२०८१ असार २

तिलगंगा अस्पताललाई विश्वस्तरी सेवा र शिक्षा दिनेगरी ब्रान्डको विकास गर्ने ईच्छा :डा.रुइत

दीपक श्रेष्ठ – मध्याह्नको २ बजेको समय । जनवरी १७ को दिन । डा. सन्दुक रुइतको मोबाइलमा म्यासेजको घन्टी ‘टिङ्ग्रिङ’ बज्यो । डा. रुइतले मोबाइलको म्यासेज बक्स खोले,  एउटा अपत्यारिलो सन्देश थियो ।

“हामीलाई यति ठूलो सम्मान के देलान् र ?” डा. सन्दुकको मनमा यस्तै लाग्यो । यस्तै सम्मान र पुरस्कारका नाममा अन्तर्राष्ट्रिय रूपमै ठगी धन्दा पनि त चलेको छ । सयौँ नेपाली यस्तै पुरस्कारमा लोभिएर लाखौँ उडाएका पनि छन् । कतै त्यस्तै त होइन ? त्यो म्यासेजमा बधाईसहित विश्वप्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको छोटो जानकारी थियो ।

इसा अवार्डका लागि विश्वका कहलिएका संस्था र व्यक्तिले प्रतिस्पर्धा गरिरहेका थिए । त्यसमध्ये उत्कृष्ट छनोटमा छ संस्था र व्यक्ति परेका थिए । डा. रुइतले भन्नुभयो, “त्यस छ जनाको समूहमा सबैभन्दा सानो म नै थिएँ ।”त्यतिले पनि रुइतको मनमा अझै पत्यार लागेको थिएन । त्यसको १५ मिनटमा इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीको कार्यालयका तर्फबाट फोन प्राप्त गरेपछि विश्वको प्रतिष्ठित सम्मान आफूले प्राप्त गरेकोमा डा. रुइत ढुक्क हुनुभयो ।

नेत्र चिकित्साको क्षेत्रमा करिब ३५ वर्ष निरन्तरको कर्म । मोतीबिन्दुको शल्यक्रियामार्फत एक लाख ३० हजारभन्दा बढी व्यक्तिलाई संसार देखाउने डा. रुइतको कार्य आफैँमा मानवताको उत्कृष्ट नमुना थियो नै । हिमाली, उच्च पहाडी र तराईका अनकन्टार गाउँबस्तीमा मोतीबिन्दुका बिरामी खोज्दै निःशुल्क उपचार गरी संसार देखाउने कार्य आफैँमा चुनौती थियो । नेपाल आँखा अस्पतालको जागिर छाडेर गाउँगाउँमा निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गर्दै हिँड्नु मूखर्ता पनि ठानियो । कतिपय चिकित्सकले नै भने, “रुइत बौलायो ।”

यद्यपि दृढ विश्वास, निश्चित लक्ष्य, स्पष्ट योजना र सेवा भावनाले यो सबै कार्य सम्भव हुँदै आएका थिए । नेपालका विकट, दुरदराज र देहाती गाउँमा मात्र होइन विश्वका कैयन मुलुकमा डा. रुइतले मानवसेवाका उत्कृष्ट सेवा दिइनै रहनुभयो ।

यस कार्यमा तिलगङ्गा आँखा अस्पतालले उत्पादन गरेका दक्ष जनशक्तिको भूमिकामा कम थिएन । आफू र तिलगङ्गा अस्पतालका जनशक्तिले मावनता सेवाका क्षेत्रमा पु¥याएको योगदानको अन्तर्राष्ट्रिय रूपमा सम्मान र प्रोत्साहन पाएकोमा रुइत औधी खुसी हुनुभयो ।

उहाँलाई इसा अवार्ड प्राप्तिको खुसीलाई कहाँ पोखुँ भन्ने भयो । मानवसेवाको महान् अभियानमा अनेकन कष्ट सहेर हरतरहले सहयोग गर्ने श्रीमती नन्दा रुइतलाई सम्झनुभयो । उहाँले तत्कालै फोन गरी पुरस्कार प्राप्तिबारे श्रीमती रुइतलाई जानकारी दिनुभयो । त्यसपछि सिधै तिलगङ्गा आँखा अस्पताल पुगेर गर्वसाथ साथीहरूसँग भन्नुभयो, “इसा अवार्डका लागि हामी छानिएका छौँ, यो खुसी तपाईंहरू सामु बाँड्न चाहन्छु ।” तिलगङ्गा आँखा अस्पतालमा एकखालको उत्साहको सञ्चार भयो । सबैले मानवताको क्षेत्रमा आफूहरूले गरेको योगदानको सुनुवाइ भएको अनुभूति गरे । पुरस्कार प्राप्तिको खुसियाली साट्दाको क्षण सम्झँदै डा. रुइतले भन्नुभयो, “देशका १७ जिल्लाका ३५ आँखा उपचार केन्द्रमा रहेर आँखा उपचारमा सेवारत साथीहरूसँग तत्काल जुम मिटिङ आयोजना गरी खुसी साटियो ।”

हेटौँडामा मोतीबिन्दुको निःशुल्क आँखा शिविरमा व्यस्त डा. रुइतले भन्नुभयो, “मेरो एकोहोरो काम गराइको एउटा रिकगनाइजेसन विश्वले गर्दो रहेछ । सुरुमा त म आफैँले विश्वास गर्न सकिन ।” उहाँले भन्नुभयो, “नेपालको प्रतिष्ठामा लिफ्ट दिएको छ जस्तो लाग्छ । जीवनकै कमाइ हो यो । जिन्दगीको तपस्याको फल ।”  इसा अवार्डले नेपालको आत्मसम्मान र प्रतिष्ठा बढाएको अनुभूति उहाँमा छ । इसा अवार्ड प्राप्तिपछि राज्यको भूमिकालाई उत्सुकतासाथ हेरिरहेको प्रतिक्रिया डा. रुइतले दिनुभएको छ । उहाँले भन्नुभयो, “मलाई राज्यले कसरी रेस्पोन्स गर्छ भन्ने हेरिरहेको छु ।”

उहाँको इच्छा छ, तिलगङ्गा आँखा अस्पताललाई विश्वस्तरीय सेवा र शिक्षा दिनेगरी ब्रान्डको विकास गर्ने । विश्वविद्यालयका रूपमा अघि बढाउने । यस कार्यलाई राज्यले बुझेर अघि बढाउन सहयोग गरोस् भन्ने अपेक्षा डा. रुइतको छ । उहाँले भन्नुभयो, “त्यसैले म चाखसँग हेर्दै छु, राज्यले के सहुलियत दिन्छ भनेर हेरिरहेको छु ।”

मानवता सेवाका लागि आफूहरूको निरन्तरको प्रयास रहेको र यस कार्यका लागि देश विदेशका सहयोगीमार्फत सहयोगसमेत जुटाइरहेको स्थितिमा राज्यको अपनत्व र अभिभावकको अपेक्षा डा. रुइतको छ । उहाँले भन्नुभयो, “लेन्स बनाउने सूक्ष्म ज्ञान हामीसँग छ । त्यसलाई उपयोग गर्दै हेटौँडामा रिलोकेट गरेर लेन्स उत्पादनलाई पाँच गुणा बढाउन चाहन्छौँ । यसका लागि हामीलाई ४० करोड जति बजेट आवश्यक हुन्छ । सरकारले यसमा सहयोग गर्नुपर्छ ।”

डा. रुइतलाई तिलगङ्गा आँखा अस्पताल आफ्नै घरजस्तो लाग्छ । आफ्नै आँगन र बगैँचाजस्तो । आफ्नै सन्तानजस्तो । कुनै पनि संस्था दिगो र सफल हुनका लागि ‘सक्सेस प्लान’ आवश्यक हुने ठम्याइ डा. रुइतको छ । त्यही ‘सक्सेस प्लान’अन्र्तगत नै दक्ष जनशक्ति र नेतृत्व निर्माण तिलगङ्गा आँखा अस्पतालमा गरिएको छ । उहाँको ठम्याइ छ, “नेतृत्व कहिल्यै पनि असुरक्षित हुनु हुँदैन । तिलगङ्गाको सफलताका कारण यो पनि हो । अस्पतालको सफल निरन्तरताका लागि नेतृत्व हामीले तयार पारिसकेका छौँ ।” तिलगङ्गा अस्पतालबाहेक सुदूरपश्चिम र कर्णालीसहितका विपन्न वर्ग र समुदायमा सरल विधिबाट मोतीबिन्दुको निःशुल्क उपचार गर्ने हुटहुटी डा. रुइतमा छ । कर्णाली, सुदूरपश्चिमलगायत विपन्न वर्गका २५÷३० हजार जनाको मोतीबिन्दुको शल्यक्रिया बर्सेनि गर्ने योजना उहाँको छ । त्यसैगरी अफ्रिका र अन्य एसियाली मुलुकमा गरी ४०÷५० हजार जनामा बर्सेनि निःशुल्क शल्यक्रियाको सेवा दिन सकिन्छ ।

त्यसका लागि सहयोगीबाट वार्षिक चार मिलियन डलर जुटाउने आत्मविश्वास उहाँमा जिवितै छ । यस कार्यमा बेलायतको तेज कोहली एन्ड रुइत फाउन्डेसनले साथ जुटाउँदै आएको छ । मानवसेवाको यो कार्यमा बर्सेनि ७० हजारदेखि एक लाख मानिसको मोतीबिन्दुको निःशुल्क उपचार गर्ने बृहत्तर योजना उहाँको छ । सन्दुक अर्थात् तिब्बती भाषामा आकाशको ड्र्यागन (पौराणिक मान्यताअनुसार आकाशमा उड्ने जीव) भन्ने अर्थ लाग्छ । तिब्बतको पुख्र्यौली गाउँ ‘रुथोक’को सम्झनामा डा. सन्दुकबा बुवा सोनाम वाङ्ग्यालले ‘रुइत’ जोडेका थिए । तिब्बतबाट नुनको व्यापार गर्ने पुख्र्यौली पेसासँगसँगै सात पुस्ताअघि डा. रुइतको पुर्खा ओलाङ्चुङगोला नजिकै तमोर किनारको वालुङमा बस्दै आएका थिए । जुन तिब्बतसँगको व्यापारिक नाकासमेत थियो । त्यहीँ जन्मिए रुइत ।

ताप्लेजुङको ओलाङ्चुङगोलामा १९५४ सेप्टेम्बर ४ मा जन्मिएका रुइत सानोमा निकै चकचके थिए । बौद्ध दर्शनप्रति अगाध आस्था राख्ने बुवा सोनामको बौद्धमन्त्र, प्रार्थना सुन्दै ओलाङ्चुङगोलाबाट तमोरको किनार हुँदै आउने सिरेटोसँग रम्दै रुइतको बाल्यकाल बित्यो । कहिले आरु र ओखरका रुख चढ्दै, चौँरीको ढाडमा चढेर जुल्फी समात्दै उपद्रोमा रमाउने बानी उहाँमा थियो । एकदिन चौँरीको ढाडमा चढेर उट्पट्याङ गर्दा लडेर दाहिने हात भाँचियो । स्थानीय जडीबुटीको लेपले काँम्रो बाँधियो । तर, रुइतको चकचके बानी बाँधिएन । अब आरु र ओखरका बोटमा ढुङ्गा हान्ने कसरी ? रुख पनि त चढ्नै प¥यो । देब्रे हातले घुँयत्रो फाल्न थाले रुइत । एक हप्तामा देब्रे हालते उही मेलो समात्यो, जसरी दाहिने हातले निसाना लगाउँथ्यो । दुवै हात उत्तिकै चलाउन सक्ने कला पछि चिकित्सा क्षेत्रमा डा. रुइतलाई वरदान साबित बन्यो ।

सोनामको खास व्यापार नुन थियो । कोलकत्ता सहरसम्म आउजाउ थियो । उहाँले शिक्षाको महìव बुझेका थिए । त्यसैले सात वर्षको उमेरमा रुइतलाई दार्जिलिङमा पढ्ने व्यवस्था मिलाए । तमोर नदीको किनार वालुङगाउँबाट कति हो कति टाढा । सात वर्षको उमेर । घरदेखि टाढा छोरा पठाउन एउटी आमालाई कहाँ सजिलो हुन्छ र ? कासाङ डोमा उक्यावले आफ्नै हातले तुनेको एउटा झोला भिराइदिइन् ।

सातवर्षे रुइतलाई । झोलामा थियो, कोदोको बिस्कुट, घरमै बनाएको चकलेट, अलिकति चौँरीको छुर्पी । बर्कोले मुख छोप्दै कासाङ भनिन्, “भोकलागेको बेला खा है बाबु ! एकैदिनमा खाइ नसक्नु नि !”

बुवा सोनामसँगै रुइत लागे ओरालो । तमोर सुसाइरहेको थियो, एकनासले । अलि तल पुगेर घरतिर फर्केर पुलुक्क हेरे । एकथोपा तातो आँसु तपक्क खस्यो खुट्टामा । हिमाली चट्टानी पहाड, खोँच छिचोल्दै करिब दुई हप्ता लगाएर दार्जिलिङ पुगे रुइत । सेन्ट रोबर्टस स्कुल दार्जिलिङमा उहाँलाई भर्ना गरियो । त्यहाँ रुइतले करिब छ वर्ष पढ्नुभयो । सन्दुक १३ वर्षको हुँदा दार्जिलिङमा कक्षा ७ मा पढ्दै थिए । अचानक दार्जिलिङ छाड्नुपर्ने भयो । कारण थियो, सन् १९६२ को चीन र भारत युद्ध । युद्धका कारण विद्यालय बन्द भयो । विद्यालय छाड्ने बेला सेन्ट रोकर्टसका फादरले सोनामलाई भनेका थिए, “छोराको पढाइ छुट्न नदिनु । यो केटाले भविष्यमा केही न केही असल काम गर्नेछ ।”

त्यसपछि काठमाडौँमा ल्याइयो, रुइतलाई । सिद्धार्थ बनस्थलीमा कक्षा ९ मा सोनामले भर्ना गरिदिए । त्यो बेला सोनामले वालुङ छाडेर धनकुटाको हिलेमा बसोबास थालिसकेका थिए ।

सिद्धार्थमा पढ्दै गर्दा बहिनी याङ्ला थिइन् साथी । दाजुबहिनीको अगाध माया थियो । बिरानो सहरमा एकअर्काका सहयोगी पनि । एकाएक बहिनी याङ्लाको क्षयरोगका कारण मृत्यु भयो । यस घटनाले सन्दुकमा चिकित्साशास्त्र पढ्नुपर्छ भन्ने दृढ इच्छाशक्ति जाग्यो । यद्यपि पढ्नका लागि त्यति ठूलो बजेट कहाँबाट जोहो गर्नु ? त्यो सम्भव थिएन । त्रिचन्द्र कलेजबाट आईएस्सी गरेका १९ वर्षीय रुइतले भारतको लखनउस्थित किङ जज्र्स मेडिकल युनिभर्सिटीमा छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभयो । छात्रवृत्तिमा १५० जनाले दिएकोमा उत्कृष्ट आठमा नाम निकाल्नुभयो । सन् १९७२ मा चिकित्साशास्त्र पढ्न लखनउतिर लाग्नुभयो । जहाँ पढ्दा एमबीबीएसमा शल्यक्रियामा गोल्डमेडलिस्ट हुनुभएको थियो । दाहिने हात भाँचिएपछि आरु र ओखरको बोटमा देब्रे हातले घुँयत्रो हान्न सिकेको सीप रुइतलाई यहीँ काम लागेको थियो ।

पढाइ सकाई फर्किएर वीर अस्पतालमा कनिस्ट मेडिकल डाक्टरका रूपमा सेवा सुरु गर्दैगर्दा नेत्र चिकित्सा विभागमार्फत बर्दियामा स्वास्थ्य शिविर जाने अवसर डा. रुइतलाई मिल्यो । त्यहाँ भेटिएका आँखाका बिरामीको उपचारपछि डा. रुइतको जीवनले नयाँ मोड लियो । सुर्खेततिरका एउटा परिवारका पाँच जना मानिस जन्मजात मोतीबिन्दु भएका थिए । तिनले आँखा देखेपछि व्यक्त गरेको खुसीले नयाँ मोड लियो । अनि नेपालमा मोतीबिन्दुका बिरामीको सेवामा लाग्ने प्रण त्यहीँबाट डा. रुइतले गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले नेत्र चिकित्साको पोस्टग्रयाजुएट डिग्रीका लागि भारतमा छात्रवृत्ति दिने थाहा पाएपछि डा. रुइतले पहल थाल्नुभयो । कडा प्रतिस्पर्धाबीच नाम निकाल्न सफल डा. रुइत नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा भर्ना हुनुभयो । त्यहीँ उहाँले बाँदरको आँखा जाँच गर्दागर्दै माइक्रो सर्जरी (सूक्ष्म शल्यक्रिया)मा विशिष्ट ज्ञान प्राप्त गर्नुभयो ।

त्यताबाट फर्किएपछि नेपाल आँखा अस्पतालमा काम थाल्नुभयो । त्यहाँ आठ वर्ष सेवापछि तिलगङ्गा आँखा केन्द्र सञ्चालन गर्ने निर्णायक मोडमा पुग्नुभएको थियो । त्यसका लागि आँखा अस्पतालमा शल्यक्रिया, जनसम्पर्क, प्रशासनजस्ता क्षेत्रमा कार्यरत ‘सानदार सात’ छान्नुभयो । प्रस्ताव राख्नुभयो । योजना सुनाउनुभयो । सबैले होस्टेमा हैँसे भने । जो अहिलेसम्म डा. रुइतकै साथमा छन् ।  हातमा सजिलै अवसर आउँदैन त्यसका लागि चुनौती उठाउनुपर्छ । त्यही चुनौतीले जहिले पनि अवसर लिएर आउँछ भन्ने दृढ विश्वास डा. रुइतमा थियो । भयो पनि त्यस्तै । अमेरिकाबाट आएका चिकित्सकलाई हेटौँडामा आयोजित शिविरमा मोतीबिन्दुको उपचार विधि ‘रुइतेक्टोमी’ विधि सिकाउँदै गरेका डा. रुइतले भन्नुभयो, “मेरो अन्तिम इच्छा छ भाइ, नेपाललाई आँखा उपचार र शिक्षाको हब बनाउने । आँखा अस्पताललाई विश्वविद्यालय बनाउने ।”

रुइतेक्टोमी 

मोतीबिन्दु भएका बिरामीलाई नवीन प्रविधिबाट शल्यक्रिया गरी उपचार गरिने विधि रुइतेक्टोमी हो । डा. रुइतद्वारा प्रतिपादित गरिएको नयाँ उपचार विधिमा मोतीबिन्दु भएका बिरामीको शल्यक्रिया गरी ‘इन्ट्राअकुलर लेन्स‘ लगाई आँखाको उपचार गरिन्छ ।

यो विधि पश्चिमा मुलुकमा प्रयोगमा आइसकेको थियो । यद्यपि यो निकै महँगो थियो । एउटा लेन्सको तीन सय डलर पर्दथ्यो । जुन सर्वसाधारण नेपालीले राख्न सक्दैन थिए । आखिर मोतीबिन्दुको समस्या बढी त दूरदराज गाउँमा बस्ने गरिबीको रेखामुनी रहेका नेपालीमा थियो । तिनै समुदायसम्म आँखाको आधुनिक उपचार सेवा पु-याउने उद्देश्यसहित डा. रुइतले नेपालमै लेन्स बनाउने कारखाना स्थापना गर्नुभयो र तीन डलरमा उत्पादन गर्नुभयो । जसले गर्दा मोतीबिन्दुको उपचार सेवा सर्वसाधारणले समेत गर्ने अवसर प्राप्त गरेका छन् ।

सन् १९८० को दशकमा नेत्र चिकित्सकका रूपमा डा. रुइतले काम थाल्दा नेपालजस्ता देशमा मोतीबिन्दुको शल्यक्रिया परम्परागत विधिबाट गरिन्थ्यो । शल्यक्रियापछि मोटो लेन्स भएको चस्मा लगाउन दिइन्थ्यो। एक सर्वेक्षणले करिब ६ प्रतिशत अन्धोपन आँखाको मोतीबिन्दुको शल्यक्रियाबाटै सिर्जित समस्याबाट हुने देखाएको थियो। त्यस्तो अवस्था देखेपछि शल्यक्रियालाई कसरी सरलीकृत गर्न सकिन्छ भनेर डा. रुइतले अनुसन्धान थाल्नुभएको थियो ।

इसा अवार्ड

सन् २००९ मा बहराइनका राजा हमाद बिन इसा अल खलिफाद्वारा यो पुरस्कार स्थापना गरिएको हो । यो पुरस्कारको मुख्य आह्वान नै छ ‘मानवता सेवाका लागि इसा पुरस्कार’ । यो पुरस्कार दुई दुई वर्षमा मानवसेवाका क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । यो पुरस्कार बहराइनका स्वर्गीय अमिर शेख इसा बिन सलमान अल खलिफाको नाममा राखिएको हो ।

सो अवार्डका लागि विश्वभरका १४५ जना उम्मेदवारले भाग लिएका थिए । अवार्डको पाँचौँ शृङ्खला २०२१/२२ मा अवार्डका लागि आवेदन दिएकामध्ये १३९ जनाको आवेदन स्वीकार गरिएको थियो । अवार्डका नियम र सर्तअनुसार पाँच आवेदनलाई छनोट गरिएपछि मूल्याङ्कन बोर्डले उत्कृष्ट पाँचको सूचीमा परेका आवेदकको देशमा भ्रमण गरी मिहिन ढङ्गले कामको अध्ययन गरेका थिए । मूल्याङ्कनको बृहत् प्रक्रियाबाट नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत मानवता सेवाका लागि इसा अवार्डको पाँचौँ संस्करणको विजेताका रूपमा चयन हुनुभएको थियो । नेपालीले प्राप्त गरेको सम्भवतः यो सबैभन्दा ठूलो धनराशिको अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार हो । यो अवार्ड राशि १० लाख डलर अर्थात् झन्डै १३ करोड आठ लाख नेपाली रुपियाँसहित स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

सम्मान पुरस्कार

डा. रुइतले सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार पाउनुभएको थियो । सन् २०१८ मा भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको थियो । २०७२ मा भुटानको उच्च सम्मान ‘नेसनल अर्डर अफ मेरिट’ प्राप्त गर्नुभएका डा. रुइतले २०७५ सालमा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पदक पाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्