२०८१ श्रावण १२
                           

यस्तो बन्दै छ हेलम्बु ‘ग्रेट ट्रेल’

रामकृष्ण थापा-सीमान्तकृत ह्योल्मो समुदाय बसोवास गर्ने हेलम्बुमा स्थानीय सरकारले ग्रेट ट्रेल निर्माण गरिरहेको छ। सुरुमा हेलम्बु ग्रेट ट्रेल नाम दिएको भए पनि अहिले यसलाई षडाक्षरी धर्मचक्र पर्खाल नाम दिइएको छ।

तिब्बती धर्मगुरु सूर्य सेंगेका छोरा रिग्जिन ठिन्ले दुझोम र हेलम्बुवासी मिलेर गुरु रिम्पोछेको तपोभूमिवरिपरि पर्खाल लगाउनु भनेको प्राचीन कथनअनुसार हेलम्बु सरकारले यस्तो महत्वाकांक्षी योजना ल्याएको हो। षडाक्षरी धर्मचक्र पर्खालको डिपिआर बनाएर चार वर्षअघि काम सुरु गरिएको छ।

पर्यटकीय गन्तव्य हेलम्बुको ‘ग्रेट ट्रेल’ पर्खाल निर्माणमा सयौँ स्थानीय जुटेका छन्। ६० किलोमिटर लामो उक्त पर्खालको हालसम्म तीन किलोमिटर कार्य सम्पन्न भएको छ । निर्माणको प्रारम्भिक चरणमै विदेशी पर्यटक दृश्यावलोकन गर्न आउन थालेका छन्।

‘प्रदेश र संघीय सरकारलाई बजेट माग गरेका छौँ । तर, हालसम्म परेको छैन,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, राजधानीवासीको सबैभन्दा नजिकको हिमाल दृश्यावलोकन गर्ने ठाउँ हेलम्बु हो।’

निर्माणमा हालसम्म १४ करोड खर्च भएको छ । पाँच वर्षभित्र ५० प्रतिशत काम सक्ने योजना रहेकोले संघीय सरकारले सहयोग गर्ने अपेक्षा राखेको उनले सुनाए। हेलम्बुवासीले यो योजनालाई महत्वका साथ हेरेको पाइएको छ।

काठमाडौंबाट ६० किलोमिटर दूरीमा हेलम्बु पुगिन्छ । प्राचीन धार्मिकस्थल भ्रमण र हिमाली शृंखलाको दृश्यावलोकन गर्न पाउने यहाँको मुख्य विशेषता हो । हेलम्बुको सबै गाउँ र वडालाई छोएर पर्खाल निर्माण हुने शेर्पाले बताए।

यहाँ रहेका धार्मिकस्थल आमायांग्री, डुक्पु, भेमाथाङ, छ्यादिचो, सेमिसिदाङ, गुरु रिम्पोछेको तपस्यास्थल प्राचीन र पुरातात्विक महत्वका ठाउँ हुन् । त्यसैगरी यहाँबाट गौरीशंकर, लाङटाङ, जुगल, दोर्जेलाक्पा क्षेत्रका सबै हिमाललाई नजिकबाट देख्न सकिन्छ।

ग्रेट ट्रेलको मध्यभाग पाकेडाँडाबाट विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि देखिन्छ । यहाँ पुग्ने पर्यटकले हेलम्बुमा उत्पादन हुने स्याउको स्वाद चाख्न पाउँछन् । दुर्लभ रेडपान्डा हेर्न पाइन्छ। नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्