सिन्धुपाल्चोक/ बागमती प्रदेशस्तरीय १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा सिन्धुपाल्चोकको अरनिको कृषि तथा पशुपालन फर्म दोस्रो उत्कृष्ट उद्यमी घोषित भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–५ मा रहेको उक्त फर्मले ७१ अंक प्राप्त गर्दै प्रदेशस्तरमा दोस्रो स्थान हासिल गरेको हो।
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशले मंसिर ९ गते हेटौँडामा आयोजना गरेको कार्यक्रममा फर्मलाई सम्मान गरिएको हो। कार्यक्रममा ‘औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने नारा तय गरिएको थियो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा प्रदेश सुशासन केन्द्रको सभाहलमा सम्पन्न कार्यक्रममा सम्मानका लागि छनोट भएका १४ उद्यमीमध्ये ललितपुरको अन्नपूर्ण खाद्य उद्योगले ७३ अंक प्राप्त गर्दै सर्वोत्कृष्ट उद्यमीको सम्मान पाएको थियो। अरनिको कृषि तथा पशुपालन फर्म ७१ अंकसहित दोस्रो स्थानमा रह्यो।
सन् २०१७ देखि सिन्धुपाल्चोकमा सञ्चालन हुँदै आएको अरनिकोले विशेष कफी उत्पादन, स्थानीय कृषि उत्पादन, कृषि पर्यटन, आतिथ्य सत्कार तथा उद्यमशीलता र सीप विकासका क्षेत्रमा काम गर्दै आएको छ। फर्मकी सञ्चालक शारदा घले हुन्।
फर्मले आफ्नो उपलब्धि किसान, कर्मचारी, साझेदार, ग्राहक तथा आफ्नो परिकल्पनामा विश्वास गर्ने सबैप्रति समर्पित गरेको जनाएको छ। सम्मानले थप मेहनत गर्न, नयाँ अवसर सिर्जना गर्न र स्थानीय उत्पादनलाई जिल्लाबाहिरका बजारसम्म पुर्याउन प्रेरणा मिलेको फर्मको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्