बसभित्रै पाकेटमारी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । कलंकीबाट बसपार्क जाँदै गर्दा १२ फागुनमा ५१ वर्षीय पुरुषको पाकेटमारी भएको थियो । उनको साथमा रहेको ५० हजार रुपैयाँ पाकेट मारेर एक समूह फरार भएको थियो ।
पाकेटमारको आरोपमा प्रहरी वृत्त स्वयम्भूले सुरुमा काभ्रेको मन्डनदेउपुर गाउँपालिका–१० का ३६ वर्षीय श्याम तामाङलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि थप ९ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।पक्राउ पर्नेहरुमा उनीसँगै काभ्रेको बेथानचोक गाउँपालिका–६ का ३२ वर्षीय सुमन मगर, धादिङका २७ वर्षीय बिदुर कमल, धादिङकै विवेक ढुंगाना छन् ।
त्यसैगरी सिन्धुपाल्चोकका विकास तामाङ, काभ्रेका सनबहादुर तामाङ, सिन्धुलीका शंखबहादुर योञ्जन, रौतहटका आकाश तामाङ, काभ्रेका प्रकाश लामा र काभ्रेकै कसाङ तामाङ छन् । उनीहरुविरुद्ध प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्