२०८२ असार २०

किसानको उत्पादन नगरपालिकामार्फत नै खरिद विक्री हुन थाल्यो

जीवन श्रेष्ठ, सिन्धुपाल्चोक । किसानहरुलाई प्रोत्साहित गर्दै उत्पादनमा बढोत्तरी गर्ने उदेश्यले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरुद्वारा उत्पादित सामाग्री खरिद गर्ने प्रवन्ध मिलाइएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौतारा बजारको मुख्य स्थानमा तरकारी संकलन केन्द्रको स्थापनासँगै नगरमार्फत किसानहरुसँग खरिद गरेको उत्पादन उपभोक्तालाई विक्रि वितरणको प्रवन्ध समेत मिलाइएको छ ।
संकलन केन्द्रमा किसानहरुद्वारा उत्पादित गोलभेडा, काँक्रो, साग, करेला सिमी जस्ता तरकारी रहेको तरकारी संकलन केन्द्र सञ्चालनका जिम्मेवारी पाएका कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
मौसमी उत्पादनको हिसाबले बढी जस्तो गोलभेडा संकिलित भएको सञ्चालक श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार झण्डै २ सय किलो गोलभेडा संकलन भएको छ । भोलिबाट अन्य तरकारी पनि बढ्न सक्ने सञ्चालन केन्द्रले जनाएको छ ।
किसानले तरकारीको मूल्य भने बजार भाउ अनुसार नै पाउने छन् । त्यसका लागि विक्रेता किसानको कुनै पनि बैंकमा अनिवार्य खाता सञ्चालन भएको हुनुपर्ने छ । किसानबाट खरिद गरेको तरकारी लगायतका उत्पादनको मूल्य हरेक १५ दिनमा किसानको खातामा नगरपालिकाले अनुदानस्वरुप जम्मा गरिदिने छ । किसानको भएभरको उत्पादन नगरमार्फत सञ्चालक कृष्णबहादुर श्रेष्ठले खरिद गर्ने र सो उत्पादन विक्रि वितरण गर्ने र किसानको खातामा नगरबाट प्राप्त अनुदानसहितको थप रकम पनि जम्मा गरिदिने जिम्मेवारी भने सञ्चालक श्रेष्ठले निर्वाह गर्नुपर्ने छ । यसबाट किसानले कुनै पनि उत्पादन विक्री भएन भनेर फाल्नु पर्ने अवस्था नआउने नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताउँनुभयो । अब आफ्ना उत्पादनहरु विक्री भएन भनेर कुनै पनि किसानले सो उत्पादन फाल्ने र कुहाएर घरमा नै राख्ने परिपाटीको अन्त्य हुनेछ नगरप्रमुख सापकोटाले भन्नुभयो विक्रिवितरणको चिन्तालाई छोडेर किसानहरुलाई बढीभन्दा बढी उत्पादनमा केन्द्रीत हुन म आग्रह गर्दछु ।
निश्चय पनि अहिले गोलभेडाको सिजन हो । कतिपय स्थानमा गोलभेडा विक्री नभएपछि किसानहरुले गोलभेडा सडकमा नै फालेका समाचारहरु आइरहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले भने किसानका सबै उत्पादनहरु खरिद गरि स्थानीय बजारमा खपत नभए राजधानीसम्म लैजाने प्रवन्ध मिलाइएको नगरप्रमुख सापकोटाको भनाईछ । त्यसका लागि चाडै नै नगरपालिकाले कृषि एम्बुलेन्सको पनि प्रवन्ध मिलाउन लागेको नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो । कृषि एम्बुलेन्सले एकातिर किसानको घर घरमा गएर किसानको उत्पादन संकलन गर्दै चौतारास्थित संंकलन केन्द्रमा भण्डारण गर्नेछ भने अर्कोतर्फ स्थानीय बजारमा खपत नभएका उत्पादनलाई राजधानी लगायतका शहरमा पु¥याइनेछ नगरप्रमुख सापकोटाले भन्नुभयो ।
यता नगरमार्फत आफ्ना उत्पादन खरिद विक्री गर्ने भएपछि किसानहरु भने खुशी भएका छन् । चौतारा साँगाचोकगढी वडा न ७ का किसान विष्णुप्रसाद दंगाल बजारको चिन्ता हटेको बताउनु हुन्छ । उहाँले खुशी हुँदै भन्नुभयो अब हामी बढी उत्पादनमा केन्द्रीत हुनेछौं ।
आज पहिलो दिन १७ जना किसानले आफ्नो उत्पादन संकलन केन्द्रमा ल्याएको नगर कृषि शाखा प्रमुख चिरञ्जिवी कट्टेलले जानकारी दिनुभयो । संकलन केन्द्रसँगै निर्माण भएको मिनि चिस्यान केन्द्र पनि सञ्चालनमा आएको हुँदा किसानहरुलाई थप फाइदा पुग्ने उहाँले बताउनुभयो ।
संकलन केन्द्रलाई थप व्यवस्थित र किसानहरुको उत्पादनलाई भण्डारण गर्दै प्रोत्साहित गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ मा अर्को एक चिस्यान केन्द्रको पनि निर्माण हुँदैछ । नगरपालिकाको २ करोड र संघीय सरकारको ५० लाख अनुदानमा निर्माण हुँदै गरेको यो आयोजनालाई नगरले आफ्नो गौरवको आयोजनाको रुपमा लिइएकोछ । निर्माणधिन चिस्यान केन्द्र आगामी माघसम्म सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्