल्क शिक्षा कार्यान्वय पालिका घोषणा गरिएको हो ।


सबै बालबालिकाको विद्यालयमा सहभागीता गुणस्तरिय शिक्षाको सुनिश्चतता ̎ भन्दै प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा नगरपालिका घोषणा गर्न सफल भएको बताएका छन् ।

समारोहलाई सम्वोधन गर्दै महानिर्देशक सुवेदीले अनिवार्य र निशुल्क शिक्षा निरन्तरता दिन बागमति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय सधैं प्रतिवद्ध रहेको बताए । अनिवार्य र निशुल्क शिक्षासँगै अब पालिकाले हरेक वडामा बाल उद्यान निर्माण, बालमैत्री पालिका घोषणाका लागि पहल गर्न सुवेदीले सुझाव दिए ।


निःशुल्क शिक्षा घोषणा मापदण्ड पुरा गर्ने क्रममा विद्यालय बाहिर रहेका ३४ जना बालबालिकालाई विद्यालय भर्ना गरीएको शिक्षा शाखा प्रमुख बसन्त राज जोशीले बताए । विद्यालय भर्ना नभएका ४ वर्षदेखि १३ वर्ष सम्मका बालबालिकालाई घर धुरी सर्वेक्षणबाट पहिचान गरी विद्यालय भर्ना गरीएको छ । नगरपालिका भित्रका १४ वटै वडाका १२ हजार १ सय १५ घरधुरीमा बालबालिकाहरुको विवरण संकलन गरिएको थियो ।

बागमती प्रदेश सरकार शिक्षा विकास निर्देशनालय हेटौडाको ४५ लाख बजेटको योजनामा नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा अभियान चलाएका थिए । सो अभियान अन्तरगत अभिभावक शिक्षा, बालग्राम देखि १० ओटा ई कक्षा ब्यवस्थापन, तथ्याङ्क संकलन लगायतको कार्य गरीएको नगर शिक्षा शाखाले जनाएको छ ।

नगरपालिकाले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा तथा निःशुल्क माध्यमिक शिक्षा प्रत्याभूत गर्ने अभिप्रायले विद्यालय एकीकरण तथा शिक्षक दरबन्दी मिलान गरीएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए । विद्यालयहरुको नक्सांकन, भौगोलिक अवस्था, जनसांख्यिक संरचना, विद्यार्थी संख्या लगायतका विभिन्न पक्षहरूलाई ध्यान दिँदै विद्यालय जाने उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले यो कदम चालिएको मेयर सापकोटाको भनाई थियो ।

अनिवार्य तथा निःशुल्क शिक्षा नगरपालिका घोषणा कार्यक्रममा नगरपालिका मेयर, प्रमुख प्रशासकीय अधिकृत र सबै वडाका वडाध्यक्ष, शिक्षा शाखा प्रमुख र कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , प्रधानाध्यापक र पत्रकारहरुले हस्ताक्षर सहित प्रतिबद्धता गरेका छन् ।

यो घोषणासँगै चौतारा साँगाचोकगढी नगरपालिका जिल्लामा नै औपचारिकरुपमा अनिवार्य र निशुल्क शिक्षा घोषणा गर्ने पहिलो स्थानीयतह बनेको छ ।यस कार्यक्रमका अवसरमा मेयर सापकोटाले विपन्न बालबालिकालाई शैक्षिक समाग्री समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्