२०८१ श्रावण १२
                           

अपाङ्गमैत्री संरचना नबन्दा सास्ती

सिन्धुपाल्चोक, ४ असार

सम्झना कार्की – सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन कार्यालय चौताराको भवन अपाङ्गतामैत्री छैनन् । राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी जस्ता महत्वपूर्ण कागजात बनाउँनका लागि यहाँ दैनिक सयौंको संख्यामा भीड लाग्ने गर्दछ । तर भवनको संरचना अपाङ्तामैत्री नहुँदा भने अपाङ्ता भएकाहरुले सास्ती झेल्दै आएका छन् । तत्कालीन समयमा अपाङ्तामैत्री संरचना निर्माणको मुद्दा सशक्तरुपमा नउठेको र डिजाइनमा पनि अपाङ्गतामैत्री संरचना नभएको कारण भवनको संरचना अपाङ्गतामैत्री नभएको प्रशासनले जनाएको छ ।

यद्यपी माथिल्लो तल्लामा जानका लागि दुईवटा ठूला सिँढी सो भवनमा रहेको छ । ती सिँढी मध्य एउटाको संरचना अपाङ्गतामैत्री बनाउन सकिनेतर्फ भने प्रशासन कार्यालयको ध्यान जान सकेको छैन । सदमुकाम चौतारामा नै रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको आलिशान महल पनि अपाङ्गमैत्री छैन । मेयर, उपमेयर, प्रशासकीय अधिकृत, लेखा शाखा, शिक्षा, स्वास्थ्य, रोजगार, योजना जस्ता महत्वपूर्ण शाखाहरु दोस्रो र तेस्रो तल्लोमा रहेका कारण अपाङ्ता भएका सेवाग्राहीहरुलाई कुनै पनि सेवा लिन कुनै आरोहीले सगरमाथा छिचोलेको भन्दा बढी सास्ती हुँदै आएको छ ।

भूकम्पपछि बनेको यो भवनको संरचना अपाङ्गमैत्री नबन्नु दुर्भाग्य भएको बौद्धिक अपाङ्ताका अभिभावक संघ, सिन्धुपाल्चोककी अध्यक्ष जानकी श्रेष्ठले बताउनुभयो । त्यसो त खासगरि केही बर्षयताबाट नवनिर्मित भौतिक संरचना र पूर्वाधारहरु अपाङ्गमैत्री हुनुपर्छ भन्दै अपाङ्ताका क्षेत्रसँग सम्वन्धित सरोकारवाला निकाय र संघसंस्थाहरुले मुद्दा उठान गर्दै आइरहेका छन् तर पछिल्लो समय निर्मित अधिकाँश संरचना भने अपाङ्गमैत्री बनेका भने छैनन् ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोकका अधिकाँश भौतिक संरचनाहरु ध्वस्त भएका थिए । ती मध्य अधिकाँश संरचनाहरु विद्यालय, स्वास्थ्यचौकी, सरकारी कार्यालयहरु पुनर्निर्माण भइसकेको छ । नवनिर्मित ती संरचनाहरु पनि अधिकाँश अपाङ्गमैत्री छैनन् । पछिल्लोपटक १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अधिकाँश स्थानीयतह र वडाले पनि आफ्नो प्रशासकीय भवन निर्माण गरिसकेका छन् । निर्माण गरिसकेका ती भवन पनि अपाङ्ग मैत्री बनेका छैनन् ।

अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा सरकारी उदासिनताले अपाङ्ताका भएकाहरुले झन बढी सास्ती झेल्नु परेको जिल्ला अपाङ्ताका समन्वय समितिका केशव अधिकारी बताउँनुहुन्छ । आफै पनि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकमा कार्यरत अधिकारी आफूले कार्य गरेको स्वास्थ्य संस्था मात्र हैन जिल्लाका अधिकाँश भौतिक संरचनाहरु अपाङ्गतामैत्री नहुँदा रुष्ट छन् । उहाँले अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि सरकारलाई गम्भीर ध्यानाकर्षण पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्