२०८३ असार २६

चौताराबाट चार जना सडक आश्रितको उद्धार, दीर्घकालीन व्यवस्थापनका लागि मानव सेवा आश्रम पठाइयो

सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वय, स्थानीय युवाको पहल र मानव सेवा आश्रमको सहकार्यमा चौतारा क्षेत्रबाट चार जना सडक आश्रित तथा बेसहारा व्यक्तिको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये तीन जना महिला र एक जना पुरुष रहेका छन्। चौतारा डम्फु चोकबाट सितला भुजेल, सुस्मिता परियार र रत्नमाया श्रेष्ठको उद्धार गरिएको हो भने ईर्खुस्थित बाँझबिसौना जंगलबाट एक पुरुषलाई उद्धार गरिएको छ। उनको परिचय खुल्न नसकेकाले अस्थायी रूपमा ‘विर्खे मानव’ नाम दिइएको छ।

चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापाका अनुसार पहिलो चरणमा तीन महिला र एक पुरुष गरी चार जनाको खोजी गरेर उद्धार गरिएको हो। उद्धार अभियानमा मानव सेवा आश्रमका अभियन्ता, स्थानीय सरकार, नेपाल प्रहरी तथा स्थानीय युवाको सक्रिय सहभागिता रहेको थियो।

खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका, घरपरिवारविहीन, परिवार तथा समाजबाट परित्याग गरिएका, असहाय, असक्त, अनाथ तथा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई सुरक्षित आश्रयमा पुर्‍याउने उद्देश्यले उद्धार गरिएको नगरपालिकाले जनाएको छ।

उद्धारपछि उनीहरूको सरसफाइ, स्वास्थ्य परीक्षण, खानपान र आवश्यक लत्ताकपडाको व्यवस्थापन नगरपालिकाले गर्नेछ। त्यसपछि दीर्घकालीन संरक्षण तथा पुनःस्थापनाका लागि उनीहरूलाई मानव सेवा आश्रम, भक्तपुर पठाइएको छ।

नगरपालिकाले आगामी दिनमा पनि सडकमा कष्टकर जीवन बिताइरहेका अन्य बेसहारा व्यक्तिहरूको खोजी गरी उद्धार अभियानलाई निरन्तरता दिने जनाएको छ।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्