२०८१ बैशाख ८

जुगलको बिकट बस्ती गुम्बामा प्रहरी चौकी स्थापना

सिन्धुपाल्चोक ,१४ साउन- जुगल गाउँपालिकाको बिकट बस्ती गुम्बामा प्रहरी चौकी स्थापना गरिएको छ । सिन्धुपाल्चोकको पारी गाउँ भनेर चिनिने गुम्बामा शुक्रवार अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमा रहेको चौकी मध्ये गुम्बा चौकी हिमाली भेग र बिकट ठाउँमा छ । बर्सेनि प्राकृति विपत्तिको मार खेप्ने जुगल गाउपलिकाको यश भेगमा प्रहरी प्रशासन र यातायातको सहज पहुँच पुग्दैन ।

सदरमुकाम चौताराबाट सबैभन्दा टाढा र यातायातको सहज पहुँच नपुग्ने गुम्बामा चौकी स्थपना भएपछि त्यस भेगमा प्रहरी प्रशासनको सहज पहुँच पुग्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले यस ठाउँलाई अति संवेदनशिल प्राकृति विपत्ति, अपराध बढी हुने ठाउँमा राखेर काम गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख बाल नरसिंह राणा भन्छन्, ‘हामीले सबै ठाउँमा प्रहरीलाई अलअर्ट राखेका छौँ । सबै स्थानीय तहमा प्रहरी सक्रिय छ । जुगल गाउपालिकको माथिल्लो भेगमा भने प्रहरीको सहज पहुँच नभएपछि चौकी स्थापना गरि त्यहाँको स्थानीयलाई प्रहरी प्रशासनको प्रत्याभूति दिलाउन स्थापना गरेका हौँ ।’

जुगल गाउँपालिकाको गुम्बा लगायत माथिल्लो भेगमा प्रहरीको समेत सहज पहुँच नपुग्दा अपराधी गतिविधि बढ्ने र अपराधमा सलग्नहरु लुकेर बस्ने भएकोले सो स्थानमा चौकी स्थापना गरि नागरिकलाई सुरक्षाको महशुस हुने राणाले बताए ।

अहिले गुम्बामा असइको नेतृत्वमा १३ जना खटिएका छन् ।
प्रहरीले त्यस ठाउँमा कानुनी परामर्शदेखि सुशासन र जनचेतनामुलक कार्यक्रम गरि नागरिकसँग हातेमालो गर्दै काम गर्ने विश्वास राणाले व्यक्त गरे ।

दुर्गम र हिमाली बस्ती भएको जुगल गाउँपालिकाको गुम्बामा हिउँदको समयमा समेत यातायातको सहज पहुँच पुग्दैन । सदरमुकाम चौताराबाट यातायातको साधन प्रयोग गर्दा झन्डै ८÷९ घन्टा लाग्ने गुम्बामा हिँडेर जादा झन्डै दुई दिन लाग्दछ ।
पछिल्लो समय सिन्धुपाल्चोकमा अपराधी क्रियाकलाप कम हुँदै गएको र केही मानिस अपराध गरेर त्यसभेगमा लुक्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख रहेको राणाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्