–रामबाबु नेपाल
पर्यटन विश्वमै तिव्र गतिमा अघि बढिरहेको उद्योग हो । मानिसहरुमा घुम्ने बानी बढ्दैछ । कतिपय समाजमा त घुम्ने वानी संस्कृतीकै रुपमा विकास भइरहेको छ । यसले पर्यटन उद्योगलाई बढाइरहेको छ । पर्यटनको विकासले अर्थिक विकासका थुप्रै संरचनाहरुमा एकै साथ सकारात्मक प्रभाव पार्दछ । अन्य उद्योगको विकासले पार्ने जस्तो पर्यावरणीय विनास पर्यटन उद्योगमा छैन त्यसैले पर्यटन उद्योगको विकासमा अधिकांस मुलुकका रोजाइमा पर्दछन् । नेपाल प्राकृतिक विविधताले भरिपूर्ण देश भएर पनि हाम्रोमा पर्यटन उद्योगको योगदान न्युन नै छ । कुल गाहर्यस्थ उत्पादनमा ४ देखि ६ प्रतिशतसम्म मात्र यसको योगदान छ ।
स्थानीय सरकार गठन पश्चात निर्वाचित जनप्रतिनिधिहरुमा केही न केही नयाँ काम गर्ने हुटहुटी छ । ७५३ स्थानीय सरकारका आ–आफना सम्भावना र दक्षता छन् । भूगोल, जनसंख्या साँस्कृतिक विविधता स्थानीय सरकारका फरक क्षमतालाई प्रभावित पारेका छन् । कतिपयले आफना विविधता र क्षमतालाई चिनेर योजना बनाएका छन् भने कतिपयमा नयाँ कामको असल मनसाय मात्र छ । तर परिणाममुखी कार्य गर्नका लागि नविनतम सोच मात्र भएर पुग्दैन यसका लागि व्यवस्थित योजना, मापनयोग्य उद्धेश्य र उद्धेश्य प्राप्तीका लागि उपलब्ध संरचना पनि सिमांकन गरिनु पर्दछ । जे होस स्थानीय सरकार गठन पश्चात जानेर नजानेर कुनै न कुनै नयाँ काम गर्ने तर्फ समुदाय अघि बढिरहेको छ ।
विकासको मोडल कस्तो हुनु पर्छ भन्नेमा हाम्रोमा अध्ययन नै पर्याप्त छैन । विकास भनेको पूर्वाधार अनि पूर्वाधार भनेको सडक भन्ने मानसिकताले बढि काम गरेको छ । गाउँ गाउँ वस्ती वस्तीमा डोजर हिड्ने बाटो खन्न बाँकी कही पनि छैन । विकास निर्माण कार्यमा प्रयोग हुने उपकरणले हाम्रो पूर्वाधार विकासमा कति सघाएको छ र यसले पर्यावरणीय सन्तुलनमा क्षती पुरयाएको छ कि छैन भन्ने चरणमा बहषै हुन पाएको छैन । अहिले हाम्रो आवश्यक्ताका आधारमा पूर्वाधार निर्माण अत्यन्तै जरुरी छ । तर दिगो विकासको अवधारणालाई छाडेर अन्धधुन्ध कार्य गर्ने प्रणाली शुरुवात गरियो भने यसले हामीलाई भोलिका दिनमा करेक्सनको अवसरबाट विमुख गराउन सक्छ ।
स्थानीय सरकारका योजना निर्माणका मूख्य ५ बिधा मध्ये आर्थिक विकास प्रमुख हो । जसमा पर्यटन क्षेत्रको विकास पनि पर्दछ । संघ, प्रदेशका वित्तीय समानिकरण हस्तान्तरण, राजश्व बाँडफाड तथा आन्तरिक आम्दानीले पुँजीगत शिर्षकमा बजेट विनियोजन भइ कार्य भइरहेका छन् । पुँजीगत खर्च वास्तवमा खर्च नभएर यो सम्पत्ती हुनु पर्दछ । त्यसैले पुँजीगत शिर्षकका बजेटहरु अनुत्पादक क्षेत्रमा खर्च गर्न पाइन्न । कुनै पनि पूर्वाधार तथा संरचना सम्पत्तीका रुपमा रहने गरि लगानी गरिनु पर्दन । तर विना योजना गरिने खर्चले त्यस्ता संरचनाहरुले मर्मत सम्भारका दायित्व मात्र सिर्जना गर्दछन । जसले दिगो विकासको लक्ष प्राप्तीमा सकारात्मक सहयोग पुरयाउनुको सट्टा नकारात्मक भूमिका खेल्न सक्छ ।
पर्यटन विकासका नाममा खोला, झरना, वन जंगल, हिमाल, पहाडको प्रचार प्रसार एउटा गतिलो माध्यम हो । हामी संग भएको चिज पनि यही नै हो । अहिले हरेक स्थानीय सरकारले आफनो क्षेत्र भित्र रहेका यस्ता प्राकृतिक सम्पदाहरुको उजागर तथा प्रचार गरिरहेका छन् । प्राकृतिक सम्पदा यस अघि पनि थिए सबैलाई थाह थियो । तर गुमनाम अवस्थामा थिए । स्थानीय सरकारका सक्रियताले त्यसको उजागर भएको छ । उजागर त भएको छ तर यसको यथोचित विकासका लागि गर्न बाँकी थुप्रै छ । प्राकृतिक सम्पदा पर्यटन उद्योगका लागि महत्वपूर्ण पक्ष हो तर आफैमा सबथोक भने होइन । यसलाई मानवीय व्यवहार, सक्रियता र सुझवुझपूर्ण कार्यले मात्र पूर्णता प्रदान गर्दछ ।
पश्चिमाहरु काम गर्ने, आराम गर्ने, घुम्ने छुट्टी मनाउने मामलामा सम्झौता गर्दैनन । तिनको त्यही व्यवहार देखेर हामीलाई पनि पर्यटक भनेकै पश्चिमाहरु, गोराहरु हुन जस्तो लाग्थ्यो । तर अहिले समय फेरिएको छ । नेपालीहरुमा पनि घुम्ने संस्कारको विकास भएको छ । लामो विदामा परिवार, साथीभाइ तथा एक्लै भए पनि घुम्ने बानीको विकास भएको छ । यस्तो अवस्थामा हामीसंग पर्याप्त गन्तव्यहरु आवश्यक पर्दछन् । स्वदेशी पर्यटककै चहलपहलले पनि अर्थतन्त्र चलायमान हुन्छ । यसले अर्थिक विकास संगसंगै घुमफिरका कारणले व्यक्तिहरुमा हुने रिफ्रेसनेसले कार्यदक्षतामा पनि बृद्धि हुन्छ ।
नेपालीहरुलाई पर्यटक नै नमान्ने कतिपय बुझाइले व्यवसायिकताको झल्को दिदैन । खासगरी होटल व्यवसायीहरुमा यो सोच हट्नु जरुरी छ । गोरा छाला हुने मात्र पर्यटक ठान्ने प्रवृतिले स्वदेशी पर्यटकहरु वेवास्तामा परेका छन् । तर प्रतिव्यक्ति खर्च गर्ने संस्कारलाई हेर्ने हो भने नेपाली पर्यटकहरु पनि विदेशी भन्दा कम छैनन् । यसलाई स्थानीय सरकारहरुले ख्याल पुरयाउनु पर्दछ । विदेशी पर्यटक भित्रिदा बिदेशी मुद्रा आर्जन हुन्छ यो राम्रो हो तर घुमफिरका नाममा मुद्रा बिदेसिन पनि न्युनिकरण गरिनु पर्दछ ।
नेपालमा बिदेशमा जस्तो विकासको भव्यता छैन । हाम्रो भौतिक विकासको पूर्वाधार लोभलाग्दो, रहरलाग्दो र आश्चार्यलाग्दो छैन । मध्यपूर्व, यूरोप अमेरीका, चीन जस्ता क्षेत्रमा पर्यटकलाई भौतिक संरचनाले नै लोभ्याउछ । त्यस क्षेत्रमा भएका तीव्रतर विकासले पर्यटनका लागि प्रचारप्रसार नै जरुरी छैन । नेपालको अवस्था भने यो भन्दा पृथक छ । हाम्रोमा पर्यटकलाई तान्ने भनेको प्राकृतिक सम्पदाले नै हो । प्राकृतिक सम्पदा र हाम्रो साँस्कृतिक विविधतामा पश्चिमाहरुको रुची हुन्छ । त्यसैले प्राकृतिक सम्पदा र साँस्कृतिक विविधतालाई जोगाइराख्न सके यसले पर्यटन उद्योगको विकासमा मद्धत पुराउदछ ।
प्राकृतिक सम्पदाले मात्र पुग्दैन । त्यसलाई न्याय दिने भनेको उक्त भुभागमा वसोवास गर्ने मानिसहरुको रहनसहन, चिन्तन र चेतनाले हो । पर्यटन उद्योग वस्तुको व्यापार मात्र होइन सेवाको व्यापार पनि हो । पर्यटकलाई सन्तुष्टीसंग यसको सफलता जोडिएको हुन्छ । नेपालीहरुको इमान्दारिता, सेवाभाव, सोझोपनलाई पर्यटन व्यवसायसंग जोड्न सकिन्छ । किनकी हामीसंग भएको सम्पत्ती नै यही हो । हामीले चाहदैमा आधुनिक कृतिम संरचना आजै अहिल्यै बनाउन सक्दैनौं । आफुसंग जे छ त्यही बेच्न सक्नु पर्दछ ।
ठुला ठुला तारे होटलले मात्र पर्यटन व्यवसाय धान्न सक्दैन । अधिकांस भूभाग ग्रामीण रहनसन रहेको हाम्रो जस्तो देसमा समुदाय स्तरका व्यवथित होमस्टेले पर्यटकलाई आकर्षित गर्न सक्छ । स्थानीय सरकारका प्राथमिकता यस्ता खालका संरचनाको विकासमा ध्यान पुग्नु पर्दछ । पूर्वाधारका नाममा सडक मात्र खन्ने परिपाटीले हाम्रो विकासलाई सही अर्थमा अगाडी बढाउन सक्दैन । व्यक्तिका आय आर्जन र जीविकोपार्जन सुधारका कार्यमा पनि ध्यान पुरयाउनु जरुरी हुन्छ ।
पर्यटन विकासका लागि स्थानीय सरकारहरु बीचको व्यवस्थित योजना एकदमै जरुरी छ । एक्लै भन्दा पनि विभिन्न खालका सम्भावनाहरुको प्याकेजको विकास गरिनु पर्दछ । पर्यटन गन्तव्य सूचि तयारी, प्रचारप्रसार, रुट निर्धारण, सेवा प्रदान गर्ने शैलीमा एकरुपता ल्याउन सके यसले पर्यटन विकासमा टेवा पुरयाउदछ । सिमाना जोडिएका तथा सिमाना नजोडिएका स्थानीय तहहरुका पर्यटकीय सम्भावनाको उजागर तथा विकासमा मिलेर जाँदा मात्र यसको यथोचित विकास हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्