२०८१ श्रावण १२
                           

आवासीय विद्यालय बनाउन भलिबल प्रतियोगिता

विजयीलाई १ लाख ११ हजार, ९ टीम सहभागि

चौतारा– कालिकादेवी माध्यमिक विद्यालयले चौतारा साँगाचोकगढी नगरपालिकाकै पहिलो आवासीय विद्यालय बनाउने उद्देश्यका साथ पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका– ४ मा रहेको विद्यालयले संस्थापकहरुको नाममा गर्न लागेको नगर तथा गाउँपालिका स्तरीय कालिकादेवी संस्थापक स्मृति कप पुरुष भलिबल प्रतियोगिताको सबै तयारी पूरा भएको जनाईएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिं तामाङले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका हुन् । उनका अनुसार जिल्लाका ९ वटा पालिकाले प्रतियोगितामा सहभागि जनाएका छन् ।

असोज १२ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन संघीय सांसद् अग्निप्रसाद सापकोटाले गर्ने तय भएको आयोजकले जनाएको छ । असोज १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनीक गरिएको छ । जिल्लाकै ठूलो राशी मानिएको प्रतियोगितामा प्रथम हुने टीमले १ लाख ११ हजार १ सय ११ रुपैंया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टीमले ५५ हजार ५ सय ५५ र तेस्रो हुने टीमले २२ हजार २ सय २२ रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीहरुलाई प्रत्येक खेलमा ट्रफी र सर्वोकृष्ट खेलाडीलाई कालिका स्टार ट्रफीबाट सम्मान गरिने खेल संयोजक राजेश सापकोटाले जानकारी दिए ।

चौतारा साँगाचोकगढी नगरपालिका, वडा कार्यालय र पूर्व विद्यार्थीहरुको सहयोगमा प्रतियोगिता गर्न लागिएको विव्यस अध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार १० लाख सहयोग उठ्ने अनुमान गरिएको छ । जसमध्ये ५ लाख प्रतियोगितामा खर्च हुने अनुमान गरिएको छ । बाँकी रकम आवासीय विद्यालय निर्माणमा खर्च गरिने उनले जानकारी दिए । आगामी शैक्षिक सत्रबाट आवसीय विद्यालय बनाउने लक्ष्य राखिएको तामाङको भनाई छ । प्रतियोगितालाई भव्य र सभ्य तवरले सम्पन्न गर्न आयोजकले सबैलाई आग्रह गरेको छ ।

हेर्नुहोस् खेल तालिकाः

प्रतिक्रिया दिनुहोस्