२०८१ श्रावण १२
                           

सेबुङका दलितलाई यसिया नेपालकाे सहायता

रामकृष्ण थापा/ लिस्ती
भाेटेकाेसी गाउँपालिकाकाे लिस्ती सरकारले घाेषणा गरेकाे उत्कृष्ट पर्यटकीय गन्तव्य हाे । कमजाेर भूगोल र सडककाे दूरावस्थाले पूर्वाधार निर्माणमा समस्या परेकाे छ । उसाे त सरकारले बजेट पनि दिएको छैन । काेदारी राजमार्ग छाेडेर डाक्लाङ्, काङ्लाङ, लिस्तीमाइ हुँदै १७ किलाेमिटर कच्ची बाटाे गुडेपछि सेबुङ पुगिन्छ । प्राकृति सुन्दरताले सुगन्ध छरेकाे सेबुङ दलित बस्ती उग्रचण्डी भगवती गुठीमा दर्ता छ । ०७२ काे विनाशकारी भूकम्पले ध्वस्त पारेकाे च्याम्नासामा जीवन असम्भव भएपछि ५० घर दलित समुदायको बिचल्ली भयाे । घरबारी र खेत सबै पहिराेमा परेपछि दलित समुदाय ६ वर्षसम्म बेघरबार भएका थिए । वडाध्यक्ष साङ्बु शेर्पाले गुठीकै जग्गामा भएपनि उनीहरुलाई पुनर्स्थापना गरेका छन् ।

गुठीकाे जग्गा भाडामा लिएर पुनर्स्थापित दलित समुदायको आर्थिक स्राेत केही छैन । लेकाली जमिन भएकोले जाडाे महिनामा केहिपनि उब्जाउ हुन्न । “परम्परागत आरन चलाएर अन्नपात जाेहाे गर्नुपर्ने बाध्यता छ । छाेराछाेरीलाई भरपेट खुवाउन पनि कठिन हुन्छ,” दुःखी हुँदै तारा बिक खड्काले भनिन् । आफ्नै गाउँमाथि गुठीकाे जग्गामा भाडा तिरेर पुनर्स्थापित दलित समुदायलाई जीविकाेपार्जनमा सहायता गरेकाे इटालियन संस्था यसिया नेपालले वडा सरकारलाई तरकारी खेती, सफा पानीकाे मुहान, सिँचाइ र कृषिबाट हुनसक्ने आर्थिक उपार्जनबारे उपाय आदनप्रदान गरेकाे छ ।

जनहित नेपालकाे साझेदारीमा यसिया नेपालले ७८ लाख बराबरकाे खानेपानी ट्यांकी, इन्टेक, घरघरमा धारा र ३७ वटा तरकारी उत्पादन गर्ने टनेल सहायता गरेकाे हाे । १० महिनासम्म संस्थाका कर्मचारी गाउँमा बसेर जीविकाेपार्जनकाे उपाय सिकाएको जनहित नेपालका कार्यकारीनिर्देशक राजेन्द्र शर्माले बताए । वडाध्यक्ष लामाले ग्रिन टनेल निर्माणका लागि सात लाख विनियोजन गरिदिएका छन् । जुन टनेलमा फगिङ सिस्टमबाट पानीको वर्षा गराइन्छ । त्यसपछि त्यहाँ उत्पादित तरकारीको बेर्ना अरु ३६ टनेलमा सारिन्छ । तरकारी उत्पादनबाट दलित बस्तीको निमेक टरेकाे छ ।

 

दलित महिलालाई आधुनिक तरकारी बाली प्रशिक्षण दिन जनहितकी सम्झना नेपाल १० महिना सेबुङमै बसिन् । समुदायको जीवन अवस्था बुझ्न यसिया नेपालका निर्देशक नवराज आचार्य र व्यवस्थापक याेगेश सुवेदी सेबुङ पुगे । दलित बस्तीको कमजाेर आर्थिक अवस्था देखेपछि पुनः कार्यक्रम दिने याेजना बनाएको निर्देशक आचार्यले बताए । भाडामा बसेका समुदायलाई सहज जीवन चलाउन स्थानीय सरकारले अन्य सहयाेग पनि छिट्टै घाेषणा गर्ने वडाध्यक्ष लामाले प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस्