चौतारा/ दसैँ नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा खाना पकाउने एलपी ग्यासको अभाव र पेट्रोलियम पदार्थको असहज आपूर्तिले उपभोक्ता मारमा परेका छन्। सदरमुकाम चौतारासहित जिल्लाका विभिन्न स्थानमा ग्यास सहज रूपमा उपलब्ध हुन नसकेको र चौतारा, मेल्चौरस्थित बनदेवी फ्युल सेन्टर बन्द भएपछि पेट्रोल भर्नसमेत टाढा जानुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।
चौताराकी मैना कपालीलाई यसपालिको दसैँ पनि दाउराकै भरमा मनाउनुपर्ने हो कि भन्ने चिन्ता छ। झन्डै २० दिनदेखि ग्यासको अभाव झेल्दै आएकी उहाँ ग्यास आउने आशामा दिनहुँ नजिकैको डिलर पुग्नुहुन्छ। तर, ‘ग्यास आयो कि ?’ भनेर सोध्दा हरेक पटक निराश हुँदै फर्कनुपरेको उहाँ बताउनुहुन्छ। ग्यास नपाएपछि दाउराको जोहो गरेर चुलो बाल्दै आउनुभएकी उहाँलाई अहिले दाउरा पाउनसमेत मुस्किल हुन थालेको छ।
दसैँको मुखमा खाना पकाउने ग्यास सहज रूपमा नपाउँदा चौताराका समाजसेवी धुवलाल श्रेष्ठ पनि चिन्तित हुनुहुन्छ। ग्यासको अभाव लम्बिँदै गए माटोको चुलो बनाएर झिँजा र परालको जोहो गर्नुपर्ने अवस्था आउन सक्ने उहाँ बताउनुहुन्छ। “आखिर चुल्हो त बाल्नै प¥यो सरकार,” उहाँले व्यङ्ग्यात्मक रूपमा भन्नुभयो।
सरकारले पछिल्लो समय एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरे पनि चौतारालगायत जिल्लाका विभिन्न स्थानमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। चाडपर्वका लागि खाद्यान्न र दैनिक उपभोग्य वस्तुको जोहो गर्नुपर्ने समयमा ग्यासकै लागि डिलर धाउनुपर्दा सर्वसाधारण थप समस्यामा परेका छन्।
ग्यासको अभाव हुनुमा कम्पनीबाट पर्याप्त आपूर्ति नहुनु मुख्य कारण रहेको व्यवसायी अम्मरबहादुर श्रेष्ठ बताउनुहुन्छ। उहाँका अनुसार चौतारा क्षेत्रमा उहाँकै पसलबाट मात्र मासिक करिब दुई हजार सिलिन्डर ग्यास बिक्री हुने गरेको छ। तर, पछिल्लो समय कम्पनीले तीन सय सिलिन्डरसमेत उपलब्ध नगराएको उहाँको भनाइ छ।
कम्पनीले नयाँ डिलर थपेपछि पुराना डिलरलाई पर्याप्त ग्यास उपलब्ध नगराएको आरोपसमेत श्रेष्ठले लगाउनुभएको छ। नयाँ डिलरमार्फत सिलिन्डर बिक्री गर्दा बढी मुनाफा लिन सकिने भएकाले पुराना डिलरलाई उपेक्षा गरिएको उहाँको दाबी छ। यद्यपि, आपूर्ति घट्नुको वास्तविक कारण र वितरण प्रणालीको अवस्थाबारे सम्बन्धित कम्पनी तथा निकायको धारणा स्पष्ट हुन सकेको छैन।
ग्याससँगै चौतारा र आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा पनि समस्या देखिएको छ। चौतारा, मेल्चौरस्थित बनदेवी फ्युल सेन्टर बन्द भएपछि सवारीधनी र चालकलाई इन्धन भर्न समस्या भएको छ। पेट्रोलियम पदार्थ भर्न उनीहरू ग्यालिन बोकेर झन्डै ३५ किलोमिटर टाढा सुकुटेस्थित पेट्रोल पम्प पुग्नुपर्ने वा अनौपचारिक रूपमा बिक्री भइरहेको इन्धन किन्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।
नजिकै पेट्रोल पम्प सञ्चालनमा नहुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारण, सार्वजनिक यातायातका चालक र निजी सवारीधनी प्रभावित भएका छन्। इन्धन भर्न टाढा जानुपर्दा समय र खर्च बढेको छ। आवश्यक परेको समयमा सहज रूपमा इन्धन उपलब्ध नहुँदा बिरामी ओसारपसारलगायत अत्यावश्यक सेवामा समेत असर पर्न सक्ने चिन्ता स्थानीयमा छ।
मेल्चौरस्थित बनदेवी फ्युल सेन्टरका सञ्चालक श्यामकृष्ण श्रेष्ठका अनुसार विभिन्न कारणले तत्काल पेट्रोल पम्प सञ्चालन गर्न सकिने अवस्था छैन। नयाँ पेट्रोल पम्प स्थापना गर्न आवश्यक कार्यविधि र मापदण्ड पूरा गर्नुपर्ने भएकाले अर्को पम्प तत्काल सञ्चालनमा आउने सम्भावना पनि न्यून रहेको उहाँ बताउनुहुन्छ।
दसैँजस्तो प्रमुख चाड नजिकिँदै गर्दा खाना पकाउने ग्यासका लागि डिलर धाउनुपर्ने र पेट्रोल भर्न दर्जनौँ किलोमिटर यात्रा गर्नुपर्ने अवस्थाले जिल्लाको आपूर्ति व्यवस्थामाथि प्रश्न उठाएको छ। ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न, वितरण प्रणाली पारदर्शी बनाउन र कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्न आवश्यक छ। त्यस्तै, चौतारामा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बन्द पेट्रोल पम्प पुनः सञ्चालन गर्ने वा नयाँ पम्प स्थापनाको प्रक्रिया अघि बढाउने विषयमा पनि पहल गर्नुपर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्