२०८१ बैशाख १३

कालिकाशरण पत्रु खाना मुक्त विद्यालय घोषणा

मेलम्ची नगरपालिका वडा नम्बर ३ स्थित कालिकाशरण आधारभूत विद्यालयलाइ पत्रु खाना मुक्त विद्यालय घोषणा गरिएको छ । विद्यालयको आयोजना,मेलम्ची नगरपालिकाकाको समन्वय तथा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेष्ट को सहयोगमा आज मेलम्ची नगरपालिकाकै पहिलो पत्रुखाना मुक्त विद्यालय घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् वडा नम्बर ३ का वडा अध्यक्ष कुमार बन्जराले बालबालिकालाई पत्रुखाना निषेध संगै असल संस्कार सिकाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले हैबुङ बाट नगरपालिकाकै पहिलो पत्रुखाना मुक्त विद्यालय घोषणा गर्न पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा अन्य विद्यालयमा पनि यस्तै कार्यक्रम लागुगर्ने कुरामा वडाले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नगरपालिका शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले बालबालिकामा पत्रुखानाले गर्दा हुने असरका बारेमा सानैदेखि र घरदेखिनै बुझाउन पर्ने बताउनुभयो । उहाँले हाम्रो बजारमा हाम्रै उत्पादन गरेका वस्तु हुनुपर्ने भन्दै बाह्य अखाद्य वस्तुको प्रयोग नगर्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य र शिक्षाका बारेमा परिवार र विद्यालय सचेत हुनपर्नेमा जोड दिनुभयो ।

बुढाथोकीले बजारमा पाइने सबै खानेकुरा स्वस्थ नहुने भन्दै गाउँघरकै खानेकुरा खान आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमन्तीनाथ उप्रेतीले विद्यालयमा सहयोग गर्ने विभिन्न संघसंस्था हरुलाइ धन्यवाद दिदै यस कार्यक्रमलाई कार्यान्वयन गर्नेकुरा चुनौतीपुर्ण रहेको बताउनुभयो । उहाँले आगामी विशेष गरि अभिभावक हरुले यसकुरामा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक रामनाथ गिरि, शिक्षक सञ्चमाया तामाङ लगायतले पत्रुखाना निषेधित बनाउनका लागि विद्यालयले गरिरहेका काम र उपलब्धिका बारेमा जानकारी दिनुभएको थियो । विद्यार्थी ,अभिभावक ,शिक्षक,आमा समुह र स्थानीय सम्पुर्णको सहयोगमा यो उपलब्धि हासिल गर्न सकिएको पुर्व प्रधानाध्यापक गिरिले बताउनुभयो ।

विद्यालय निर्माणदेखी विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विगत देखिनै निरन्तर सहयोग गर्दै आएको जर्मन नेपालका शिक्षा अधिकृत ठाकुरप्रसाद पौडेलले विद्यालयले गरेको कामको प्रसम्सा गर्दै आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो । रेस्ट नेपालले कालिकाशरण संगै नगरपालिकाका २६ वटा विद्यालयमा काम गरिरहेको जिल्ला कार्यक्रम संयोजक आकृति घलेले जानकारी दिनुभयो ।

कालिकाशरण जस्तै अन्य विद्यालयले पनि पत्रुखाना निषेध गर्न सकेमा आगामी दिनमा अन्य विद्यालयमा समेत पत्रुखाना मुक्त बनाउन सजिलो हुने बताउनुभयो । उहाँले विद्यालयमा मात्र नभएर घरमा समेत पत्रुखाना मुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्