२०८१ श्रावण १२
                           

भुतछाँगामा रमाउनेको घुइँचो

सिन्धुपाल्चोक -सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७, सानोसिरूवारी स्थित पर्यटकीय स्था भुतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँ बर्ष २०८० को पहिलो दिन बैशाख १ गते भुतछाँगामा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक आएका थिए।

जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीय स्थल भुतछाँगामा हरेक सार्वजनिक विदाको दिन सयौं पर्यटकहरु अवलोकनका लागि आउने गरेका छन् । त्यसमध्ये पनि आज नयाँ बर्षको दिन त्यो संख्या अत्याधिक बढेको स्थानिय निराजन थापा मगरले बताए ।

भुतछाँगा जानको लागि चौताराकाट करिब ५ किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ । चौतारा-सिपाघाट सडकको करिब ४ किलोमिटर कालोपत्रे सडक हुँदै थप १ किलोमिटर कच्ची सडक हुँदै भुतछाँगा पुग्न सकिन्छ । भुलछाँगामा अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाहरुको प्रमुख रोजाइ बन्ने गरेको भुतछाँगामा सिन्धुपाल्चोकसहित काभ्रे , भक्तपुर , काठमाडौं र ललितपुरबाट समेत पर्यटकहरू आउने गरेका छन् ।

धेरै चर्चा सुनेको भएपनि आफु पहिलोपटक भुतछाँगा आईपुगेको र यहाँ आएपछि आफुले अद्भुत महसुस गरेको नेपाल पत्रकार महासँघ, सिन्धुपाल्चोकका सचिव विदुर आचार्यले बताए । भुतछाँगामा अन्य साहसिक पर्यटनका गतिविधि समेत सञ्चालन गर्न पर्याप्त संभावना देखिएको र यसतर्फ सरोकारवालाहरुको ध्यान जान आवश्यक रहेको उनले बताए ।

काठमाडौंबाट १ दिनमा पुगेर फर्कन सकिने र हाइकीङ वा साइकलीङ गर्न समेत उपयुक्त भुतछाँगामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको हो । पर्यटन गतिविधि बढ्न थालेपछि स्थानीय व्यवसायीले भुतछाँगा रिसोर्ट समेत सञ्चालनमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्