२०८३ मंसिर ५

सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा राष्ट्रिय जागरण अभियान उद्घाटन

सिन्धुपाल्चोक/ नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा शनिबार राष्ट्रिय जागरण अभियानको पालिकास्तरीय उद्घाटन गरेको छ। पार्टीको केन्द्रीय नीतिअनुसार सुरु गरिएको अभियान संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार र आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित रहने पार्टीले जनाएको छ।

मेलम्ची नगरपालिकामा आयोजित कार्यक्रममा पार्टीका प्रमुख सचेतक, केन्द्रीय सदस्य तथा सांसद युवराज दुलाल, केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङ, केन्द्रीय सदस्य चन्द्रबहादुर थापा, विनोद खनाल, उमेश घोरासैनी र रामलाल विकलगायतका नेताहरूले अभियानको उद्घाटन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि दुलालले जिल्लाका १२ वटै स्थानीय तहमा एकैदिन अभियान उद्घाटन गरिएको बताउँदै अभियानको सफलताको शुभकामना व्यक्त गरे। उनले अभियान वडा-वडासम्म पुग्ने र संगठनलाई जनतासँग जोड्ने बताए।

अभियानको मुख्य उद्देश्य पार्टी सुदृढीकरण, सदस्यता नवीकरण र अधिवेशन रहेको उल्लेख गर्दै दुलालले समयअनुसार पार्टीले आफूलाई परिवर्तन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। जनताले नयाँ सोच र कामको अपेक्षा गर्ने भएकाले पार्टीले पनि त्यसअनुसार आफूलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।

उनले संविधान कार्यान्वयन र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकार विधि र विधानअनुसार अघि नबढेको आरोप लगाए। आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी अहिलेदेखि नै सक्रिय हुन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे।

यसअघि गत कात्तिक १९ गते जिल्ला सदरमुकाम चौतारामा पार्टीका वरिष्ठ नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय जागरण अभियानको जिल्लास्तरीय उद्घाटन गरेका थिए। जिल्ला संयोजक विनोद खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय नेतादेखि जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता र समर्थक सहभागी थिए।

पार्टीले पालिकास्तरीय अभियानलाई मंसिर २५ गतेसम्म ‘एक दिन, एक वडा’ का दरले सञ्चालन गर्ने कार्ययोजना बनाएको छ। पार्टीकी जिल्ला इन्चार्ज अमृता नेपालका अनुसार अभियानको उद्देश्य संगठन विस्तार तथा सुदृढीकरण, सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण, वडा सम्मेलन आयोजक समिति गठन, वडा अधिवेशनको मिति निर्धारण, जनताका गुनासा तथा सुझाव संकलन र राजनीतिक एवं वैचारिक प्रशिक्षण सञ्चालन गर्नु रहेको छ।

नेपालका अनुसार अभियानमार्फत जनताका दैनिक समस्या र जनजीविकासँग सम्बन्धित सवाल पहिचान गरी स्थानीय सरकारसँग जोडेर समाधानका लागि पहल गरिनेछ। विकास निर्माणका आवश्यकता, सेवा प्रवाहमा देखिएका कठिनाइ तथा नागरिकका गुनासा संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउने कार्यक्रम पनि अभियानमा समेटिएको छ।

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पार्टीको योजना छ। महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी तथा असुरक्षाजस्ता समस्याबारे जनस्तरमा आवाज उठाउने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने पार्टीले जनाएको छ। महिला, युवा, विद्यार्थी, किसान, दलित, आदिवासी जनजाति, मधेसी तथा पछाडि परेका समुदायको सहभागिता र नेतृत्व विकासलाई पनि अभियानले प्राथमिकता दिने बताइएको छ।

अभियानले बहुआयामिक महत्त्व बोकेको छ : सापकोटा

पूर्वसभामुख तथा पार्टीका वरिष्ठ नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय जागरण अभियान बहुआयामिक महत्त्वको रहेको बताएका छन्। समग्र राजनीतिक परिस्थितिबारे जनतालाई जानकारी गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा यसको महत्त्व अझ बढेको बताए।

देशभरका पालिकामा एकसाथ अभियान सुरु गरिएको जानकारी दिँदै सापकोटाले स्थानीय संगठनहरू मजबुत रहेकाले पहल गर्दा निर्वाचनमा राम्रो सम्भावना रहेको बताए। अभियानका क्रममा विगतका कामको समीक्षा, सबल तथा दुर्बल पक्षको पहिचान र कमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरिने उनको भनाइ छ।

उनले निर्वाचनको तयारीसँगै आवश्यक परे आन्दोलनका लागि पनि पार्टी तयार रहेको बताए। राष्ट्रियता र जनजीविकाका सवालमा संघर्ष गर्नुपर्ने अवस्था आए आन्दोलनमा उत्रिनुको विकल्प नरहेको उल्लेख गर्दै उनले जनवर्गीय तथा सामाजिक संगठनलाई समेटेर बृहत्तर राष्ट्रिय मोर्चा निर्माणको तयारी भइरहेको जानकारी दिए।

१२ स्थानीय तहमा भएका उद्घाटन कार्यक्रम

जिल्लाका १२ वटै स्थानीय तहमा विभिन्न केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको उपस्थितिमा अभियान उद्घाटन गरिएको थियो।

१. इन्द्रावती गाउँपालिका : नवलपुरमा भएको कार्यक्रमको उद्घाटन पूर्वसभामुख तथा पार्टीका वरिष्ठ नेता अग्निप्रसाद सापकोटाले गरेका थिए। कार्यक्रममा फइन्द तामाङ, चिरञ्जीवी आचार्यलगायत नेता तथा कार्यकर्ता सहभागी थिए।

२. चौतारा साँगाचोकगढी नगरपालिका : सहिद स्मृति भवन चौतारामा भएको कार्यक्रमको उद्घाटन केन्द्रीय नेता कृष्णप्रसाद सापकोटाले गरेका थिए। कार्यक्रममा झम्क पराजुली, प्रेम सापकोटा, गोविन्द पराजुली, दया लक्ष्मी श्रेष्ठ, नरेन्द्र खड्का र उजार सिङ तामाङलगायत सहभागी थिए।

३. भोटेकोशी गाउँपालिका : पुरानो चाकु बजारमा भएको कार्यक्रमको उद्घाटन पूर्वसांसद तथा केन्द्रीय नेता माधव सापकोटा ‘सुबोध’ले गरेका थिए। कार्यक्रममा पालिका तथा जिल्ला तहका नेता, कार्यकर्ता र जनवर्गीय संगठनका प्रतिनिधि सहभागी थिए।

४. पाँचपोखरी थाङपाल गाउँपालिका : तिपेनीमा भएको कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य युवराज दुलाल ‘सरद’ले गरेका थिए। कार्यक्रममा इन्द्रमाया गुरुङ र उद्दन आलेमगरलगायत सहभागी थिए।

५. लिसंखुपाखर गाउँपालिका : प्युखर्क सिक्रेमा भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य तथा केन्द्रीय नेतृ रेणु चन्दले गरेकी थिइन्। कार्यक्रममा सिङबहादुर विक, पासाङ तामाङ, निमा योञ्जन, शम्सेर साक्य र जगत तामाङलगायत सहभागी थिए।

६. बाह्रबिसे नगरपालिका : वडा नम्बर ८ स्थित मानेस्वारामा भएको कार्यक्रमको उद्घाटन केन्द्रीय नेता लालकान्छा तामाङले गरेका थिए। कार्यक्रममा पूर्वमेयर निमफुञ्जो शेर्पा र नेता भीम पराजुलीलगायत सहभागी थिए।

७. त्रिपुरासुन्दरी गाउँपालिका : धुस्कुनको दाबीबाट सुरु भएको अभियानको उद्घाटन क्षेत्र नम्बर १ का पार्टी इन्चार्ज टीएन सापकोटाले गरेका थिए। कार्यक्रममा प्रदेश सल्लाहकार सदस्य विष्णुकुमार श्रेष्ठलगायत सहभागी थिए।

८. सुनकोशी गाउँपालिका : ठोकर्पाको बाघभैरवबाट सुरु भएको कार्यक्रमको उद्घाटन नेता गणेश विकले गरेका थिए। कार्यक्रममा शिव न्यौपाने, गणेश विक, कुमार राज खतानी र नरेन्द्र खड्कालगायत सहभागी थिए।

९. बलेफी गाउँपालिका : बलेफी कभर्ड हलमा भएको कार्यक्रमको उद्घाटन पार्टीकी जिल्ला इन्चार्ज अमृता नेपालले गरेकी थिइन्। कार्यक्रममा गंगाबहादुर तामाङलगायत नेता तथा कार्यकर्ता सहभागी थिए।

१०. जुगल गाउँपालिका : सहिद स्मृति भवन चनौटेमा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सचिवालय सदस्य चन्द्र सापकोटा ‘रवि’ले गरेका थिए। कार्यक्रममा पालिका संयोजक ईश्वर गुभाजुलगायत सहभागी थिए।

११. मेलम्ची नगरपालिका : सहिद प्रतिष्ठान भवन मेलम्चीमा भएको कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य सांसद युवराज दुलालले गरेका थिए। कार्यक्रममा नानिराम चौलागाईं, रामलाल विकलगायत नेता तथा कार्यकर्ता सहभागी थिए।

१२. हेलम्बु गाउँपालिका : चुरेटारमा भएको कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य सोम सापकोटाले गरेका थिए। कार्यक्रममा भरत थापालगायत नेता तथा कार्यकर्ता सहभागी थिए।

पार्टीले अभियानलाई संगठनात्मक गतिविधिमा मात्र सीमित नराखी जनताका समस्या पहिचान, जनसेवा र स्थानीय मुद्दामा केन्द्रित गर्ने जनाएको छ। जिल्लाका सबै स्थानीय तह र वडासम्म संगठन विस्तार गर्दै आगामी निर्वाचनका लागि जनमत बुझ्ने तथा कार्यकर्ता परिचालन गर्ने पार्टीको योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्