चौतारा । लायन्स क्लब अफ काठमाडौ सिन्धु चोैतारा सिटीको आयोजनामा विद्यार्थीहरूको आँखा जाँच शिविर असोज २३ गते शुक्रबार सम्पन्न भएको छ । चौतारास्थित श्री बन्देवी माध्यमिक विद्यालयमा आयोजित शिविरमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो ।
शिविरमा कुल ७९ जना विद्यार्थीको आँखा जाँच गरिएकोमा थप उपचार आवश्यक देखिएका ११ जनालाई सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गरिएको छ ।

विद्यार्थीहरूमा आँखासम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको र सानै उमेरमा देखिन सक्ने दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान गर्न सके विद्यार्थीहरूको पढाइ तथा दैनिक जीवनमा पर्ने असर कम गर्न किने लायन्स क्लबका अध्यक्ष राकेश रानाले बताए । विशेषगरी विद्यालय तहमा नियमित स्वास्थ्य परीक्षणले बालबालिकाको स्वास्थ्य र सिकाइ दुवैमा सकारात्मक योगदान पुर्याउने अध्यक्ष रानाको भनाइ छ ।
विद्यार्थीहरूको स्वास्थ्यप्रति सचेतना बढाउने र आवश्यक उपचारका लागि समयमै पहिचान गर्ने यस्ता कार्यक्रमले विद्यालय तथा समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्