चौतारा क्षेत्रमा स्थानीयवासीले विभिन्न झाँकी, भेषभूषा र बाजागाजासहित गाईजात्रा निकालेका हुन्। जात्रामा दिवङ्गत आफन्तको सम्झनामा गाई तथा गाईको प्रतीकका रूपमा बालकलाई सजाएर सहभागी गराइएको थियो । विभिन्न रङ्गीचङ्गी पोसाक र मुखुण्डोसहितको सहभागिताले चौताराको वातावरण जात्रामय बनेको थियो ।
गाईजात्रा हिन्दु तथा नेवारी संस्कृतिमा विशेष महत्व राख्ने पर्व हो । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै गाईको पूजा गरी जात्रा निकाल्ने परम्परा रहिआएको छ । धार्मिक विश्वासअनुसार गाईलाई पवित्र जनावरका रूपमा पूजा गरिन्छ भने गाईजात्राको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा गरे मृतात्माले मुक्ति पाउने जनविश्वास पनि छ ।
गाईजात्राको इतिहास राजा प्रताप मल्लको शासनकालसँग जोडिएको पाइन्छ । किंवदन्तीअनुसार राजा प्रताप मल्लका नाबालक छोराको निधनपछि रानी शोकमा डुबेर सामान्य जीवनमा फर्किन नसकेपछि उनलाई संसारमा मृत्युको पीडा आफूलाई मात्र नभएको अनुभूति गराउन जात्रा निकालिएको थियो । त्यस वर्ष मृत्यु भएका नागरिकका आफन्तलाई गाईसहित जात्रामा सहभागी गराइएको र जात्रामा हास्य, ठट्टा तथा व्यङ्ग्यसमेत प्रस्तुत गरिएको कथन छ ।

त्यसैबाट गाईजात्रामा सामाजिक विकृति, विसङ्गति, अन्याय र आडम्बरमाथि व्यङ्ग्य गर्ने परम्परा विकास भएको मानिन्छ । समयसँगै यो पर्व मृतकको सम्झना गर्ने अवसरसँगै तत्कालीन सामाजिक, राजनीतिक र सांस्कृतिक अवस्थामाथि व्यङ्ग्यात्मक टिप्पणी गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै आएको छ ।
चौतारामा निकालिएको जात्रामा पनि परम्परागत संस्कृतिसँगै हास्य तथा व्यङ्ग्यलाई प्राथमिकता दिइएको थियो । सहभागीहरूले विभिन्न प्रस्तुति र झाँकीमार्फत समाजमा देखिएका समसामयिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेका थिए ।
नेवारी भाषामा गाईजात्रालाई ‘सापारु’ भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारु’ को अर्थ प्रतिपदा तिथि भएकाले प्रतिपदाका दिन मनाइने यस पर्वलाई सापारु भनिएको हो ।
काठमाडौं उपत्यकाबाट सुरु भएको गाईजात्रा पछिल्लो समय देशका विभिन्न ठाउँमा पनि स्थानीय परम्परा र मौलिकताअनुसार मनाइँदै आएको छ । चौतारामा मनाइएको यस वर्षको गाईजात्राले पनि दिवङ्गत आफन्तप्रतिको श्रद्धा, सांस्कृतिक परम्पराको निरन्तरता र सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने मौलिक संस्कृतिलाई एकैसाथ प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्