बैशाख १५, सिन्धुपाल्चोक । जिल्लाका वर्थिङ सेन्टरमा पर्याप्त उपकरण र ब्लड बैंक नहुदा समस्या भएको छ । वर्थिङ सेन्टरमा सुत्केरी गराउन पुगेकाहरुले रगत अभाव भएको बखत रगत पुर्ति गर्न चुनौती देखिएको छ ।हाल सिन्धुपाल्चोकमा ५५ वटा वर्थिङ सेन्टर सञ्चालनमा छन् ।
यी समस्या भएता पनि अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष वर्थिङ सेन्टरमा सुत्केरी गराउनेको संख्यामा भने वृद्धि भएको तथ्यांकले देखाएको छ ।
वर्थिङ सेन्टरमा ४२ प्रतिशत महिला सुत्केरी हुन पुगेका जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक प्रमुख जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईंले बताइन्् । उनका अनुसार आवश्यक रगतको सहज उपलब्धता नहुँदा र पर्याप्त उपकरण समेत अभाव हुँदा समस्या परेको हो ।

अत्याधिक रत्तस्राव हुदा र समयमा अस्पताल नपुग्दा चौतारा साँगाचोकगढी नगरपालिकामा दुई वटा मातृ मृत्युदरको घटना भएको बजगाइले जानकारी दिइन् ।
गत आर्थिक वर्ष २०७९/०८० भित्र ९ जना नवजात शिशुको ज्यान गएको थियो । चालु आर्थिक वर्षमा भने नवजात शिशु मृत्युको कुनै पनि घटना भएको छैन ।
बागमती प्रदेशले सिन्धुपाल्चोक सहित ११ जिल्लाका स्थानीय तहलाई गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने कार्यक्रम अन्तरगत बजेट छुट्याइएको छ ।
जनस्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षाका लागि काम गर्दै आएको छ ।स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने , खोप लगाउने, सुत्केरी गराउनेको संख्या उल्लेख्य वृद्धि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्