२०८१ श्रावण १२
                           

९० प्रतिशत चिनियाँ स्याउ खासाबाट

९० प्रतिशत चिनियाँ स्याउ खासाबाट

तातोपानी/  १५ जेठदेखि पुनःसञ्चालनमा आएको तातोपानी नाकामा व्यापारिक गतिविधि बढेको छ । चीनको मेनल्याण्ड टियानसुईबाट आउने विभिन्न जातका स्याउ ठूलो परिमाणमा खासा हुँदै काठमाडौं आएको हो । डेलिसियस, झोले, फुजी र नासपाती जातका चिनियाँ स्याउ नेपाल भित्रिन्छन् । टियानसुईको स्याउ १० दिनमा काठमाडौ आइपुग्छ ।
लामो समयदेखि खासा व्यापार गर्दै आएका स्याउ व्यापारी फुनु शेर्पाले दिएको जानकारीअनुसार टियानसुईबाट तिब्बतको ल्हासा, न्यालम हुँदै खासा आइपुग्ने स्याउको परिमाणमा बृद्धि भएको छ । स्याउको ९० प्रतिशत आयात खासाबाट भइरहेको शेर्पाले बताए ।
खासाको भ्यान पार्किङमा भौगोलिक समस्या छ । व्यापारिक एजेन्ट पनि छैनन् । तर, स्याउ व्यापार भने यहीँबाट भइरहेको छ । स्याउको निकासी कर (स्याङ्जे) खासामा हुँदैन । चिनियाँ भन्सार अधिकारीले स्याउको निकासी राजस्व केरुङमै असुलेर चाइनिज स्याउ (फिङ्गो) बोकेर टियानसुईबाट सिँगात्से आइपुगेको चिनियाँ टेलरलाई सिधै खासा जाने अनुमति दिन्छन् । ४० फुटे टेलरले तीन हजार कार्टुन स्याउ बोकेर खासा आइपुग्छ । काठमाडौंबाट खासा (जाङ्मुपोर्ट) पुगेको नेपाली कन्टेनर भ्यानले तातोपानी भन्सारमा स्याउ ल्याउँछन् । एउटा कन्टेनरले एक हजार कार्टुन स्याउ बोक्छ । ७० हजार भन्सार राजस्व तिरेपछि पाँच घण्टामा काठमाडौं आइपुग्छ ।
तातोपानी नाका बन्द हुँदा स्याउ बोकेर केरुङबाट काठमाडौं आइपुगेको कन्टेनरलाई एक लाख भाडा दिनुपथ्र्यो । खासाबाट अहिले काठमाडौंसम्मको भाडा ५० हजार छ । छिटो र सस्तो भएकोले स्याउ व्यापारीको रोजाइमा तातोपानी नाका परेको हो । भाडादर घटेको र कन्टेनरमा सिण्डिकेटको अन्त्य भएकोले चिनियाँहरुले मनाइरहेको नयाँ वर्ष ( स्प्रीङ फेस्टिभल ) पछि खासा व्यापारमा बृद्धि हुने तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । मध्यजेठबाट नाका खुलेको भएपनि २० असारबाट स्याउ आयात सुरु भएको थियो । सिजनमा दैनिक ३० कन्टेनर स्याउ तातोपानीबाट काठमाडौं भित्रिन्छ । जाडो महिनामा भने दैनिक १५ कन्टेनरमात्रै स्याउ आयात हुन्छ । कोदारीस्थित खाद्यवस्तुको परीक्षण गर्ने प्लान्ट क्वारेन्टाइन कार्यालयमा सशस्त्र प्रहरी बस्ने गरेकोले क्वारेन्टाइनकै कर्मचारी कहिल्यै बस्दैनन् । खाद्यवस्तुको परीक्षण गर्न समस्या परेको स्याउ व्यापारीले गुनासो गरेका छन् । चीनको बुहान सहरमा फैलिएको एन कोरोना भाइरसले सयौंको ज्यान गएकोले त्यसको नियन्त्रण नभएसम्म नेपालसँगका दुई प्रमुख नाका तातोपानी र रसुवागढी भन्सारबाट कारोबार बन्द हुने तातोपानीका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्