२०८१ श्रावण १२
                           

‘लोसारलाई सबैको साझा पर्व बनाउनुपर्छ’

बाह्रबिसे नगरपालिका वडा नं. ६ मान्द्रामा जन्मिएका आङदोर्जे शेर्पा युवा व्यवसायी हुन् । ३१ वर्षमै उनी गनिने मध्येका सफल व्यवसायी हुन् । शेर्पा नेपाल शेर्पा संघको बाह्रबिसे नगरपालिका अध्यक्ष पनि हुन् । व्यापार –व्यवसायको अलवा सामाजिक काममा पनि शेर्पाले हात हालेका छन् । खासगरी उनले खेलकूद, गुम्बा निर्माण र विभिन्न समाजसेवाको काममा चासोपूर्वक काम गरेका छन् । शेर्पासँग सञ्चारकर्मी रामकृष्ण थापाले गरेको कुराकोनी अंशः

१.लोसार भनेको के हो ?
लो भनेको वर्ष र सार भनेको नयाँ हो । यसको अर्थ नयाँवर्ष हो । अहिले हामी २१४७ औं ग्याल्बो लोसार मनाउने क्रममा छौं । तिब्बत भाषामा ग्याल्बो भनेको राजा हो । बिगतमा राजाले मनाउने गरिएको थियो । विस्तारै यो आम भएको छ । राजाबाटै नयाँ वर्षको पर्वलाई भव्य रुपमा मनाउने चलन थियो । अहिले त्यसैको यो एउटा साँस्कृतिक रुप हो ।

२.यो कुन समुदायले मनाउने पर्व हो ?
ग्याल्बो लोसार चीनको स्वशासित क्षेत्र तिब्बतमा भव्य रुपमा मनाउने चलन छ । हाम्रो देशमा चाहिँ हिमाली क्षेत्रमा बस्ने शेर्पा समूदायले ग्याल्बो लोसार मनाउँछन् । शेर्पा समूदायको सबैभन्दा महत्वपूर्ण चाड हो ।

३.कसरी मनाउने गरिन्छ ?
ग्याल्बो लोसार यसपाली फागुन १२ बाट सुरु भयो । लोसार आउनु केही दिनअघि घर र गाउँमा रहेको फोहर जम्मा गरेर दोबाटोमा मिल्काइन्छ । लोसार सुरु हुनुभन्दा ठीक एक दिन अगाडि परिवार भेला भएर गुदुक (नौ थरी चीज मिसाएर बनाएको विशेष खानेकुरा) खाइन्छ । लोसार सुरु भएपछि घरमा पूजाआजा गरिन्छ । पूजामा खाप्से, फलफूल चढाइन्छ । धर्मगुरुकहाँ गएर आशीर्वाद लिने र घरको परिवार जम्मा भएर खाप्से, छ्यांगुल, डेसिल खाइन्छ । सुरुको दिनलाई छेपाचिक पनि भनिन्छ । शेर्पा ड्रेस केटाले लगाउने छुबा र खेन्जब र केटीमा विवाहितले लगाउने आङ्दुङ र पाङ्दे अनि अविवाहितले लगाउने आङ्दुङ प्रशिद्ध छ । शेर्पाले तीन दिन लोसार विशेष रुपमा मनाउँछन् । तर, लोसार १५ दिनसम्म चल्छ । दोस्रो दिन परिवार सबै भेला भएर टीका लगाउने, आशीर्वाद ग्रहण गर्ने र खानपान गर्ने प्रचलन छ । तेस्रो दिन छरछिमेककहाँ जाने चलन छ । मौलिक कपडा लगाएर गुम्बामा लाप्सो जाने चलन छ ।

४.कुन–कुन मितिमा ल्होसार पर्छ ?
ग्याल्बो, सोनाम र तमु लोसार हुन् । सबैभन्दा पहिला गुरुङ समूदायको तमु लोसार मनाइन्छ । त्यसपछि सोनाम लोसार आउँछ । यो खासगरी तामाङ समुदायले मनाउँछ । र ग्याल्बो लोसार हिमाली क्षेत्रका शेर्पाले मनाउँछन् ।

५.शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार र चीनको तिब्बती समुदायले मनाउने ग्याल्बो लोसारमा के फरक छ ?
तिब्बत र नेपालको पात्रोअनुसार ठ्याक्कै मिलेकोले एकै समयमा पर्छ । तिब्बत र शेर्पा समुदायले मान्ने पर्वमा फरक छैन । तिब्बतकै संस्कृतिलाई हिमाली भेगका मानिसले मानेको हाम्रो इतिहास हो । एउटा कुरा ठाउँ विशेषमा आ–आफ्नै मौलिकता हुने भयो । तरपनि तिब्बती र शेर्पा समुदायबीच धेरै विषयमा समानता छ ।

६.सिन्धुपाल्चोकमा शेर्पा समूदाय कहाँकहाँ बस्छन् ? जीवन अवस्था कस्तो छ ?
भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, जुगल गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, चौतारा साँगाचोकगढी नगर, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थांपाल गाउँपालिकाभित्र शेर्पा समुदायको बस्ती छ । शेर्पाहरुको जीवन अवस्था राम्रो छ । शेर्पाहरु प्राय व्यापार व्यवसायमा जोडिएका छन् । हिमालमा बस्ने शेर्पा चौँरी पाल्ने, कृषिसँग जोडिएका छन् । कतिपय शेर्पा पर्यटन र निर्माण व्यवसायमा पनि छन् । शेर्पा समूदायको जीवनस्तर रहरलाग्दो छ । समृद्ध छन् शेर्पाहरु ।

७.तपाइँहरुले ल्होसारलाई औपचारिक रुपमा पनि मनाउँदै हुनुहुन्छ कि ?
२१४७ औं च्या फो जिवा लो, मुसा वर्षको अवसरमा बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारमा भव्यरुपमा फागुन २० गते औपचारिक कार्यक्रम गर्दैछौं । यो चाहिँ शेर्पा समूदाय मात्रैलाई होइन, अन्य समूदायलाई पनि निमन्त्रणा गरिएको छ । सबैबीच माया र सद्भाव बाँड्ने कुरा नै हो । मेयर निम्फुञ्जो शेर्पासहित अरु अतिथि पनि कार्यक्रममा आउँदैहुनुहुन्छ । नगरका सबै जनप्रतिनिधि, शेर्पा संघका प्रतिनिधि, लामा गुरुहरु, नगर र आसपासका सबै समूदायलाई निमन्त्रणा गरिएको छ ।

८.के–के गरिन्छ त्यो दिन, कार्यक्रम कस्तो हो ?
आफ्नै मौलिकतालाई प्रदर्शन गर्ने हो । शेर्पा जातिको संस्कृति र संस्कारको रक्षाका लागि आफ्नै ड्रेस लगाउन अनिवार्य गरिएको छ । ६ जनाको सिल्बा टिमले मौलिक नाँच गर्छ । चार जनाको हातमा याकको पुच्छर, एक जनाको हातमा तरबार र एकजनाले बोक्चेल बजाएर सिल्बा नाँचबाट अतिथिलाई स्वागत सत्कार गरिन्छ । १० जनाको टिमले स्याबु्र नृत्य गर्ने कार्यक्रम छ । यसमा सबै वडाबाट प्रतिनिधित्व हुन्छ । बच्छे बाजा बजाइन्छ । विभिन्न कलाकारले गीत तथा संगीत प्रस्तुत गरिन्छ । शेर्पा कलाकारहरु डोमा हेल्मु, सशीकला मोक्तान, तेम्बो लामा, बोन्पो शेर्पा, छिरिङ शेर्पा लगायतले कला प्रस्तुत गर्छन् । बेलुका ङवाङ शेर्पाको संयोजकत्वमा डिजे प्रोग्राम हुन्छ । नेपाल शेर्पा संघ बाह्रबिसे कार्यसमितिलाई कार्यक्रम आयोजना गरेवापत प्रमाणपत्र दिने हो । शेर्पा भाषामै एउटा क्यालेन्डर बनाइएको छ । त्यसमा पर्यटकीयस्थलको चर्चा गरिएको छ । त्यो भित्तेपात्रो सबैलाई बाँडिन्छ । बाह्रबिसे नगरभर यो बाँडिन्छ ।

९.हिन्दु पर्व दसैं, तिहार र छठलाई पनि शेर्पा समुदायले मनाउने गर्छ कि ?
हिन्दु परम्परामा रहेका चाँडपर्व पनि हामीले मनाउँछौं । तर, लोसारजसरी होइन । सबै धर्म र संस्कृतिलाई हामीले मानेका छौं । दसैं, तिहार र छठ पनि हाम्रै पर्व हुन् ।

१०.सबै ल्होसारलाई एउटै बनाउन सकिँदैन ?
यो चाहिँ बहसको कुरा हो । तर, पुर्खाको परम्परा यसैमा छ । हामीले एउटै लोसार मनाउँ भनेर आवाज उठाइरहेका छौं । यो विषयमा धेरै विज्ञ र धर्मगुरुहरुले पनि आआफ्ना धारणा राख्ने गरेका छन् । भविश्यमा लोसारलाई एउटै बनाउन पहल हुन्छजस्तो लाग्छ ।

११.ल्होसार पर्वको बेला तीन दिन बिदा माग्नुभएको छ । वागमती प्रदेशले के भन्यो ?
हाम्रो देश सबै जातजातिको साझा फूलबारी हो । यही कुरा दर्शाएर हामीले वागमती प्रदेशलाई विशेष अनुरोध गरेका छौं । केन्द्रीय सरकारले एक दिन विदा पनि काटेर हामीलाई अन्याय गर्यो भन्यौं । तर, प्रदेश सरकारले शुभकामनामा टारेर विदा दिएन । नेपाल शेर्पा संघका वागमती प्रदेश अध्यक्ष आङछिरी शेर्पाले प्रदेशमा गएर ज्ञापनपत्र बुझाउनुभयो । त्यहीअनुसार हामीले सबै तहमा परिपत्र गरेका थियौं । बाह्रबिसे नगरपालिकाले हाम्रो अनुरोधलाई स्विकारेर एकदिन विदा दिएको छ । यसप्रति नगर परिवारलाई धेरै धन्यवाद दिन चाहन्छु । छेवाचिक, छेवाङि र छेवासुङ तीन दिन विदा नदिँदा शेर्पा समुदायको बालबालिका र सरकारी सेवामा रहेकालाई अन्याय भएको छ । चाडपर्व मनाउन विदा नभएकोले उनीहरु विद्यालय र जागिरमा जानुपर्ने अवस्था छ । यसप्रति सबै पक्षको ध्यान जाओस् भन्ने मेरो विनम्र आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्