२०८२ माघ २१

ट्रम्पको आरोप : चुनाव जित्न आफूविरुद्ध महाअभियोग

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी दलका नेताहरुले चुनाव जित्नका लागि आफूविरुद्ध महाअभियोगको जालसाजी गरेको आरोप लगाएका छन् ।

उनले डेमोक्रेटिक सांसदहरुले समृद्धिका लागि आवश्यक कामहरु छाडेर आफूमाथि महाअभियोगको लागि समय खर्चिरहेको भन्दै तिब्र असन्तुष्टि प्रकट गरे ।

उनले डेमोक्रेटिक पार्टीका नेताहरुमाथि अभद्र भाषा प्रयोग गर्दै बेइमानीको समेत आरोप लगाए । डेमोक्रेटिक सांसदहरुमाथि उनले देशद्रोहीको आरोप पनि लगाए । अमेरिकी कांग्रेसमा सांसदहरुको एक समितिले ट्रम्पविरुद्ध लागेको आरोपसँग सम्बन्धित सबै दस्ताबेजको माग गरेको छ ।

ट्रम्पमाथि युक्रेनका राष्ट्रपतिसँग भएको कुराकानीमा एक डेमोक्रेटिक नेता र उनका छोराविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन गर्न दबाब दिएको आरोप लागेको छ । ट्रम्पले भने उक्त आरोपको लगातार खण्डन गर्दै आएका छन् । ट्रम्पविरुद्ध दर्ता भएको महाअभियोगको मामिलामा जाँचबुझ सुरु भइसकेको छ । छानबिनमा ट्रम्प दोषी पाइए उहाँले राष्ट्रपतिको पद गुमाउनुपर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्