२०८१ श्रावण १२
                           

बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकखण्ड अवरुद्ध

असार ३१ — विभिन्न स्थानमा बाढी पहिरो जादा बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकखण्ड अवरुद्ध बन्न थालेको छ । सो कारणले दर्जनौं कन्टेनर उत्तरी तातोपानी नाकाक्षेत्रमै थन्किन बाध्य भएका छन् । चीन जोड्ने तातोपानी क्षेत्रको कोदारी माथिबाट पहिराको लेदो मिसिएको घट्टे खोलाले कजवे पुल बगाएपछि कन्टेनर कोदारी भ्यू प्वाइन्टमै थुनिएका हुन् ।
बाढीले वरिपरिका कोदारी क्षेत्रका सडक भासिँदा पहिरो निम्तिएपछि स्थानीयलाई सचेत हुन आग्रह गरिएको भोटेकोसी गाउँपालिका वडा २ का अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।
चीनको खासा हुँदै लिपिङबाट कोदारी बजार भेगमा आइपुगेका कन्टेनर क्षतिग्रस्त घट्टे खोलाखण्ड वरिपरि सडक पूरै भासिन थालेकाले त्रासमा छेउमै रोकिने गरेका छन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय नआइपुग्दै त्यतै कन्टेनर रोकिने हुँदा कन्टेनर व्यवसायी र जनप्रतिनिधिले सम्बन्धित निकाय चरिकोट सडक डिभिजन कार्यालयलाई गुहारिरहेका छन् ।
बिहीबार बेलुकीसम्म कोदारी बजारसम्म आइपुगेका दर्जन कन्टेनर बाढीपहिरोले सडक अवरुद्ध भएपछि उतै रोकिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्