चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले नगर क्षेत्रका मासु व्यवसायीहरूसँग मासुको मूल्य, सरसफाइ तथा व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्याबारे छलफल गरेको छ ।
नगर उपप्रमुख सीता थापाको अध्यक्षतामा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेल, वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठ, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा नगर क्षेत्रका मासु व्यवसायीहरूको सहभागिता रहेको थियो ।
छलफलमा मासुको मूल्य निर्धारण, पसलको सरसफाइ, व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा उपभोक्ताको गुनासोका विषयमा विस्तृत छलफल गरिएको थियो । उद्योग वाणिज्य संघले मासुको मूल्य निर्धारण गर्दै आएकोमा गत साउन ३१ गते निर्धारण गरिएको मूल्यलाई व्यवसायीसँगको छलफल र प्राप्त प्रस्तावका आधारमा आवश्यक परिमार्जन गर्न सकिने व्यवस्थाबारे समेत छलफल भएको थियो ।
तर, व्यवसायीहरूले निर्धारित मूल्यभन्दा अनियमित र अव्यवस्थित रूपमा मूल्य वृद्धि गर्दा उपभोक्ता मारमा परेको विषयमा सहभागीहरूले ध्यानाकर्षण गराएका थिए । मूल्यमा एकरूपता कायम गर्न तथा उपभोक्तालाई अनावश्यक आर्थिक भार नपर्ने गरी व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ ।

नगर उपप्रमुख सीता थापाले व्यवसायीहरूले मूल्य, सरसफाइ तथा व्यवसाय सञ्चालनसम्बन्धी विषयमा लिखित प्रतिबद्धता गर्नुपर्नेमा जोड दिइन् । उनले व्यवसायी र स्थानीय तहबीचको समन्वयबाट मात्रै बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन सकिने बताइन् ।

उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख बख्रेलले मासु व्यवसाय सञ्चालनसँग सम्बन्धित कानुनी व्यवस्था, व्यवसायीले पालना गर्नुपर्ने मापदण्ड तथा नियम उल्लङ्घन भएमा हुन सक्ने कारबाही र जरिवानाबारे जानकारी गराए । कानुनी व्यवस्था कडा रहेकाले त्यसको पूर्ण पालना गर्न उनले व्यवसायीहरूलाई अनुरोध गरे ।

वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले पछिल्लो समय मासुको मूल्य वृद्धि तथा पसलको सरसफाइका विषयमा उपभोक्ताबाट गुनासो बढ्दै गएको बताए । उनले व्यवसायीहरूलाई मूल्यमा मनपरी नगर्न र पसलको सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दै नगर तथा सम्बन्धित निकायबाट निरन्तर अनुगमन भइरहेको जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले मासु पसल दर्ता गर्ने समयमै आवश्यक पूर्वाधारको व्यवस्था हुनुपर्ने आवश्यकता समेत औँल्याए । व्यवसाय सञ्चालनका लागि आवश्यक भौतिक संरचना र सरसफाइका मापदण्ड पूरा गराएर मात्रै पसल सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
छलफलमा सहभागी व्यवसायीहरूले पनि व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा व्यावहारिक कठिनाइबारे आफ्ना धारणा राखेका थिए । नगरपालिका, उद्योग वाणिज्य संघ र व्यवसायीबीचको समन्वयमा मूल्य निर्धारण, सरसफाइ र बजार व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्