२०८१ असार २

समय अझै बाँकि छ स्थानिय तहका नेतृत्वमा न्युनतम तपसिलका काम अनिवार्य गरौं

सरल सहयात्राी

सरल सहयात्राी-
१. स्थानीय स्वास्थ्यकर्मीको मनोबल उठाऔँ :- सरकारको तर्फबाट जेजस्तो साधन स्रोत छ त्योअनुसार हरेक पालिका स्तरमा क्वारेन्टाइन र आइसोलेसन वार्डहरु बनेका छन् । यसलाई जति सकिन्छ व्यवस्थित र केन्द्रीकरण गरौँ । सम्भव भएसम्म उपस्वास्थ्य चौकीहरु जो वडावडामा छन् त्यहाँका स्वास्थ्यकर्मीलाई केकसरी सुरक्षित तरिकाले उपचारमा लगाउन सकिन्छ, नजिक रहेका सिनियर डक्टरहरु मार्फत स्वविश्वास प्राप्त हुने प्रारम्भिक उपचार विधिका बारेमा एलर्ट बनाऔँ । वरपरका सबै सरोकारवाला निकायले साथ दिऔँ । आग्रह पूर्वाग्रह त्यागौँ ।
२. स्थानीय स्तरमा आर्थिक कोष खडा गरौँ :- धेरै पालिकाहरुमा सुरुवात भइसकेका पनि छन् । स्थानीय स्तरका जो कोही सङ्घसंस्था तथा व्यक्तिहरु छन् उनीहरुलाई यस कोषमार्फत सहयोग गर्नका लागि अनुरोध गरौँ । यस्ता कोषहरुमा राखिएका आर्थिक यसअघि पीडितकोमा पुग्न वर्षौ लागेका उदाहरण छन् । यसलाई एकदमै व्यावहारिक र सहज बनाऔँ । जो अप्ठ्यारामा परेका छन् तत्काल उद्धार हुने व्यवस्थापन गरौँ । यो एक खाले सङ्कटकाल हो । स्थानीय स्तरमा सङ्कटकाल मोडलकै कार्यविधि निर्माण गरौँ । यो सङ्कटलाई अवसरको रूपमा उपयोग गर्दै आगामी दिनमा आम जनताको स्वास्थ्य सेवालाई निःशुल्क, व्यवस्थित र प्रभावकारी बनाउन नमुना–कोषको रूपमा विकास गरी यसलाई प्रभावकारी पारौँ ।
३. मेडिकल सामग्रीहरु स्टोर गरौँ :- मेडिकल सामग्रीहरु जस्तै पीपीई, मास्क र औषधि गाउँपालिकाको मुख्य स्वास्थ्य केन्द्रमा एक प्रभावकारी संयन्त्र बनाएर स्टोर गरौँ । यो एक लडाइँ हो र स्वास्थ्य सामग्री हाम्रा हतियार हुन् । हतियारको सदुपयोग गर्न नजान्ने टुकडीले कुनै लडाइँ जित्दैन । हतियारको प्रयोग लडाइँ सुरु भएपछि योजनाबद्ध तरिकाले हुन आवश्यक छ । महाभिडन्तको सुरुवात भएपछि सबै नियम पालना नहोला, यद्यपि कुनै नियम बिनाको जथाभावी हतियार पड्काउने सिपाही वा त्यसको कमान्डर भनेको महामूर्ख हो । कुशल होइन । त्यस्ता मूर्खलाई लडाइँको मैदानबाट बेलैमा हटाइएन भने आफ्नो त सत्यानास गर्छगर्छ बाँकीलाई पनि आफूसँगै खाल्डोमा हालेर छाड्छ । यस्ता प्रवृत्ति बेलैमा नियन्त्रण गरौँ । गाउँगाउँमा त घरभित्र बस, सामाजिक दूरी कायम गर भनेर सचेत गर्ने हो । अहिले घरभित्र मास्क बाँड्नु, जथाभावी पीपीई बाँड्नु असल नागरिकको काम होइन । नौटङ्की भोटराम र लोकरामका वाइयात चाहना मात्रै हो । यसकारण मेडिकल सामग्री जति सकिन्छ पालिकाको मुख्य स्वास्थ्य केन्द्रमा केन्द्रीकृत गरौँ । यदि कुनै केन्द्रमा यस महामारीको असर बढी पर्न गयो भने असर हेरेर त्यसको सदुपयोग गरौँ ।
४. खाद्यान्न स्टोर गरौँ :- जसले जेजति सक्छ सक्नेहरुलाई संस्थागत अनुरोध गरौँ । खाद्यान्नलाई कुनै सुरक्षित स्टोर निर्माण गरेर त्यहाँ भण्डारण गरौँ । खाद्यान्न अभाव भएर कोही भोकै नपरोस् । समस्या नपर्नेहरुले एकबोरा चामलमा र्याल नचुहाऔँ । भूकम्पले हामीलाई धेरै ठूलो पाठ सिकाएर गएको छ । प्रत्येकको पहिचान र औकात देखाइदिएको छ । काठमाडौँबाट लाखौँको प्राइभेट गाडीमा हजारौँको तेल हालेर राहत (एक बोरा चामल) बोकेर काठमाडौँ फर्केका धेरै उदाहरण छन् । यस्ता निच व्यवहार त्यागौँ । समस्या परेको छ भने अर्कै कुरा तर झोली थाप्ने प्रवृत्ति दरिद्र प्रवृत्ति हो । दरिद्रता अभावले भन्दा धेरै सोँचले पैदा गर्छ । आपत आइलागोस् र चार बोरा चामल बोकेर जनताको मन जित्न कुदौँला भन्ठान्ने लोकराम र घरको भकारी लुकाएर रुमालमा एकमाना चामल थाप्न कुद्ने दुवै समाजका मानसिक दरिद्र हुन् । यिनीहरुदेखि सचेत बनौँ । सहयोग गर्न चाहनेको पनि लिस्ट बनाऔँ । हेरौँ, साँच्चिकै सहयोग गर्न चाहेका रहेछन् भने सेल्फी खिच्न नपाए पनि र आफ्नो फोटो कतै नछापिए पनि आधिकारिक संस्थालाई सहयोग गरिहाल्छन् । नत्र यहीबेला चिनौँ, यी कोही सहयोगी मनका होइनन् बरु जनताका दुःखपीडा बेचेर लोकप्रियता किन्न हिँडेका व्यापारी हुन् ।
५. प्रत्येक टोलमा राजनीतिक पार्टीहरुले अनुशासित स्वयंसेवक बनाऔँ :- पार्टीको तर्फबाट काम गर्ने हो भने मुख्य पार्टीको सङ्गठन सबै गाउँमा छ । टोलहरु विभाजन गरेर सानो सङ्ख्यामा नियमअनुसार अनुशासित भएर काम गर्ने स्वयंसेवक टिम बनाऔँ । अहिले लकडाउन रक्सीले डाउन भएर मस्त परेका धेरै टोल छन् । जुवातासको ठूलै खेलोमेला हुन थालेको छ । ती सबै भट्टी पसलहरु बन्द गराउन थालौँ । जुवातासका खालहरु बन्द गराऔँ । गाउँमा प्रवेश गर्ने नयाँ मान्छे को हो ? किन प्रवेश गर्न चाहेको हो ? उसको निगरानी र आवश्यक पर्दा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरौँ ।
.सम्भावित खतराका लागि लोकल गाडी र चालकहरुलाई एम्बुलेन्सको रुपमा तयार राखौं :- सबैतिर एम्बुलेन्स प्राप्त नहुन सक्छ । स्थानीय पार्टी, वडाका जनप्रतिनिधिसहित मिलेर कम्तीमा एउटा गाडीलाई एम्बुलेन्सको काम गर्न सक्ने गरी तयारी अवस्थामा राखौँ ।
अन्त्यमा हरेक सङ्कटले हामीलाई सुन्दर समाधान, सद्भाव र भ्रातृत्व प्रदान गरेर जान्छ । कोरोना एक चुनौती भए पनि यसपछि हाम्रो समाजको समग्र मानवीय विकासको गम्भीर परिवर्तनका लागि सम्भावनामा बदल्ने प्रयत्न गरौँ । भौतिक विकासभन्दा मानवीय विकास नै अन्ततः प्रदान रहेछ भन्ने चेत हामी सबैको खुलोस् । शिक्षा, स्वास्थ्य र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी आफ्नै ठाउँमा रोजगारी निर्माण गर्नुपर्ने रहेछ, जसका लागि स्थानीय तहका ८० प्रतिशत बजेट यसैमा खर्च गर्नुपर्ने रहेछ भन्ने चेत सबै जनप्रतिनिधिमा जगाउन एक जुट होऔँ । सामाजिक दूरी कायम राखौँ । कोभिड–१९ विरुद्ध विजय गरौँ ।

प्रतिक्रिया दिनुहोस्