सुप्रीन्स कसजू चौतारा। चौतारा साँगाचोकगढी नगरपालिकाले ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बतासे आधारभूत स्वास्थ्य केन्द्रको भवन सुदृढीकरण तथा स्तरोन्नतिको काम अघि बढाएको छ। भवनमा थप तला निर्माण र आवश्यक कोठाको फिनिसिङको काम भइरहेकाले सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। नगरपालिकाका अनुसार ‘बतासे आधारभूत स्वास्थ्य केन्द्र सुदृढीकरण योजना’को लागत अनुमान १४ लाख ५४ हजार ९२९ रुपैयाँ रहेको छ। निर्माण कम्पनीसँग १४ लाख १३ हजार ५०२ रुपैयाँमा सम्झौता गरिएको हो, जुन लागत अनुमानभन्दा २.८५ प्रतिशत कम हो। योजनाअन्तर्गत स्वास्थ्य केन्द्रमा थप तला निर्माण, उपचार कक्ष तथा अन्य कोठाको फिनिसिङ, आवश्यक संरचनागत सुधारलगायतका काम भइरहेका छन्। भवन विस्तारसँगै बिरामीको चाप व्यवस्थापन गर्न सहज हुने र सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार थप सुदृढ हुने नगरपालिकाको विश्वास छ। स्थानीयवासीका अनुसार विगतमा सीमित कोठा र साँघुरो संरचनाका कारण स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ हुने गरेको थियो। भवन स्तरोन्नतिपछि बिरामीलाई सहज रूपमा सेवा उपलब्ध गराउन सकिने अपेक्षा गरिएको छ। नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न वडाका स्वास्थ्य संस्थाको स्तरोन्नति गरिरहेको जनाएको छ। बतासे स्वास्थ्य केन्द्रको सुदृढीकरण पनि सोही अभियानअन्तर्गत अघि बढाइएको योजना हो। निर्माण कार्य सम्पन्न भएपछि मातृ तथा शिशु स्वास्थ्य सेवा, नियमित उपचार, खोप सेवा तथा अन्य आधारभूत स्वास्थ्य सेवा थप व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। यसबाट स्थानीय नागरिकलाई सामान्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता पनि कम हुने नगरपालिकाको भनाइ छ। नगरपालिकाले निर्माणको गुणस्तर कायम राख्दै समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएको जनाएको छ। योजना सम्पन्न भएपछि स्वास्थ्य केन्द्रको सेवा क्षमता उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्