२०८१ श्रावण १०
                           

‘हाम्लाई चैं अनुदान आउँदैन ?’

 

बैशाख २५, २०८०

कहिले तलको बेशी झर्दै कहिले माथि लेक सर्दै ४२ वटा चौंरीको स्याहारसुसारमा दिन कटाउँदै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका, तेम्बाथानका चौंरी पाल्दै आएका किसान पेरन्जी शेर्पाले कृषि क्षेत्रमा सरकारले ठूलो लगानी गरेको सुने पनि आफूहरुको निम्ति सिन्को नभाँचेको गुनासो गरेका छन् । हिमाली भेगको स्थानीयको प्रमुख आयस्रोत चौंरी पालन नै भएको बताउँदै किसान शेर्पाले सरकारसँग रन्किँदै भने, ‘हामिलाई चैं अनुदान आउँदैन ?’

दुध दुहुने, छुर्पी बनाउने र त्यसबाट प्राप्त आम्दानीबाटै शेर्पाले आफ्नो गुजारा चलाएका छन् । वर्षको नौ महिना चांैरी पालनका लागि खर्कमा नै बिताउने गरेका शेर्पाले सरकारले चौंरी पालक किसानाका लागि कुनै कार्यक्रम नल्याएको दुखेसो पोखेका हुन् ।

शेर्पाको मात्र होइन, जुगल गाउँपालिका दिपुका किसान मिङ्मालमू शेर्पाको पनि उस्तै भोगाई र भनाई छ । खर्कमा नै जन्मेर खर्कमा नै चौंरीको बथानसँगै हुर्केकी शेर्पा विगत ४० वर्षदेखि यही पेशामा रमाएकी छन् । खर्कमा चौंरी चराउनु, हेरचाह गर्नु, दुध र छुर्पीलाई बजार पुर्याउनु शेर्पाको दैनिकी नै बनेको छ । आम्दानीभन्दा दुःख धेरै रहेको उनको अनुभव छ ।

जिल्लाका जुगल, हेलम्बु र पाँचपोखरी थाङपालगाउँपालिकाको हिमाली भेगका किसानहरु चौंरी पालनमा व्यस्त छन् । पुख्र्यौली पेशामा रमाइरहेका यहाँका किसानले जिविकोपार्जनका लागि अन्य स्रोत नभएपछि दुःख धेरै, आम्दानी कम हुँदा पनि चौंरी पालन व्यवसाय छाड्न सकेका छैनन् ।

सामुद्री सतहबाट २ हजार पाँच सय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौंरीको लस्कर देख्न सकिन्छ । तर यहाँका किसानको दुःख र अभावको लस्कर स्थानीय, प्रदेश र संघीय सरकारले नदेखेँझँै गरेको छ । सुगमबस्तीमा बसेर कृषि क्षेत्रको विकासको प्रवचन दिने गैरसरकारी संस्थाको नजर पनि यी विकट बस्तीमा पुग्न सकेको देखिँदैन ।
जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले आफूले चौंरी पालक किसानलाई अनुदानका लागि संघ र प्रदेश सरकारमसमक्ष पहल गरेको बताए । तर चौंरी पालक किसानका लागि सरकारले दोलखालगायत अन्य स्थानका किसानलाई मात्र प्राथमिकतामा राखेको अध्यक्ष स्याङ्बोको आरोप छ ।

पालिकाले पनि याक खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ । तर, विविध कारणले कार्यान्वयनमा ल्याउन नसकेको जुगल गाउँपालिकाका अधिकारीहरु बताउँछन् ।

अधिकांश स्थानीय सरकारले ट्याक्टर, भैैंसी, कुखुरा, बाख्रा, वीऊवीजनलगायतका अनुदानमा ठूलो रकम खर्चिंदै आएको छ । आम्दानीको अन्य गतिलो स्रोत नभएको र चिसो हावापानीका कारण उब्जनी समेत राम्रो नहुने हिमाली भेगका बासिन्दाले गर्दै आएको पुस्तैनी पेशा चौंरी पालनप्रति भने त्यति चासो दिएको देखिँदैन । विकट र हिमाली भेगका स्थानीयकालागि चौंरी पालन प्रबद्र्धन गर्दै व्यवसायिकीकरण गर्न तीनै तहको सरकारले योजना बनाउन आवश्यक रहेको विज्ञहरुको सुझाव छ ।जनअास्था

प्रतिक्रिया दिनुहोस्