२०८१ आश्विन २६
                           

दृष्टिविहिन विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री प्रदान

चौतारा- नेपाल नेत्रहिन संघ सिन्धुपाल्चोक परियोजनाले जिल्लाभरका १६ जना दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

अध्ययनमा टेवा पुर्याउने हेतुले विहीबार परियोजनाले दृष्टिविहिन विद्यार्थीहरुलाई जनही ३ सय सीट ब्रेल पेपर, १ थान स्लेट र १ थान स्टाईलस प्रदान गरेको हो । ‘विद्यार्थीहरुको शिक्षणमा टेवा पुगोस् भन्ने हेतुले हामीले दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै आएका छौं’, परियोजना सञ्चालन समितिका अध्यक्ष सोमकुमार दुलालले भने– ‘हाम्रो सानो सहयोगले पनि उहाँहरुको शिक्षामा ठूलो सहयोग पुगेको छ ।’ दृष्टिविहिन विद्यार्थीहरुलाई छात्रवृत्ति समेत परियोजनाले प्रदान गर्दै आईरहेको उनले जानकारी दिए । ‘हामीले जिल्लाका ५ दृष्टिविहिन विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिरहेका छौं,’ दुलालले भने ।

सिन्धुपाल्चोक नेत्रहिन संघका उपाध्यक्ष बलराम शाहले दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु खुसी भएका छन् । ‘यी शैक्षिक सामग्री हामीलाई निकै महत्वपूर्ण छन्,’ वनदेवी माविमा कक्षा ७ मा अध्ययनरत रिकेश बुढाथोकीले भने– ‘उहाँहरुले गरेको सहयोगले हामीलाई निक्कै खुसी बनाएको छ ।

सन् २०१६ बाट परियोजना सञ्चालन भए यता दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिरहेको कार्यक्रम संयोजक मणिसुन्दर कोईरालाले जाननकारी दिए । परियोजनाले दृष्टिविहिनहरुको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन लगायतको क्षेत्रमा काम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्