अशोक पराजुली/साँगाचोक
गर्मीयाम लागे सँगै चिसो पानी पिउनको लागि साँगाचोक बजारदेखि मानिस भञ्ज्याङ् पँधेरा धाउने गर्छन् । त्यहीँ चिसो पानी पाउने पौराणिक पँधेरो अर्थात भञ्ज्याङ् पँधेराको पानीमा केहि दिन अगाडि दुषित किटाणु भेटिएपछि त्रिभुवन बिश्वविद्यालय टिचिङ हस्पिटल महाराजगन्ज काठमाडौंबाट कम्युनिटी भिजिटको लागि आएको एमबीबीएस पहिलो बर्ष अध्ययनरत विद्यार्थीहरुको टोलीको नेतृत्वमा शनिबार पँधेरा सरसफाइ गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ मा रहेको भञ्ज्याङ् पँधेरा ०७२ बैशाख १२ को भुकम्पले साँगाचोक आसपासका अधिकाशं पानीका मुल सुक्दा समेत उक्त पँधेरामा पानी नसुकेको र संकटको बेलामा समेत आसपासका स्थानीयको प्यास मेटाउने स्रोत बनेको पँधेराको संरक्षणको महत्त्वपूर्ण जिम्मेवारी भने साँगाचोक युवा क्लबले गर्दै आएको छ ।
क्लबका पुर्व सचिव तथा संस्थापक सदस्य रेशमलाल श्रेष्ठका अनुसार पँधेरामा तारजाली लगाएर घेराबार गर्ने र वृक्षरोपण गर्ने जस्ता महत्त्वपूर्ण कार्य क्लबले बिगतदेखि गर्दै आएको र गर्मी याममा पिउने पानी लिनको लागि टाढा बजारदेखि मानिस आउने हुनाले पँधेरामा नुहाउन र लुगा धुनको लागि भने प्रतिबन्ध लगाउने गरिएको छ ।
शनिबार पँधेराको मुहान क्षेत्र,ट्याङ्की र आसपासको क्षेत्रमा सरसफाइ गरि पानीमा पोटास तथा क्लोरिन राखेर पानीलाई पिउन योग्य बनाएको एमबीबीएस अध्ययनरत विद्यार्थी दिपेश बरालले जानकारी दिए । बरालले भने – “हामी विद्यार्थी टोलीले सरसफाइको लागि क्लबका प्रतिनिधिसँग प्रस्ताव गर्यौ । स्थानीय समुदाय पनि जुट्नुभयो र प्रहरीको समेत साथ र सहयोगमा सरसफाइ कार्यक्रम सम्पन्न गर्न पाउँदा हामीलाई पनि खुशी लागेको छ ।”
दैनिक २०० भन्दा बढी घर परिवारले उक्त पँधेराको पानी पिउने गरेका छन् । संकटको बेला पिउने पानीको लागि सहारा बन्दै आएको भञ्ज्याङ् पँधेराको पानी स्थानीयको लागि बरदान सावित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्