२०८१ माघ २४
                           

बोधिसत्व स्तुपाको प्राण प्रतिष्ठा गरियो

लिसंखु- सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– २, मा रहेको बोधिसत्व स्तुपा (झ्याङछ्युब छ्योर्तेन) को प्राण प्रतिष्ठा (ह्राप्ने) गर्ने कार्य सम्पन्न भएको छ ।

बौद्ध धर्मका गुरु यिस्हे स्हाङपो रिन्पोर्छेको बाहुलीबाट प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न भएको हो । झ्याङछ्युब छ्योइलिङ गोन्पाद्धारा निर्मित छ्योर्तेनको औपचारिक उद्घाटन बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले शिला अनवरण र दीप प्रज्ज्वलन गरी गरेका थिए । भूकम्प प्रतिरोधात्मक नव निर्मित ४८ फिट उचाइमा रहेको झ्याङछ्युब छ्योर्तेनको उद्घाटन गर्दै मन्त्री नेपालले सरकार र जनता संगसंगै हिँडे मात्र देश बन्ने बताए ।

भूकम्पपछि लिसंखुका स्थानीयले आफ्नो खर्च कटौती गरेर बौद्ध धर्मको धरोहरलाई पुनः उभ्याएकोकमा प्रशंसा गर्दै मन्त्री नेपालले गुम्बा पुनर्निर्माणमा योगदान पु¥याउने सबैलाई धन्यवाद दिए । ‘गुम्बा पुनर्निर्माण भईसकेकाले अब लिसंखुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक छ’, उनले भने– ‘जसले गर्दा स्थानीय युवाहरुको लागि रोजगारीको व्यवथासँगै आम्दानीको स्रोत थपिन्छ ।

कार्यक्रममा लिसंखुपाखर गाउँपालिका प्रमुख कमल नेपाल, उप–प्रमुख हेमगंगा मोक्तान, लिसंखुपाखर गाउँपालिका वडा– २ का अध्यक्ष हस्तबहादर लामा, छ्योइफेल कुन्देलिङ गोन्पाका सचिव बुद्ध योन्जनलगायतले शुभकामना मन्तव्य मन्तव्य राखेका थिए । छ्योर्तेन पुननिर्माणमा सहयोग पु¥याउने सम्पूर्णलाई सम्मानपत्र, दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रमपछि भने स्थानीय लामाहरुले भाक्पा छ्याम (लामा नाँच) प्रस्तुत गर्नु भएको थियो । लिसंखुमा रहेको ङ्याङ्जो थरी तामाङ समदायले २०५४ सालमा ३२ फिट उचाइमा निर्माण शुरु गरी २०५६ मा ह्राप्ने (प्रतिष्ठा) सम्पन्न गरेको उक्त स्तुपा २०७२ को महा भुकम्पले पूर्ण रुपमा क्षति पुर्याएको थियो । त्यसलाई पुनः २०७४ मा शुरुगरी २०७६ मा छ्योर्तेन निर्माण सम्पन्न भएको हो ।

झ्याङछ्युब छ्योइलिङ गोन्पाद्वारा निर्मित उक्त छ्योर्तेन ५२ लाख ५६ हजार ६ सय ९० रुपैयाँ लगानीमा पुनःनिर्माण भएको झ्याङछ्युब छ्योइलिङ गोन्पा समितिका अध्यक्ष सरोज लामा (ङ्याङ्जो) ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्