२०८२ भाद्र ११

आपतविपदमा हेल्पिङ ह्याण्ड्सका युवा समुह

रामकृष्ण थापा,बाह्रबिसे- बाह्रबिसे बजारमा एउटा युवा समुह छ । जसलाई हेल्पिङ ह्याण्ड्सको नामले चिनिन्छ । यो युवा जमातले केही वर्षदेखि स्थानीयको आपत्विपत्मा साथ दिइरहेको छ । यो समुह प्रायोजित होइन । स्वार्थमा काम पनि गर्दैन । जहाँ आपत्, समस्या र विपत्तिले अप्ठ्यारो पार्छ, त्यहाँ पुगेर निस्वार्थ सहयोग गर्छ । त्यसैले यसको नाम समयक्रममा हेल्पिङ ह्याण्ड्स ग्रुप रहन गएको स्थानीय युवा विकेश लामा बताउँछन् ।

समुहमा दर्जन बढी युवा छन् । प्राकृतिक विपत्ति र कुनै घटना समस्यामा सबै जुट्छन् । र, सहयोग सामग्री जुटाउँछन् । उनीहरु आफै सामग्री संकलन गर्छन् । समूहभित्रका सदस्यले संकलन गरेको सामग्री जहाँ अप्ठेरो पर्छ, तुरुन्तै लगेर वितरण गरिहाल्छन् । समुहका युवा प्रगतिशील छन् । केही गरौं भन्ने उद्देश्यले प्रेरित यो समुह बाह्रबिसेमा आजकाल लोकप्रिय छ । यसको काम र नाम विस्तारै फैलिँदै छ ।
५ फागुन बेलुका बाह्रबिसे बिक टोलमा लाइन सर्ट हुँदा सुकमान बिकको घर जलेर क्षणभरमा खरानी भयो । बिचल्लीमा परेको बिक परिवारलाई सहायता सामग्री बोकेर तुरुन्तै यो समुह बिक टोल पुगिहाल्यो । खाद्यान्न र लत्ताकपडा लिएर पीडितको घरमा पुगेका हेल्पिङ ह्याण्ड्स ग्रुपका सदस्यद्वय गणेश प्रधान र सुदीप श्रेष्ठले पीडित परिवारलाई सहयोग गर्दै सान्त्वना प्रदान गरे । गणेश र सुदीप नयाँ र प्रगतिशील विचार राख्ने युवा हुन् । दुवैलाई बाह्रबिसेमा विद्यार्थी, शिक्षक र स्थानीय सबैले मन पराउँछन् ।

यो समुहले मानेश्वाँरामा आगलागी हुँदा एक लाख नगद सहयोग गरेको थियो । भोटेकोसीको मार्मिङ, जम्बुलगायत ठाउँमा आगलागी हुँदा पनि समुहले रकम संकलन गरेर पीडितलाई दिएको समुहका अर्को सशक्त युवाद्वय प्रविण अधिकारीर विशाल तिमल्सिनाले जानकारी दिए । बाढीपहिरो, आगलागी, विपन्न र गरिब अवस्थामा रहेका स्थानीयलाई समुहले सहयोग गरेको छ । समुहका सदस्यहरु बेलाबेलामा जम्मा भएर विपत र समस्यामा रहेका स्थानीयलाई कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल पनि चलाउने गरेका छन् । समुहमा सुरुदेखि नै सक्रिय विकेश लामाले हेल्पिङ ह्याण्ड्स ग्रुपको कार्यक्षेत्र र कार्यसम्पादनको अवस्था थप विस्तार गर्ने बताए ।

बाह्रबिसे र भोटेकोसी क्षेत्र प्राकृतिक प्रकोपजन्य समस्याबाट सधैँ प्रभावित हुने गरेको छ । यही विपत्लाई न्यूनीकरण गर्न र विपतमा स्थानीयलाई साथ दिन समुह गठन गरेको उनले बताए । युवा समुहको कामबाट प्रभावित भएर कतिपय संस्था र व्यक्ति पनि विपत्को बेला हेल्पिङ ह्याण्ड्स ग्रुपको सम्पर्कमा आउने गरेका छन् ।

  

 

प्रतिक्रिया दिनुहोस्