२०८३ श्रावण २

लायन्स क्लब सिन्धु चौताराको अध्यक्षमा राना

चौतारा । लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटी को पदस्थापन तथा नयाँ सदस्यहरूको सदस्यता ग्रहण (इन्डक्सन एण्ड इन्स्टलेसन) कार्यक्रम शुक्रबार चौतारास्थित जुगल बोर्डिङ हाई स्कुलमा सम्पन्न भएको छ ।
कार्यक्रममा क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा पदको शपथ गराउँदै नयाँ कार्यकालको जिम्मेवारी हस्तान्तरण गरिएको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा राकेश राना, प्रथम उपाध्यक्षमा ओमप्रकाश उप्रेती, द्वितीय उपाध्यक्षमा विकास दुलाल, तृतीय उपाध्यक्षमा कविन्द्र दुलाल, सचिवमा गोविन्द सापकोटा तथा कोषाध्यक्षमा सोनिया केसी चयन भएका छन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान अनुकरणीय रहेको बताउँदै स्थानीय सरकार यस्ता सेवामूलक अभियानसँग सधैँ सहकार्य गर्न तयार रहेको उल्लेख गरे । समाज रूपान्तरणका लागि युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।


लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एफ’ नेपालका डिष्ट्रिक्ट गभर्नर अजयप्रसाद खनालले लायन्स अभियान निस्वार्थ सेवाको अभियान भएको उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबै सदस्यले इमानदारी, अनुशासन र समर्पणका साथ काम गर्नुपर्ने बताए । नयाँ क्लबले स्थानीय स्तरमा उदाहरणीय सामाजिक कार्य गर्दै लायन्सको प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।


क्लबका पूर्व अध्यक्ष रबिन गौतमले लायन्सको मूल उद्देश्य सेवा नै भएको उल्लेख गर्दै नयाँ नेतृत्वले आपसी सहकार्य, पारदर्शिता र सक्रियताका साथ क्लबलाई अघि बढाउने विश्वास व्यक्त गरे । उनले सेवा नै सबैभन्दा ठूलो धर्म भएकाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गरे ।


नवनियुक्त अध्यक्ष राकेश रानाले आफूलाई क्लबको नेतृत्वको जिम्मेवारी दिएकोमा सबैप्रति आभार व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । सबै सदस्यको साथ र सहकार्यबाट क्लबलाई सामाजिक सेवाको उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्ने उनको भनाइ थियो ।


कार्यक्रमका अवसरमा लायन्स अभियानलाई सफल बनाउन विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । यसै क्रममा जुगल खबरका सहसम्पादक सुजन श्रेष्ठ र सर्वपक्ष दैनिक पत्रिकाका अध्यक्ष सुरेशराम कसजू लाई पनि सामाजिक सेवा तथा सञ्चार क्षेत्रमार्फत लायन्सको गतिविधिमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा लायन्सका पदाधिकारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । नयाँ नेतृत्वले आगामी कार्यकालमा सेवामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै समुदायसँगको सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्