श्रीधर न्यौपाने, पालुवान्युज | २०७७ साल साउन ३० गतेको विनाशकारी पहिरोमा ज्यान गुमाएका ३९ जना स्थानीयको स्मृतिमा सिन्धुपाल्चोकको जुगल-२, लिदीमा ३९ फिट अग्लो छ्योर्तेन (स्तुपा) निर्माणको शिलान्यास गरिएको छ।
जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले शिलान्यास गरेको यो स्मारकले मृतकका परिवारलाई भावनात्मक राहत दिनुका साथै सो क्षेत्रको धार्मिक एवं पर्यटकीय गरिमा बढाउने विश्वास लिइएको छ।
२०७२ को महाभूकम्पले थिलथिलो पारेको पहाड साउन ३० गते बिहान करिब ६ बजे खस्दा ३७ घर पूर्ण रूपमा पुरिएका थिए भने ३९ जना निर्दोष नागरिकले ज्यान गुमाएका थिए।
पहिरो जानुअघि नै स्थानीयले जोखिम महसुस गरी बस्ती स्थानान्तरणका लागि प्रशासनलाई निवेदन दिए पनि समयमै सुनुवाइ हुन नसक्दा यो ठूलो मानवीय क्षति हुन पुगेको थियो।
पहिरोपछि विस्थापित भएका १७२ परिवार हाल बाँसखर्क, बराम्ची र चौतारामा छरिएर बसोबास गरिरहेका छन् भने केही अझै पनि आफ्नो पुरानो थातथलो छोड्न नसकी बसिरहेका छन्।
१० चैत, सिन्धुपाल्चोक । २०७७ साल साउन ३० गतेको विनाशकारी पहिरोमा ज्यान गुमाएका ३९ जना स्थानीयको स्मृतिमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा ३९ फिट अग्लो छ्योर्तेन (स्तुपा) निर्माण गरिने भएको छ।
सिंगो गाउँ नै पहिरोको चपेटामा परेर भएको अपूरणीय क्षतिको सम्झना र मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न यो स्मारक बनाउन लागिएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिएका छन् । गत साता अध्यक्ष स्याङ्बोले एक विशेष कार्यक्रमका बीच उक्त छ्योर्तेनको शिलान्यास गरेका हुन् । पहिरोले उजाडिएको लिदी गाउँमा निर्माण हुने यो संरचनाले मृतकका परिवारलाई भावनात्मक राहत दिने र सो क्षेत्रको धार्मिक एवं पर्यटकीय गरिमा बढाउने विश्वास लिइएको छ। २०७७ साउन ३० गते विहान करिब ६ बजे गएको पहिरोमा परी ३७ घर पूर्ण रूपमा पुरिएका थिए भने ३९ जनाले ज्यान गुमाएका थिए।
हाल लिदीका प्रभावित परिवारहरू छरिएर बसोबास गरिरहेका छन्। कतिपय परिवार जुगल गाउँपालिका-१ को सेलाङस्थित बाँसखर्कमा बसिरहेका छन् भने कोही बराम्ची र चौतारामा सरेका छन्। यद्यपि, केही स्थानीयले अझै पनि आफ्नो पुस्तौनी थातथलो छोड्न सकेका छैनन्।
२०७७ साउन ३०, यसो भएको थियो लिदीमा……..
सिन्धुपाल्चोकको जुगल गाउँपालिका -२ मा पर्ने लिदी गाउँ विकट पहाडको काखमा बसेको एउटा शान्त तामाङ बस्ती हो। २०७२ साल वैशाख १२ र २९ गतेको महाभूकम्पले सिन्धुपाल्चोकका पहाडहरू नराम्ररी हल्लाइदिएको थियो। त्यसपछि बर्सेनि कुनै न कुनै ठाउँमा पहिरोले दुःख दिइरहेको थियो।
साउन ३० गतेको विपत्ति लिदीमा बज्रियो। उघ्रिएको बिहान, घाम नउदाउँदै घरभन्दा माथि सुरक्षित स्थानमा बसेका गाउँले पानी नपरेपछि सुरक्षित महसुस गरेर गाउँ फर्किए। कोही केटाकेटीलाई स्कुल पठाउन चाँडै खाना पकाउन लागे, कोही वस्तुभाउलाई खोले पकाउन थाले। पहिरोले क्षति गर्ने डरले राति छाप्रो हालेर बसेका उनीहरूलाई दिनको उज्यालोमा त्यसो नहोला जस्तो पनि लागेको हुँदो हो। मानिसलाई आधा डर त अँध्यारोले दिन्छ सायद।
साउने लामा दिनमा पाँच बजेअघि नै उज्यालो भइसकेको थियो। बाली लगाउने बेला भएकोले खेतबारीमा पसिना बगाउने र साँझ घर फर्केर परिवारसँग खाने अनि निदाएको बेला भाग्न नसकिएला कि भनेर डाँडामा सुत्न जाने नै त्यहाँको दैनिकी थियो। गाउँमाथि उभिएको डाँडाले सधैँजसो बस्तीलाई संरक्षण गरिरहेको जस्तो देखिन्थ्यो। तर साउन ३० को बिहान त्यही डाँडो गाउँका लागि विनाश बनेर खस्यो। ओत लागेर बसेको रुख ढलेजस्तो। धर्ती नै ढलेपछि कसको के लाग्दोरहेछ र!
केही दिनअघिदेखि नै गाउँलेहरूले खतरा महसुस गरेका थिए। डाँडामा जमिन चिरिन थालेको थियो, डाँडाका रुख बिस्तारै बाङ्गो देखिन थालेको थियो। पहाडै सरिरहेको जस्तो देखिन्थ्यो। डरले उनीहरू राति घर छाडेर माथिल्लो डाँडामा त्रिपाल टाँगेर छाप्रो हालेर बस्न थालेका थिए। साउन २३ गते त उनीहरूले सिन्धुपाल्चोक प्रशासनलाई “हामीलाई यहाँबाट सारिदिनुहोस्, भूकम्पमा बाँचे पनि पहिरोले मर्ने डर भो” भनेर निवेदन पनि दिएका थिए। तर सुनुवाइ हुन पाएन। निवेदनको कागज हाकिमको फुर्सदमा पढिँदै थियो सायद, तर पहाड थामिन सकेन। राति पहिरो गएको भए धेरै बाँच्थे सायद, उज्यालोमा त भाग्न पनि सकिन्छ नि भनेर गाउँलेलाई आँट आएको थियो।
साउन ३० गते शुक्रबार बिहान उज्यालिएको आकाशले डर भगाइदिएको थियो। लिदीबासीलाई आश जगाइदिएको थियो। मानिसहरू ढुक्क भएर फेरि घरतिर झरे, खाना पकाउन, गाईवस्तु हेर्न र आफ्नो दैनिकी सम्हाल्न। बिहान करिब ६ बजेको समयमा एक्कासि ठूलो गर्जन सुनियो। कसैले केही बुझ्न नपाउँदै डाँडाबाट विशाल पहिरो खस्यो। ढुङ्गा, माटो र रूखहरू खसे। केही सेकेन्डमै सिङ्गो बस्तीका धेरै भाग पुरियो। भाग्ने समय कसैलाई मिलेन। पहाडमा हजारौँ हन्डर खेपेर, भुइँचालोबाट समेत बचेर संघर्षपूर्ण जीवन बाँचिरहेका ३९ जना लिदीबासी पहिरोमुनि बिलाए।
जहाँ केही क्षणअघिसम्म घरहरू थिए, त्यहाँ अब माटोको विशाल थुप्रो थियो। मुनितर्फका घरका मानिसले के भएको हो पत्याउनै सकेनन्। पहिरो जान सक्छ भन्ने डर त थियो तर यति ठूलो पहिरो कल्पनाबाहिरको थियो। यसले गाउँको नक्सा एकैछिनमा बदलिदिएको थियो। बस्ती माटोको ढिस्कोमा परिणत भएको थियो। पहिरोमा ३९ जना बेपत्ता भए। दिनौँसम्म खोजी गर्दा ३७ जनाको शव भेटियो, दुई जना सधैँका लागि हराए। कतिपय परिवारका सबै सदस्य गुमे, कतिपयको वंश नै समाप्त भयो।
त्यसपछि लिदीका १७२ परिवार विस्थापित भए। उनीहरूलाई अस्थायी रूपमा बाँसखर्कमा सारियो, अन्योलकै बीच त्रिपालमुनि नयाँ जीवन सुरु भयो। आफ्नै घर, खेतबारी र सम्झनाहरू छाडेर बाँच्नुपर्दाको पीडा उनीहरूले व्यक्त गर्न कति सके, कति सकेनन्, तर उनीहरूको आँखामा त्यो अझै देखिन्छ। आज लिदीको पुरानो ठाउँमा उभिँदा सिङ्गो गाउँ देखिँदैन, तर त्यो बिहानको कथा अझै त्यहीँ छ हावामा, माटोमा र बचेका मानिसहरूको स्मृतिमा।
३९ जना दिवङ्गत स्थानीयको सम्झनामा बन्ने छ्योर्तेनले त्यो पीडालाई सम्झाइरहनेछ। लिदी अब एउटा गाउँको नाम मात्र होइन, यो एउटा चेतावनी बनेको छ। प्रकृतिको सङ्केतलाई बेवास्ता गर्दा एकै बिहानमा जहाँसुकैको नक्सा बदलिन सक्छ।
प्रतिक्रिया दिनुहोस्