२०८२ जेष्ठ ६
                           

मई दिवस

भरत पोख्रेल – मई दिवस विश्वका श्रमिक वर्गको गौरवको दिन । मैले मई दिवस विभिन्न ठाउँमा बेग्लाबेग्लै परिवेशमा प्रत्यक्षीकरण गरेको छु । मई १, १८८६ अमेरिका र विशेष गरी शिकागो सहरमा यही दिन ८ घण्टा कामको माग राखेर ४० हजार मजदुरहरू सडकमा ओर्लेका इतिहास पढियो ।

नेपालको औद्योगिक सहर विराटनगर विरासत भएकाले मजदुरहरूसँग सामिप्यता बढ्यो । विराटनगरका जुटमिलहरूका मजदुरहरूसँग हडताल र जुलुसमा सहभागी भइयो । रिक्सा मजदुरको हडतालमा नेपाली नबुझ्ने मजदुरको आन्दोलनमा हिन्दीमा भाषण ठोकियो । २०३९ साल पञ्चायतले विराटनगर जुटमिलमा मई दिवस मनाउन मनाही गरेको बेला महेन्द्र मोरङ आदर्श क्याम्पसको ग्यालरीमा मई दिवस मनाइयो ।

मनमोहन अधिकारी, भरतमोहन अधिकारी, कमल कोइराला, महेश उपाध्याय, मदन भण्डारी, विद्यादेवी पाण्डे आदि सहभागीमा देखिन्थे । मई दिवसको उमङ्ग र उत्साहमा निकै ऊर्जा खर्चियो । नेपालमा मई दिवसबारे मैले पहिलेका पोस्टहरूमा पनि केही लेखेको छु । सन २०१३ डेढ महिने अष्ट्रेलिया भ्रमणमा रहँदा त्यहाँ देखेको मई दिवसबारे सानो संस्मरण लेख्न आज जमर्को गरेको छु । मेरो ठूल्दाइको दोस्रो पुस्ता झण्डै दुई दसकदेखि अष्ट्रेलियामा छ । उनीहरूको आतिथ्यमा म र शान्ता २०१३ को अप्रेलमा अष्ट्रेलिया गएका थियौं । धेरै समय सिड्नीमा बसे पनि मेलबोर्न र क्यानबेरा पनि हाम्रो गन्तव्य रह्यो ।

सन २०१३ को मई १ को दिन हामी अष्टे्रलियाको क्यानबेरामा मई दिवस समारोहमा सहभागी भयौं । अष्ट्रेलिया लियाको राजधानी क्यानबेराको संसद भवन अगाडि ठूलो संख्यामा श्रमिकहरू जम्मा भएका थिए । धेरैले आफ्नो साधन गाडीमा ब्यानर, झण्डा र तुल टाँगेर आएका थिए ।

केही बस, भ्यान र ट्रकमा आएका थिए । दुईतीन ठाउँमा भेला र भाषण चलेको थियो । केही मानिसहरू खाना आफै लिएर आएका थिए भने धेरैले त्यही पकाउने व्यवस्था गरेका थिए । त्यहाँ पिकनिकको माहोल थियो । हामी सबैतिर घुम्यौ, केहीसँग कुरा गर्‍यौं । विकसित देश अष्ट्रेलिया र विकासशील देश नेपालको मई दिवसका मागहरूमा स्थानीयता छन् तर मजदुरहरूको एकतामा अन्तर्राष्ट्रियता छ ।

हामीले कुन वर्गका मानिसहरू त्यहाँ मई दिवस मनाउन जम्मा भएका छन् बुझ्न खोज्यौं । त्यहाँ मई दिवस मनाउँन जम्मा भएका अधिकांश मानिसहरू श्रमिक रहेको थाहा भयो तर अष्ट्रेलियाका श्रमिकहरूको आर्थिक अवस्था हाम्रो देशका मध्यवर्गभन्दा माथिको छ ।

मई दिवस मनाउन जम्मा भएका मजदुरमा पनि त्यहाँ एउटा तप्का औपचारिकताका लागि आएको थियो भने धेरै मजदुर आन्दोलनका अगुवाहरू आगामी कार्यका लागि कार्ययोजना प्रस्तुत गरिरहेका थिए । अष्ट्रेलियाको राजधानी क्यानबेराको संसद भवन अगाडि यी सबै क्रियाकलाप भइरहेका थिए तर सरकारको कुनै अवरोध थिएन ।

मई दिवसको कार्यक्रमपछि हामी अष्ट्रेलियाको संसद भवनमा घुम्यौं । त्यहाँको संसद भवनमा भ्रमण गर्न कुनै अवरोध छैन । बेलुका शान्ताकी भदैको क्यानबेराको घरमा बास बस्यौं । अष्ट्रेलियामा हाम्रो मई दिवसमा सहभागिता नयाँ अनुभवको अनुभूति बन्यो ।

समयको अन्तरालमा मई दिवसको महत्वलाई उदारवादी र विशेषगरी नवउदारवादीहरूले अवमूल्यन गरिरहेका छन् । विश्वमा मजदुरहरूको आन्दोलनलाई कमजोर पार्न संगठन निषेधको प्रयास देखिएको छ । अमेरिकामा सन १९५५ मा ३३ प्रतिशत श्रमिकहरू युनियनमा आवद्ध थिए तर २०२० मा यो घटेर १०.५ प्रतिशत पुगेको छ ।

निजी क्षेत्रमा त ७ प्रतिशत श्रमिकहरू मात्र युनियनमा आवद्ध देखिएका छन् । २०१८ मा ९२ देशहरूले श्रमिक युनियन बनाउन प्रतिबन्ध लाएको थियो भने २०१९ मा युनियन बनाउन प्रतिबन्ध लाउने देशहरू १०७ पुगेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार अहिले विश्वमा १२ करोड बालश्रम जोखिममा काम गरिरहेको छ र प्रत्येक वर्ष २२ हजार बालबालिकाको जोखिमपूर्ण काममा ज्यान गुमिरहेको छ ।

विश्वमा १ अर्ब ६० करोड मानिसहरू कामको खोजिमा छन् । यही समयमा सरकारी उद्योगहरू मासेर भ्रष्टाचार गर्ने ठूलो नेपाली तप्का ह्याप्पी मे डेको शुभकामना सामाजिक सञ्जालमा बाँडिरहेका छन् । नेपाल सरकारका मन्त्रीहरू संगठन र युनियन बनाउन पाइँदैन भनेर हुँकार गरिरहेका छन् विचरा प्रधानमन्त्री लाचार छाया देखिएका छन्, हाम्रो नेपालमा ।

प्रतिक्रिया दिनुहोस्