२०८३ आश्विन २७

बलेफीमा दुनाटपरी उत्पादन केन्द्र सञ्चालनमा, मन्त्री पौडेलद्वारा उद्घाटन

बलेफीमा दुनाटपरी उत्पादन केन्द्र सञ्चालनमा, मन्त्री पौडेलद्वारा उद्घाटन

नौबिसे/ सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२, नौबिसेमा सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको शाखा उत्पादन केन्द्र सञ्चालनमा आएको छ। शाखा उत्पादन केन्द्रको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले गर्नुभएको हो।

सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको आयोजनामा तथा डिभिजन वन कार्यालय सिन्धुपाल्चोक, बलेफी गाउँपालिका र सुनकोशी गाउँपालिकाको सहयोगमा उद्घाटन समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्थानीय स्रोतसाधनको सदुपयोग, परम्परागत सीपको संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत समुदायको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिनुभयो। स्थानीय स्रोत र सीपलाई उत्पादन तथा उद्यमशीलतासँग जोड्न सके रोजगारीका अवसर सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उहाँको भनाइ थियो।

दुनाटपरी उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्न सके स्थानीय समुदायको आयआर्जन बढ्नुका साथै परम्परागत ज्ञान, सीप र संस्कृतिको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। दुनाटपरीको प्रयोग बढाउँदा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण र वातावरण संरक्षणमा समेत सहयोग पुग्न सक्छ।

केन्द्रलाई दिगो र व्यावसायिक रूपमा सञ्चालन गर्न उत्पादनसँगै बजार व्यवस्थापन, गुणस्तर अभिवृद्धि र उपभोक्तासम्म सहज पहुँच विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ।

शाखा उत्पादन केन्द्र सञ्चालनमा आएसँगै स्थानीयस्तरमा दुनाटपरी उत्पादनलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्