सिन्धुपाल्चोक जिल्लाकै ठूलो मेला गौराती भिमसेनको मेला मंगलबारबाट शुरु हुन लागेको छ । हरेक वर्ष कात्तिक पुर्णीमाको दिन शुरु हुने मेला पञ्चमीसम्म लाग्नेछ । विसं २०५३ सालमा पुनः निर्माण गरी तत्कालीन राजा स्व वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भको अनावरण गरिएकाले पनि यो मन्दिर चर्चामा रहेको छ ।
चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौंराति मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि प्रतिपदाको दिन पुनः फर्काइने प्रचलन १२ सय वर्षदेखि चलिआएको विभिन्न प्रमाणहरुले देखाउँछन् ।
मन्दिरमा पीपलडाँडाका दलबहादुर कँुवर नामक व्यक्तिले सो मन्दिरमा विसं १६४२ मा चढाएको ढलौटको घन्टा हालसम्म रहेको आधारमा ४२५ वर्ष पहिलेदखि मेला लाग्दै आएको स्पष्ट हुन आउँछ ।
गौराती मन्दिरमा भाकल अनि पूजा आजा गरेमा आफ्नो मनोकांक्ष पूरा हुने विश्वासकै कारण यहाँ जिल्लाबाहिरबाट पनि भक्तजनहरु आउने गरेको गौरती मन्दिरका पुजारी बलबहादुर श्रेष्ठले बताए । ‘मेलाको अवसरमा मात्रै नभई अन्य समयमा पनि छिमेकी जिल्ला दोलखा, काभ्रे, रामेछाप, रसुवा, नुवाकोटलगायत काठमाण्डौ उपत्यका र तराईबाट पनि भक्तालुहरु आउने गरेका छन् ।’ श्रेष्ठले भने –‘ मेलामा पूर्णिमाको रात चौतारास्थित भीमेश्वरको मन्दिरबाट भीमसेनको मूर्तिलाई रथमा राखि बाजागाजासहित गौराति मन्दिर पु¥याई त्यहाँको भीमेश्वरसँग मिलन गराउने गरिन्छ र भोलिपल्ट साँझमा सो मूर्तिलाई पुनः रथमा राखि चौतारामा नै फर्काउने गरिन्छ ।’
सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तर–पश्चिममा पर्ने मन्दिरमा चौताराबाट रमणिय पर्यटकीयस्थल दाह्रेगौडा, पात्लेपानी हुँदै गौराति पुग्न सकिन्छ । यही मार्ग हुँदै रथ पनि लगिन्छ । एक किलोमिटर बजारसहित सम्भवतः एउटा मन्दिरबाट अर्काे मन्दिरसम्म बोकेर रथ लैजाने नेपालमै लामो दुरी हो ।
पौराणिककालमा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखापर्नुका साथै दिव्यस्वरुप भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्तध्र्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको एक स्थानीयले बताए । ‘गौ अर्थात् गाईले राति दूध चढाएको कारण गौरति र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ ।’ उनले भने –‘मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनुका साथै नाचगान गरेर भक्तालुहरु रातभर जाग्राम बस्छन् भने मन्दिरमा मेलाअवधिमा करिब पाँच हजार पशुपंक्षीको बली चढाइन्छ ।’
मन्दिरमा दर्शन गरेपछि आफुले मागेको बरदान प्राप्त हुने र व्यापार व्यवसाय समेत राम्रो हुने भएकोले आफुहरु यहाँ आउने गरेको पर्यटकहरु बताउछन् ।
समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम डाँडाबाट विभिन्न दृश्यावलोकन हुने हँुदा आन्तरिक तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गएको छ । यसमा स्थानिय सरकारले महत्वपुर्ण भुमिका खेलि रहेका छन् ।
जुगल हिमश्रृंखला र गौरीशंकर हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्न सकिने थुप्रै आधारहरु छन् । पर्यटन विकासका लागि गौराती विकास समाज र गौराती युवा समूहले बेलाबेलामा भने विविध कार्यक्रम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिका –६ का वडाध्यक्ष तोकबहादुर तामाङ बताउछन् । ‘जिल्लाकै प्रमुख धार्मिक पर्यटकीयस्थल भएकाले यसको प्रचारप्रसार अझै हुन सकेको छैन’ वडाध्यक्ष तामाङ भन्छन् –‘सरोकारवालाले चासो पु¥याएर मन्दिरको संरक्षणका साथै पर्यटन प्रवद्र्धनका लागि भूमिका निर्वाह गरे चौतारा अनि गौरातिको मात्रै नभई सिंगो सिन्धुपाल्चोकको आर्थिक र पर्यटकीय समृद्धिको ढोका खुल्नेमा निश्चित छ ।’
प्रतिक्रिया दिनुहोस्