नेकपा एमाले सिन्धुपाल्चोकले आज आयोजना गरेको कार्यकर्ता भेलामा एक सय २५ जना एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ । औपचारिक रुपमा टीका लगाउँदै र खादा ओढ्दे एमाले प्रवेश गरेका नेता तथा कार्यकर्ताहरु झण्डै पाँच दर्जनको संख्यामा देखिएपनि एमालेले एक सय २५ जनाले एकीकृत समाजवादी छाडेको नामावली सुनाइएको छ ।
महासचिव शंकर पोखरेलको हातबाट टीका ग्रहण गर्दै एमाले प्रवेश गरेकामा समाजवादीका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक जिल्ला इञ्चार्ज सुभाष कर्माचार्यलगायत उपेन्द्र तामाङ, शिवराम भट्टराईहरु हुन् । डेढ वर्षअघि केही समर्थक र शुभेच्छुकहरुसहित एमाले छाडेर समाजवादी छिरेका कर्माचार्यले सदरमुकाम चौतारा नजिकैको आहालडाँडास्थित कभर्डहलमा आयोजित कार्यकर्ता भेलामा पुनः पुरानै टोलीसहित एमाले रोजेका छन् ।
उनलाई समाजवादीले हिजो दिउँसो निलम्बन गरेको थियो । ठूलो संख्यामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेको देखाउन सार्वजनिक गरिएको नामावलीमा यसअघि नै समाजवादी छाडेर एमाले छिरेका इश्वरीप्रसाद श्रेष्ठ, यज्ञ सापकोटालगायत नेता कार्यकर्ताको नाम राखिएको समाजवादीले जनाएको छ । कतिपय एमालेकै ढिलो सदस्यता नवीकरण गर्नेहरुको नाम पनि नामावलीमा राखिएको स्रोतको दाबी छ ।
कर्माचार्यलगायत उक्त पार्टीका नेता कार्यकर्ताले एमाले प्रवेश गरेसँगै सिन्धुपाल्चोकमा समाजवादी निमिट्यान्न भएको हल्ला सिन्धुपाल्चोक एमालेले फिँजाइरहँदा उता जिल्लाकै पर्यटकीयस्थल सुकुटेमा समाजवादी सिन्धुपाल्चोकले पनि आजै कार्यकर्ता भेलाको आयोजना गरेको छ । पार्टी सचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाको उपस्थितिमा अगुवा कार्यकर्ता भेला राखिएको हो । कार्यक्रममा केन्द्रीय सदस्य सोम सापकोटा, भगवती नेपाल, जिल्ला अध्यक्ष नवराज पौड्याललगायत धेरै अगुवा कार्यकर्ताको सहभागिता रहेको एकीकृत समाजवादी सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोक एमालेले भने इञ्चार्च कर्माचार्यलगायत ठूलै पंक्तिलाई एमालेमा प्रवेश गराउने कार्यक्रम तय गरेपछि एकीकृत समाजवादीले आफ्ना नेता तथा कार्यकर्ता जोगाउन सुकुटेमा कार्यकर्ता भेलाको आयोजना गरेको प्रतिक्रिया दिएको छ ।
जन आस्था
प्रतिक्रिया दिनुहोस्