२०८३ आश्विन २४

चौतारामा रक्तदान कार्यक्रम सम्पन्न, ७ महिलासहित ३४ जनाले गरे रक्तदान

चौतारा । दशैँ तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा रक्तदाता तथा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुपाल्चोकको चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७ महिलासहित ३४ जनाले रक्तदान गरेका छन् । असोज २३ गते शुक्रबार चौतारा टुँडिखेल फल्चामा आयोजित उक्त कार्यक्रमले चाडपर्वको समयमा हुन सक्ने रगतको अभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । चाडपर्वका बेला नियमित रक्तदान कार्यक्रम कम हुने र आकस्मिक दुर्घटना तथा बिरामीको उपचारका लागि रगत आवश्यक पर्न सक्ने भएकाले यस समयमा गरिएको रक्तदानलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

रगतको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । रक्तदानले बिरामीको जीवन बचाउन प्रत्यक्ष सहयोग पुग्ने भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्नसमेत प्रेरणा मिल्ने विश्वास गरिएको छ । कार्यक्रम सिन्धुपाल्चोक खेलकुद विकास समितिको आयोजना र ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान), जिल्ला शाखा सिन्धुपाल्चोक सह-आयोजनामा तथा चौतारा अस्पताल, चौतारा रक्त सञ्चार सेवा केन्द्रको सहयोगमा र सम्पन्न भएको हो ।

रक्तदानलाई केवल सामाजिक सेवाका रूपमा मात्र नभई मानवीय जिम्मेवारीका रूपमा पनि लिनुपर्ने आवश्यकता छ । विशेषगरी चाडपर्वको समयमा रगतको माग र आपूर्तिबीच सन्तुलन कायम राख्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्