२०८२ कार्तिक २

संकटमा चौँरी पालन

हिमाली भेगको परम्परागत पेशा चौँरी पालन व्यवसाय संकटमा परेको छ । पुख्र्यौली पेशा संकटमा परेपछि सिन्धुपाल्चोक, रसुवा र दोलखाका लेकाली वासिन्दा चिन्तित भएका छन् ।
चौँरी पालन व्यवसायलाई सरकारले वास्ता नगरेकोले पेशा नै धरापमा परेको २० वर्षदेखि छुर्पी व्यवसाय गर्दै आएका जुगल गाउँपालिका क्याङ्सिङ निवासी फुर्पा शेर्पाले गुनासो गरे । ‘हिमाली क्षेत्रमा चौँरी नै लोप हुने अवस्थामा पुगेको छ’ उनले भने, ‘यही अवस्था रहने हो भने केही वर्ष भित्र चौँरी देख्न पाइने छैन ।’ पहिला वार्षिक ४० हजार केजी छुर्पी बेचेको भएपनि दुई वर्षयता जम्मा पाँच हजार केजी मात्रै बेचेको उनले सुनाए ।
१० वर्षअघि क्याङ्सिङ्मा ३० गोठ चौँरी थिए । अहिले जम्मा तीन गोठ छन् । छगाङ र बगाङ गाउँमा मात्रै पाँच हजार चौँरी र याक थिए । अहिले एक सय जति छन् । ‘१५ वर्षअघि छोराछोरीलाई अंश र दाइजो नै चौँरी गोठ दिने गरिन्थ्यो,’ भोटेकोसी गाउँपालिका जनप्रतिनिधिसमेत रहेका लिस्ती छगाङका सानोकान्छा शेर्पाले भने ।
यस्ता छन् चौँरी घट्नुका कारण
दश वर्षअघि सिन्धुपाल्चोकमा मात्रै एक लाख चौँरी र याक थिए । तर, अहिले मुश्किलले एक हजार जति छन् । सिन्धुपाल्चोक, रसुवा र दोलखाको हिमाली भेगमा बसोबास गर्ने स्थानीय वर्षेनी घट्दै गएका छन् । चौँरी पालनबाट मनग्ये आम्दानी गर्ने स्थानीय हिमालबाट बेँसी र सहर झरेका छन् । हिमाली बस्तीमा याक र गाई पाल्ने मानिस छैनन् ।
याक र गाईको संसर्गबाट चौँरी र जोप्क्यो जन्मन्छन् । चौँरीको दूधबाट चिज र छुर्पी बन्छ । जोप्क्योलाई चीनको तिब्बतमा बिक्री गरिन्थ्यो । तर, जोप्क्यो लान चीनले प्रतिबन्ध लगायो । नेपालमा खोरेत रोग उन्मुलन नभएकोले पशुजन्य पदार्थ निकासीमा चीनले प्रतिबन्ध लगाएको थुप्रै वर्ष बितेको छ । जोप्क्यो बेचेर आउने आम्दानी शून्य भएपछि चौँरी पालन व्यवसाय घट्दै गयो । लेकबेँसी दुवै क्षेत्रमा गाई र भैँसीको छुर्पी बनाउन थालेकोले चौँरी व्यवसायलाई असर गरेको हो । गाई भैँसीको दूधबाट छुर्पी तयार पारेर अमेरिका र युरोप निकासी हुन थालेपछि चौँरी पाल्ने मानिस हिमालबाट सहरबजारतिर झरेका हुन् । सिन्धुपाल्चोकको जुगल, भोटेकोसी, हेलम्बु गाउँपालिकामा न्यूनमात्रामा चौँरी गोठ रहेका छन् । रसुवाको गोसाइँकुण्ड, आमाछोदिङ्मो, दोलखा जिल्लाको जिरी, चंखु र गौरीशंकर क्षेत्रमा चौँरी पालन व्यवसाय गरिन्छ । तर, सरकारी बेवास्ताका कारण चौँरी नै लोप हुने अवस्थामा पुगेको छ । दुई वर्षअघि एक केजी छुर्पीको मूल्य एक हजार थियो । अहिले सात सयमात्रै आउँछ । चौँरीको छुर्पी भन्दै गाईभैँसीबाट उत्पादित छुर्पीले बजार लिएपछि छुर्पीको भाउ घट्यो । तर, हिमाली क्षेत्रमा चौँरी लोप हुँदै गएकोले याक र चौँरीको भाउ आकासिएको छ ।

प्रतिक्रिया दिनुहोस्