२०८३ मंसिर ९

गौराती जात्राको सबैलाई शुभकामना !

आधा शताब्दी’ पुस्तक
सुरेन्द्र नेपाल श्रेष्ठ- जगजीत सिंहको “हम तो हैं परदेस में, देश में निकला होगा चाँद”  भन्ने गीत सुन्नेबित्तिकै मलाई गौराती जात्राको याद आउँछ। आफ्नो गाउँठाउँमा रमाइलो गर्ने त्यतिबेलाका केही उपायहरूमध्ये यही जात्रा पनि थियो। हामी सानैदेखि रातभरि जात्रा हेर्ने, रथ तान्ने, बजार घुमेर रमाइलो गर्थ्यौँ। मैले सम्झेका दुई घटनाहरूका बारेमा मेरो ‘आधा शताब्दी’ पुस्तकमा पनि लेखेको छु।
मेरो आधा शताब्दीमा गौराती जात्राका बारेमा दुई प्रसङ्ग!
हामी प्रत्येक वर्ष कात्तिक पूर्णिमामा गौरातीमा हुने जात्रामा जिल्ला रेडक्रस र कहिले विद्यालय, कहिले शिक्षक संगठनको नाममा चिट्ठा थाप्न जान्थ्यौँ।
यो क्रम धेरै समयसम्म चल्दै रह्यो। एकपटक हामी शिक्षक संगठनको तर्फबाट गएका थियौँ। जात्रामा खटाइएका प्रहरीहरूसमेत जाँड खाएर महिलाहरूलाई सताउँदै थिए। प्रहरी र सर्वसाधारणबीच ठूलो भनाभन भयो। त्यतिखेर विद्यार्थी आन्दोलनपछिका परिवर्तनका कुराहरूसमेत भइरहेकाले स्थिति त्यत्तिकै तातेको थियो। त्यस्तो मौका परेकाले झन् छाड्ने कुरा भएन। इन्स्पेक्टर कोमलचन्द्र कर्माचार्यसमेतलाई हातपात भएछ।
पछि त सबै प्रहरी एकीकृत भएर पूरा नाकाहरू बन्द गरेर त्यतिखेर अलि चिनिएकाहरूलाई पक्राउ गर्न थाल्यो। हामी अलि सानै थियौँ। ठूलाहरू सबै तितरबितर भए। हामी सामान सुरक्षित राखेर गोठमा लुक्यौँ। भोलिपल्ट बिहान सामानहरू बोकेर चौतारा लाग्यौँ। स्थिति निकै तनावग्रस्त भएको थियो। ५० जनाजतिलाई पक्राउ गरेको थियो। सकेसम्म धेरैलाई पक्राउ गर्न निकै कोसिस गरेका थिए। तुलसीमान श्रेष्ठ भने प्रहरीले लखेट्दालखेट्दै उम्कन सफल भयो, करिब तीन दिनसम्म छलेरै बस्यो।
यही कुरालाई लिएर बजार बन्दसमेत भयो। सबै चौतारावासी एकगठ्ठा भएकाले प्रहरीले सबैलाई रिहा गर्न बाध्य भयो।
पछि एकपटक नीलकाजीसँगको झगडामा तुलसीले झन्डै ज्यान गुमाउनुपर्‍यो। सामान्य झगडामा नीलकाजीले तुलसीलाई छुरीले हान्यो र उपचार गर्न काठमाडौँ लानुपर्‍यो। त्यो मुद्दा धेरै पछिसम्म चल्यो, जसमा मैले पनि वकालत गरेँ तर नीलकाजीलाई खासै सजाय भने भएन।
जात्राको सबैलाई शुभकामना !!

प्रतिक्रिया दिनुहोस्