२०८१ श्रावण १२
                           

जापानीज ल्याङ्ग्वेज स्कुल एसोसियसन अफ नेपालमा श्रेष्ठ

काठमाडौं-  जापानीज ल्याङ्ग्वेज स्कुल एसोसियसन अफ नेपाल(जाल्सान)को ८औं साधारणसभाले सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न सभाले सर्वसम्वत निर्णय गर्दै झङ्क  लाल श्रेष्ठ अध्यक्ष रहेको १३ जनाको कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको अध्यक्षमा झङ्कलाल श्रेष्ठ (विशाल), प्रथम उपाध्यक्षमा निवेश डंगोल, द्वितिय उपाध्यक्षमा ओमहरि प्रजापती, महासचिवमा रमेश देवकोटा, सचिवमा अरुण पाण्डे, कोषाध्यक्षमा महेश श्रेष्ठ र सदस्यहरुमा ललित सुव्वा, मिना क्षेत्री(महिला) अनिल शर्मा पौडेल, हेमन्त दुलाल, भवनाथ हुमागाईं, मोहन खड्कालाई चयन गरिएको छ । त्यसैगरी पंकज श्रेष्ठ कार्य समिति सदस्यमा मनोनित भएका छन् ।

सभाले दिएको जिम्मेवारीलाई गहन रुपमा लिएको भन्दै नव निर्बाचित अध्यक्ष श्रेष्ठले सबै व्यवसायीको सामुहिक आवाजलाई सम्बोधन गर्न र आइपरेको समस्या समाधान गर्न सबैलाई एकजुट हुन आग्रह गरे । उनले भने– ‘कार्यसमितिको नेतृत्व मैले गरेपनि भोलिका दिनमा जाल्सानमा आवद्ध सबै साथीहरुले आ–आफ्नो ठाउँबाट व्यवसायीक हित प्रवद्र्धनको लागि सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ अध्यक्ष श्रेष्ठ यसअघि जाल्सानको संस्थापक महासचिव हुँदै उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन् ।

त्यस्तै महासचिवमा निर्वाचित रमेश देवकोटाले पनि सबै व्यवसायीहरुको साझा प्रयासबाट सर्वसम्वत रुपमा नयाँ कार्य समिति चयन भएको बताए । उनले भने– ‘सबैको प्रयासले सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । बलियो जाल्सानको लागि सबै सदस्यहरुको भुमिका उत्तिकै महत्वपूर्ण छ । सबैलाई धन्यवाद दिन चाहान्छु ।’ देवकोटा यसअघि पनि जाल्सानको महासचिवमा नै रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन् ।

त्यस्तै संस्थागत रुपमा महेश श्रेष्ठले कोषाध्यक्षको पद सम्हाल्ने जिम्मेवारी पाएका छन् । उनले कोषलाई बलियो र पारदर्शी बनाउन सबैको निरन्तर साथ सहयोग पाइरहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्