२०८२ असार २
                           

तातोपानी नाका खुलेसँगै बढ्यो चहलपहल

तातोपानी, १० असोज । एक सातादेखि अवरुद्ध रहेको सिन्धुपाल्चोकको तातोपानी नाका आजदेखि  सञ्चालनमा आएको छ । निरन्तरको वर्षाको कारण चीनको रमिते भन्ने ठाउँमा सडक भत्किएपछि एक सातादेखि सडक अवरुद्ध भएको थियो ।

अध्यागमन कार्यालय तातोपानीका प्रमुख रामचन्द्र काफ्लेले  चिनियाँ अध्यागमन कार्यालयले शुक्रबार (आज)देखि नाका सञ्चालनमा आएकाे बताए । चिनियाँ पक्षले सुरुमा तीन दिनमा सडक मर्मत भइसक्ने जानकारी गराए पनि मर्मतका लागि ६ दिन लागेको प्रमुख काफ्लले जानकारी दिए। काफ्लेका अनुसार खासा क्षेत्रमा पानी धेरै परेको कारण सडक मर्मत गर्न ढिला भएको चिनियाँ पक्षले जानकारी दिएका थिए ।

नेपालीहरुको महान चाड दसैंको मुखमा नाका अवरुद्ध हुँदा चीनबाट आयात गरिने सामान समयमै ल्याउन नपाएको व्यवसायीहरुले बताएका छन् । ०७२ सालको विनाशकारी भूकम्पले बन्द भएको तातोपानी नाका ०७६ जेठ १५ देखि सञ्चालनमा आएको थियो । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठका अनुसार दसैंको लागि चीनको खासाबाट आज भेडाच्याङग्रा तातोपानी आइपुगेको बताए ।

सञ्चालनमा आएको चार महिनामै मुख्य सिजनको समयमा बन्द ६ दिन नाका बन्द हुँदा दसैंको सामान लागि आउन सकेको थिएन् । नाका सम्बद्ध व्यापारी अर्जनु सापकोटाले सडक अवरुद्ध भएर तातोपानी बन्द हुँदा व्यापारीहरु मारमा परेको बताउँछन् । सापकोटाका अनुसार तातोपानीबाट लत्ता कपडा, जुत्ता, फलफुल, इलोक्ट्रिक सामानलगायत नेपाल भित्रिने गरेको थियो ।

अध्यागमन प्रमुख काफ्लेका अनुसार जेठ १५ गतेदेखि नाका सञ्चालनमा आएपछि दैनिक सरदर ५, ६ कन्टेनर नेपाल भित्रिने गरेको थियो ।

त्यसोत भूकम्पले तातोपानीको बाटो क्षतविक्षत बनाएपछि रसुवाको केरुङ नाका सञ्चालनमा आएको थियो । त्यहाँ पनि निरन्तरको वर्षाले सडक अबरुद्ध भएपछि केहि समयअघि देखि बन्द रहेको छ । रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट दैनिक ३८ वटा कन्टेनर भ्यान नेपाल आउने गरेको प्रमुख काफ्ले बताउँछन् । काफ्लेका अनुसार धेरै जसो फलफुल र केहि ऊन बोकेको कन्टेनर पनि नेपाल भित्रिएको थियो । उनका अनुसार फलफुलमध्ये स्याउका कन्टेनर नेपाल भित्रिएको उनले जानकारी दिए ।

तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार साउनदेखि भदौ महिनासम्म करिब १० करोड रुपैयाँ राजस्व संकलन भएको बताए । उनले भने ‘जेठ र असार त नाका खुल्यो भन्ने मात्रै भयो, खासै सामान आएन तर साउन र भदौमा करिब १० करोड रुपैयाँ राजस्व संकलन भयो ।’ उनका अनुसार सडक अवरुद्ध भएर नाका बन्द हुनु अगाडी दसैंको सामान तातोपानी नाकाबाट खासै नेपाल भित्रिएको छैन् । ‘अहिले पहिलाको जस्तो सहज रुपमा आवतजावत गर्न दिइएको छैन्’ न्यौपानेले भने ‘हामीले १० करोड राजस्व उठाउँदा रसुवाले एक अर्ब राजस्व उठाएको छ । अब के सामान आयो भन्नु र ।’ सहज रुपमा आवतजावत गर्न दिइयो भने पहिलाको जस्तो राजस्व संकलन हुने भन्सार प्रमुख न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्