२०८१ श्रावण १२
                           

बतासेमा नि:शुल्क पशु शिविर

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ बस्ने रोहित थापा आफ्नो गाई भैँसी कुखुरा, बाख्राको संख्या टिपाउँदै केहि भिटामिन र औषधि बोकेर बाहिर निस्किए । गाउँमा नै पशु स्वास्थ्य शिविर बसेर निशुल्क औषधि, भिटामिन, रेविज भ्याकसिन तथा बोका बन्ध्याकरणको सुविधा प्राप्त गर्न पाएको खुसी उनको अनुहारमा प्रष्ट झल्किएको थियो । केहि दिन पहिले देखि औषधि किन्न जाने सोचमा रहेको भए पनि गाउँमा नै पशु स्वास्थ्य शिविर बसेपछि चौतारा वा जलविरे जाने झन्झट टरेको उनले बताए । उनले आफ्नो घरमा १४ वटा बाख्रा ३ वटा गाई गोरु १ वटा भैँसी र ९० वटा कुखुरा पालेका छन् । यी पशुपंक्षिहरुलाई नियमित भिटामिन तथा औषधिको सेवन गराइरहनुपर्छ । यो समयको औषधि सेवन गराउने बेला हुँदै गर्दा जनहित ग्रामिण सेवा समितिले गाउँमा नै निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेकोमा दंग थिए उनी ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ बतासेमा जनहित ग्रामिण सेवा समितिले कारितास जर्मनी र कारितास नेपालको सहयोगमा एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरेपछि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ र ३ बतासेका १५३ कृषक लाभान्वित भएका छन् । जनहित ग्रामिण सेवा समितिले सञ्चालन गरेको जीविकोपार्जन र खानेपानी सरसफाइ तथा स्वच्छता पुनस्र्थापना परियोजनाको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरीएको थियो ।
शिविरमा सहभागी वडा सदस्य रेशम ढुङ्गानाले यस किसिमको शिविर समय समयमा आयोजना गर्नुपर्ने बताएका थिए । गाउँमा नै निशुल्क शिविर सञ्चालन गरिँदा जनचेतनामा पनि बृद्धि हुने उनले बताए ।
पशु स्वास्थ्यमा जनचेतना अभिबृद्धि गर्नका लागी पशु स्वास्थ्य शिविरलाई सरकारले पनि प्रमुख प्राथमिकतामा राखी नियमित रुपमा सञ्चालन गर्नुपर्ने र पशु बिमाको आवश्यक निति तर्जुमा गरी व्यवस्था गर्न सके कृषकहरुलाई सहयोग पुग्ने विश्वास यस परियोजनाका परियोजना संयोजक रोहित शर्माले जानकारी दिएका थिए ।
शिविरमा १५८ वटा गाई गोरु, १९ वटा खरायो, १२८६ वटा बाख्रा, ११८३ वटा कुखुरा, ३४ वटा कुकुर, १५८ वटा राँगा भैँसीको लागी औषधि वितरण गरीएको थियो भने ५ वटा कुकुर १ वटा विरालोलाई रेविज विरुद्धको सुई हानीएको थियो र १२ वटा बोका खसी पारिएको थियो ।
जनहित ग्रामिण सेवा समितिले समय समयमा विभिन्न ठाउँहरुमा यस किसिमको निशुल्क पशुस्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्