२०८१ जेष्ठ ६

‘ल्याक्टोफन चकलेट’

चौतारा,२७ माघ- सुरेश बुढाथोथी
ल्याक्टोफन चकलेट
स्कूलको गोलो चौरमा
हाजिर जवाफ प्रतियोगिता चल्दै गर्दा
प्रतियोगीहरुले जवाफ दिन नसकेपछी
‘अडियन्स’ को रुपमा
बफादार सेनालेझैं तनक्क तन्केर
जवाफ दिएथेँ मैले–
‘शम्भुप्रसाद ढुङ्गेल’
आँशुको गर्भाषयबाट जन्मेकालाई
आँशुकवि चिन्न के–को आईतवार ?
आँशुकविको नाम मिलाए बापत
पुरस्कार पाएथेँ मैले
यौटा ल्याक्टोफन चकलेट
र, फुटाएर खाएथ्यौं हामी चार साथीले
जसरी अहिले यो देशलाई
फुटाएर खाईरहेछन् चतुर शासकहरुले
खै कस्ले हो भ्रम फैलाएछ गाउँभरी–
कि,
ल्याक्टो चकलेटको खोल
तन्काएर एक हात लामो पार्यो भने
पसललेले सित्तैमा दिन्छ अर्को चकलेट
लगत्तै हिँडे म चकलेटको खोल खोज्न
जसरी अचेल
श्रीमतीको मुहारबाट हराएको खुशी खोज्न
श्रीमानहरु अरब हिँड्छन्
जसरी आमाहरु तिउनमा हाल्ने भुटुन खोज्न
इराक वा बम्बै हिड्छन्
तन्काउँदा तन्काउँदै च्याट्ट चुडिन्थ्यो चकलेटको खोल
त्यो खोलसँगै चुडिन्थ्यो मेरो मन
मानौं चुडिएको मामुली कागज होइन
मेरी आमाको गलाको रातो पोते हो
आमाको सिउँदोबाट सिन्दुर पुछिएपछी
गलाबाट पोते चुडिएपछी
आमाहरुको जीवनमा चुडिन
र, पुछिन बाँकी केही रहँदैन
नसकेपछी तन्काउँन चकलेटको खोल
एक हात लामो
खोज्न थाले म
को थियो त्यो– जस्ले यो भ्रम फैलायो
खोज्दै जाँदा…
खोज्दै जाँदा…
सिंहदरबारमा उँधोमुन्टो अवस्थामा भेटियो
सरकारको अस्थिपञ्जर
लाग्यो, यो देशमा भ्रम फैलाउन
सरकारै काफी छ
आजकाल मलाई निन्द्रा लाग्दैन
बस् दिक्क लाग्छ
जब कुनै उस्ताद् कवि
केहि हजार पैसा र एकथान मेडलको लागी
ढुकिरहेको हुन्छ प्रज्ञा प्रतिष्ठानको गेटमा
आफ्नै समकालिन पत्रकार साथी
बार्गेनिङ गरिरहेको हुन्छ क्रसरवाला तस्करसँग
र लुछिरहेको हुन्छ ढुंगा र गिटी
बसेर उसैको डायनिङ् टेबलमा
जब सत्यम् सुरक्षणम् को पहरेदार पुलिस अफिसर
चेभासको लार्ज बोतल पासमा राखेर
चियर्स गरिरहेको हुन्छ बलत्कारीसँग
चबाउँदै निर्मला पन्तहरुको आत्माको सेकुवा
घुस बोकेर घुमिरेको हुन्छन्
बालुवाटार र सिंहदरबारको जुठेल्नामा
त्यही सिंहदरबारको आँगन बेच्ने भूमाफिया
…अनि मलाई निन्द्रा लाग्दैन
बस् दिक्क लाग्छ
अक्सर मान्छेलाई केहि नलागेपछी
दिक्क लाग्दो रछ
हराएको छ अहिले ल्याक्टोफन चकलेट
र,
स्थापित भएको छ बजारमा
क्याटवरी र डेरीमिल्क
जसरी हरायो गाउँबाट देउसी भैलो
र बज्न थाल्यो आँगनमा
‘मुन्नी बद्नाम हुई डार्लिङ तेरे लिए’
हराएपछी ल्याक्टो चकलेटको चलन
हराएको छ मेरो
एक चोक्टा मिठो बालापन
म मेरो बा‘को
सेतै फूलेको कपाल हेरेर भन्न सक्छु
बालापन हराएपछि
मान्छेको जीवनमा हराउँन बाँकी केहि हुँदैन ।

प्रतिक्रिया दिनुहोस्