२०८२ चैत्र १८

घर छाडेर हिँडेका बालबालिकाको उद्धार, नगरपालिकाले लियो अभिभावकीय जिम्मा

सिन्धुपाल्चोक — चोैतारा साँगाचोकगढी नगरपालिका-६ गिडाने,आलडाडा निवासी तीन जना बालबालिका घर छाडेर हिडेको चार दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएका बालबालिकामा राज परियार (१० वर्ष), सविना परियार (१० वर्ष) र विराज परियार (१२ वर्ष) रहेका छन् ।
प्राप्त जानकारी अनुसार उनीहरू चार दिनदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए । घरबाट निस्किएपछि उनीहरू पैदलै चौतारा हुँदै काठमाडौंतर्फ जाने उद्देश्यका साथ हिँडेको खुलेको छ । यसै क्रममा इर्खु क्षेत्रमा पुगेका उनीहरूलाई इलाका प्रहरी चौकी सानोसिरूवारी, इर्खुबाट प्रहरीले उद्धार गरेको हो ।
उद्धारपछि बालबालिकालाई आवश्यक सुरक्षा र हेरचाहसहित राखिएमा आज चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकबाट औपचारिक रूपमा जिम्मा लिइएको छ ।


हाल उनीहरूलाई सहिद स्मृति बालग्राममा राखिएको छ, जहाँ उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक मनोपरामर्श तथा संरक्षण सेवा प्रदान गरिने जनाइएको छ । सम्बन्धित निकायले बालबालिकाको हितलाई प्राथमिकतामा राख्दै परिवारसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाइने बताएको छ ।
साथै, अब आगामी दिनमा ती तीन बालबालिकाहरूलाई बालग्राममै राखी शैक्षिक गतिविधि अघि बढाइने योजना रहेको जनाइएको छ ।


यसैबीच, स्थानीय तहले अभिभावक बिहिन तथा आर्थिक हिसाबले विपन्न बालबालिकाहरूलाई आफ्नो जिम्मेवारी वहन गरिरहेको भन्दै नगर उपप्रमुख सीता थापाले नगरपालिकाभित्रका प्रत्येक बालबालिकाले आफू एक्लो नभएको अनुभूति गर्नु आवश्यक रहेको बताए । उनले यस्ता जोखिममा परेका बालबालिकाका लागि नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको समेत स्पष्ट पारिन् ।
यस घटनाले बालबालिकाको सुरक्षा, अभिभावकीय निगरानी र सामाजिक सचेतनाको आवश्यकता अझ स्पष्ट बनाएको सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्