२०८२ बैशाख १८
                           

कविता: हर्कबहादु

  • लक्ष्मी सेवा

आज म उनीहरुको कथा भन्छु–

ऊ किसान हो
प्रेम गर्छ हलो, जुवा, कोदालीसँग
बिहान सूर्योदयदेखि बेलुकी सूर्यास्तसम्म
खेलीरहन्छ यिनीहरुकै साथमा ।

च्यातिएको दौरा, फाटेको चप्पलसँग
जिन्दगी साटिरहेको हर्कबहादुर
लाग्छ कुनै लाहुरे भन्दा कम छैन
र कम छैन उसको स्वाभिमान

असार सधैं उसैलाई खोज्छ
र खोज्छन् रोपारहरु पनि उसैलाई
ठीक आज
उसैगरी दुई आँखाले उसलाई पछ्याएको छ
सुन्तोलीका आँखा ।

मुखिया पण्डितको एक्लो छोरो– हर्क
तल्ला घरे दर्जिकी छोरी– सुन्तोली
प्रेम छ यी दुईको, निश्चल प्रेम
र उसले सुन्तलीलाई मनभरी सजाएको छ
सपना देखेको छ जनम् जनम्को ।

तर उसको पछाडि अँध्यारो छाँयामा
चिहाईरहेछ उसलाई समाज
उसैगरी डरलाग्दो मुकुण्डोमा
र प्रहार गरिरहेछ उनीहरुको प्रेमलाई

एकदिन–
समाजको कालो मुखले
उनीहरुको प्रेमको बली माग्छ
र माग्छ कुलको इज्जत, प्रतिष्ठाको टालो
भीडाउँछ छुत, अछुतको पगरी
पगरीमा थपक्क आफ्नो स्वाभिमान राख्न खोज्छ ऊ
तर यता,
सुन्तलीको मुटु बाहिर आउन खोज्छ
र खोज्छ उसको पेटको एउटा भ्रुण
तुच्छ संसार हेर्न,
जब भविश्यका बाटोहरुमा पर्खाल लाग्छ
जब सामुन्नेको बाटो अन्तिम विन्दूमा टुंगिन्छ
जताततै अँध्यारो देख्छे सुन्तली
र रोज्छे अँध्यारैको बाटो
जुन बाटोबाट सजिलै पुगिन्छ मृत्युसम्मुख ।

केहि दिन पछि–
‘हर्केले सुन्तलीलाई भगायो रे !’
खबर उड्छ तुवाँलोसरी गाउँमा
मेलापातमा, पानी पधेंरोमा
चुला चौकामा, यत्रतत्र

अहिले–
यी प्रेमजोडी
खुसी छन्, मदमस्त छन्
र उनीहरुको खुसीमा साना औंलाहरु पनि छन्
जसको स्पर्शले विर्षाउँछ
दुःखको स्मृतिहरु,
जब बोलाउँछ–
तोतो आवाजमा ‘बाबा–आमा’
संसार आफ्नै हातमा भएजस्तो हुन्छ ।

सुनिन्छ–
मुखिया बा उमेरसँगै पिरोलिदैछन्
उनलाई चिन्ता छ–
शानको, सम्पत्तिको
र सुम्पन खोज्दैछन् आफ्नो शान

भन्दैछन् रे आजकाल गाउँमा–
विभेद गर्न हुन्न, जातपात मान्छेले बनाएका हुन्
जात भनेकै दुई जात हो
र यो पनि भन्दैछन् रे
आखिर छोराको खुशी नै हाम्रो खुशी त हो नि
आज–
माख्लाघरे कटुवाल बा भन्दै थिए
मुखियाले हर्केलाई बोलाएछन्
गाउँका सबैलाई निम्तो छ’रे हर्केको बिहेको
विधीपूर्वक भित्र्याउँछु भन्छन् बुहारी

थाहा पाएँ–
अब छिट्टै हर्केको परियार
भित्रदैछ गाउँ
र उनीहरुसँगै भित्रदैछ समानताको बिहान ।

प्रिय पाठक,
यो हाम्रै बस्तीको कथा हो,
यो हाम्रै समाजको कथा हो,
र यो हाम्रै देशको कथा हो ।

अब कथा सकिएको छ ।
०००

प्रतिक्रिया दिनुहोस्